शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘परिवारलाई नै मार्ने धम्की दिएपछि बमले भत्किएको गोठ पुनर्निर्माण गरेँ’

‘पुराना घरहरुबाट ल्याएर माकुरा जालोसमेत राखेँ’
मङ्गलबार, १९ कात्तिक २०७६, १६ : ०४
मङ्गलबार, १९ कात्तिक २०७६

रौतहटबाट सञ्जय मिश्राको सहयोगमा

काठमाडौँ । २०६४ साल चैत २७ गते रौतहटको राजपुर फरहदवा गाविस वडा नम्बर ४ मा रहेको तत्कालिन नेपाली काँग्रेसका उम्मेदवार मोहम्मद अफताव आलमको घरमा बम विष्फोटन भएको थियो ।

जनतालाई आफ्नो प्रभावमा पारी धाँधलीरुपमा निर्वाचन जित्नका लागि भण्डारण गरी राखेको ग्रेनाइट तथा हातहतियार बनाउन संकलन गरी राखेको विष्फोटक पदार्थ र बम समेत विष्फोटन हुँदा मृत्यु र घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा निलम्बित सांसद आलमलाई अहिले तीनवटा मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरी मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा बुझाएको अभियोगपत्रमा विभिन्न प्रत्यक्षदर्शीहरुको बयानलाई समेटिएको छ । तीमध्ये एक पात्र हुन्, शेख ओलजाहिर ।

शेख तिनै व्यक्ति हुन् जसले विष्फोटन भई भत्केको घर छाना जिर्णोउद्धार गरेका थिए । अभियोगपत्रमा समावेश उनको बयानमा आफू र परिवारलाई मार्ने धम्की दिएर भत्केको गोठ घर निर्माण गर्न लगाएको उल्लेख गरेका छन् । पुनः निर्माण सकिएपछि अन्य पुराना घरबाट माकुराको जालो ल्याएर घरको छानोमा जालो लगाइ घटनास्थल परिवर्तन गराएको पनि बयान दिएका छन् ।


यस्तो छ शेख खोलजाहिरको बयानः

२०६४ सालको संविधान सभाको चुनाव जित्को लागि भारतीय नागरिक तथा मृतकहरु समेतलाई बोलाइ शेख ईद्रिसको घरमा बम बनाउने क्रममा बम विष्फोट भइ १५/१६ जना मानिसहरु सख्त घाइते भएको र १/२ जना मानिसहरुको मृत्यु भइ कुनै मानिसहरुको आँखा, कान, टाