शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आलम प्रकरणमा ‘होस्टाइल’ बनेकी अमना आफैले गराएकी थिइन् ओसीको मृत्युदर्ता

१० कठ्ठा जमिनमै बयान फेरिन् त मृतककी श्रीमतीले ?
सोमबार, २५ कात्तिक २०७६, १६ : २२
सोमबार, २५ कात्तिक २०७६

२०६४ साल चैत्र २७ गते राजपुर फरहदवामा बम विष्फोटमा परेर घाइते भएका त्रिलोक प्रताप सिंह अर्थात् ‘पिन्टु’, ओसी अख्तर लगायत दर्जनबढी मानिसलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेकाविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहँदा मृतक ओसी अख्तरकै श्रीमती फरक निवेदन लिएर जिल्ला अदालत पुगिन् । 

घटनाको योजनाकार र मुख्य अभियुक्त मनिएका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहँदा मृतक मानिएका ओसी अख्तरकै श्रीमती अमना खातुनले भने आफ्नै परिवारको रिटविरुद्ध हुने गरी आफना श्रीमान्को मृत्यु नभएको जिकिर गरिन् ।

वादीको तर्फबाट सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुले बहस गरिरहेकै बखत मृतक मानिएका ओसी अख्तरकी श्रीमती अमना खातुन निवेदन लिएर जिल्ला अदालतमा पुगिन् । आफूसँग एउटा निवेदन रहेको भन्दै उनले अदालतमा पेश गर्न चाहिन् । निवेदनमा के छ भनेर जिल्ला न्यायाधीश दीपक ढकालले सोध्दा उनले सरकार पक्षले मृतक दावी गरेको आफ्ना श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको बताइन् । तर जिल्ला न्यायाधीश ढकालले कानुन विपरीत रहेको भन्दै उक्त निवेदन दर्ता गर्नै मानेनन् ।

अमना खातुन

अमनाको निवेदन उनकै परिवारका सदस्यहरु दिवंगत सासु रुक्साना खातुन तथा मृतकका भाइ जमिल अख्तरकै जिकिरको ठीक उल्टो थियो ।

छोराको मृत्युको विषयलाई लिएर न्याय खोज्दै भौतारिने क्रममा ओसी अख्तरको आमा रुक्साना खातुनको समेत हत्या भएको थियो । यता मृतक ओसीको बुवाले पनि प्रहरीसमक्ष हत्यामा आलमकै संलग्नता रहेको किटानी गर्दै कागजमा सही गरेका थिए । रुक्सानाको हत्या भएपछि अर्कै श्रीमती विवाह गरेर हाल खाडी मुलुकमा रहेका ओसीका बुवाले प्रहरीसमक्ष दिएको बयानमा पनि हत्यामा आलमकै प्रत्यक्ष संलग्नता रहेको जिकिर गरेका थिए ।

तर जब अफ्ताव आलम पक्राउ परे र अदालतमा मुद्दा चल्न सुरु गर्यो, तब थुनछेक बहस चलिरहँदा मृतककै श्रीमती अमना खातुनलाई प्रतिवादी पक्षले ‘किनेको’ र ओसी अख्तर वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको बयान दिन थालेको आशंका छ ।


किन होस्टाइल भइन् अमना ?

जिल्ला अदालतमा अभियुक्तविरुद्ध मुद्दा चलिरहँदा अमना खातुन भने एकाएक परिवर्तन हुँदा आलम मुद्दामा एउटा नयाँ मोड खडा गरिदिने स्थिति पैदा भयो । अभियुक्त पक्राउ परेको झण्डै ३५ दिन दोषीलाई कारवाहीको माग गर्ने अमना एकाएक कसरी परिवर्तन भइन् त ? स्रोतका अनुसार मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनलाई आलम पक्षले १० कठ्ठा खेत दिने बचन दिएका छन् । अहिले उनीहरु बसिरहेको स्थानमा १० कठ्ठा खेतको मूल्य करिब २० देखि २५ लाख पर्छ । त्यसकारण पनि मृतककी श्रीमती अमना खेतको मूल्यमा मुद्दामा सौदाबाजी गर्न खोजेको स्रोतको दाबी छ ।

आफैले हस्ताक्षर गरेर मृत्युदर्ता गराएकी थिइन् अमनाले

अहिले आफ्नो श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको जिकिर गर्दै निवेदन बोकेर जिल्ला अदालत रौतहट पुगेकी अमना खातुन आफैले निवेदन दिएर श्रीमान्को मृत्यु भएको मृत्युदर्ता गराएकी थिइन् ।

२०७४ पुष १६ गते जारी भएको मृत्यु दर्ता प्रमाणपत्रमा ओसी अख्तरको मृत्यु २०६४ साल चैत २७ गते राजपुर फरहदवामा भएको उल्लेख गरिएको छ । र, उक्त मृत्यु दर्ता प्रमाणपत्र पाउनका लागि अमना आफैले हस्ताक्षर गरेर हालको यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा निवेदन दर्ता गराएकी थिइन् ।

हेर्नुहोस् ओसी अख्तरको मृत्यु दर्ताको प्रमाणपत्र ।

फोटो : मृत्यु दर्ता प्रमाणपत्र

यद्यपि आफैले निवेदन दिएर मृत्यु दर्ता प्रमाणपत्र लिएकी ओसी अख्तरकी श्रीमती अमना खातुन आफैले अहिले श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको उल्लेख गरेकी छिन् । यसबाट आलम मुद्दालाई कमजोर पार्न अमनालाई राम्रैसँग ‘किनिएको’ देखिन्छ ।

आफ्नै देवरसँग विवाह गरेकी थिइन् अमनाले

आफ्नो श्रीमान्को मृत्यु भएपछि अमनाले आफ्नै देवर अर्थात् मृतक ओसी अख्तरका भाइ जमिल अख्तरसँग विवाह गरेकी थिइन् । मुस्लिम समुदायमा दाजुको मृत्यु भएमा भाउजूसँग विवाह गर्न मिल्ने सामाजिक व्यवस्थाअनुरुप जमिल र अमनाले विवाह गरेका थिए । उनीहरुको तर्फबाट अहिले एक सन्तानसमेत रहेको छ ।


मृतकका भाइ तथा अमनाका हालका श्रीमान् भन्छन्, ‘हत्या आलमले नै गराएका हुन्’

अहिले अमना खातुनले आफ्नो पहिलोको बयान र कागज प्रतिकुल हुने गरी निवेदन बोकेर जिल्ला अदालत पुगेपनि अमनाका हालका श्रीमान् अर्थात् मृतकका भाइ जमिल अख्तरले भने दाजुको हत्या आलमको निर्देशनमा उनकै मान्छेहरुले गराएको दावी गरिरहेका छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न आलमले बम बनाउनका लागि मान्छेहरु ल्याएको र त्यही क्रममा बम विस्फोट भई घाइते भएका दाजुलाई आलमकै निर्देशनमा इँटाभट्टामा हाली जिउँदै जलाएको बताउँदै आएका छन् ।

यता, अमनाका बुवा तथा मृतक ओसी अख्तरका ससुरा पनि छोरीको पछिल्लो निवेदनप्रति रुष्ट छन् । आफ्नो ज्वाईँ ओसी अख्तरको हत्या आलमको आदेशमा उनका मान्छेहरुले गराएको भन्दै समसुल मियाँले प्रहरी र सरकारी वकिलसमक्ष बयान दिएका छन् । ‘बिष्फोटन पछि आफू इँटाभट्टा छेउको गहुँबालीमा लुकी बसेको समय आलमको आदेशमा उनका भाइ लगायतका मानिसहरु आई आफ्नो आँखा अगाडि नै घाइतेहरुलाई बोरामा ल्याएर जिउँदै जलाएर मारेको’ उनले बताउँदै आएका छन् । प्रहरीसमक्षको बयानमा पनि समसुल मियाँले त्यही कुरा बताएका छन् । तर छोरीको बयान फेरिनुको कारणचाहिँ उनले अझै बुझेका छैनन् ।

स्रोतका अनुसार निलम्वित सांसद अफताब आलम पक्राउपछि उनी निकटका मानिसहरुले मृतकद्वय त्रिलोकप्रताप सिंह र ओसी अख्तरको परिवारलाई विभिन्न प्रलोभन दिँदै आएको बुझिन्छ । प्राप्त जानकारी अनुसार पछिलो समय मृतक त्रिलोकप्रताप अर्थात् पिन्टु सिंहका बुवा श्रीनारायण सिंहलाई १० लाख रुपैया तथा मृतक ओसी अख्तरको श्रीमतीलाई १० कठ्ठा खेत दिने गरी कुराकानी भएको थियो । यद्यपि श्रीनारायण सिंहले आलमपक्षको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

मृतक अख्तरकी आमा रुक्साना खातुन र मृतक पिन्टुका बुवा श्रीनारायण सिंहको जाहेरीको आधारमा गत असोज २६ गते प्रहरीले नेपाली काँग्रेसका निलम्बित सांसद आफ्ताब आलमलाई पक्राउ गरी कारवाही अगाडि बढाएको थियो ।

प्रहरीले करिब एक महिना अनुसन्धान गरी सरकारी वकिलमार्फत् जिल्ला अदालत रौतहटमा मोहम्मद अफ्ताव आलम र अन्य १० जनाविरुद्ध कर्तव्य ज्यानको अभियोगमा मुद्दा दायर गरेको थियो ।

गत शुक्रबारसम्म पीडितका पक्षबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थी, सह न्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुन कोइराला र उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका थिए । त्यसैगरी वादीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु डाक्टर युवराज संग्रौला, डाक्टर कुमार शर्मा, दिनेश त्रिपाठी, जिल्ला न्यायाधिवक्ताहरु रुद्रप्रसाद पन्थी, मनिष कुमार श्रेष्ठ, गोबिन्द बन्दी, ओमप्रकाश अर्याल, पुष्पराज पौडेल, आशिकराम कार्कीले आलमलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने प्रमाणसहित मागदावी गरेर बहस गरिसकेका छन् ।

पीडितपक्षका अधिवक्ताहरुले आलमविरुद्ध प्रमाणको रुपमा पीडितको किटानी जाहेरी, घटनास्थलबाट प्राप्त मृतक ओसी अख्तरको जुत्ता, मोजा, बम बिष्फोटनमा परेर घाइते भएका सेराजुल मियाँको बयान तथा सोही समय भारतमा उपचार गराएको कागजात प्रमाणहरु पेश गरेको जिल्ला न्यायाधिवक्ता खडिण्द्रराज कटुवालले बताएका छन् ।

त्यसैगरी घटनालगतै मौकामा परेको पीडितद्वारा निवेदन, बम बिष्फोटनपछि चुनाव रोक्न प्रत्यासीले सोही समय प्रहरीलाई दिएको निवेदन, घटनास्थल राजपुर फरहदवाका छिमेकीको बयान, इँटाभट्टाका मजदुरको बयान, नेपाल प्रहरीका तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा र ईलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन प्रमुख प्रहरी निरीक्षक इन्द्र सुवेदीद्वारा बम बिष्फोटन भएको स्वीकारोक्ति बयानको आधारलाई प्रमाणको रुपमा पेस गरिएको छ ।

अभियुक्त आलमलाई बाहिर राखेर अनुुसन्धान गर्दा अनुसन्धाननै प्रभावित हुने भएकाले आरोपी आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै वादीतर्फका वकिलहरुले बहस गरेको जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रातोपाटीलाई बताए । 

प्रदेश नम्बर २ मा आइतबार सार्वजनिक विदा भएकाले प्रतिवादीका तर्फबाट भने सोमबारदेखि मात्रै बहस सुरु भएको छ । प्रतिवादी अर्थात् अफताव आलमको तर्फबाट बहस गर्नका लागि वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी लगायतको टोली यतिबेला रौतहटमै रहेका छन् ।

प्रतिवादीको तर्फबाट बहस गर्न ३४ जनाले वकालतनामा लेखाएको कारण सबैले बहस गर्दा करिब ३ दिन बहसमै सकिने भएकाले बुधबार बेलुका वा बिहीबार मात्रै थुनछेक आदेश आउने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप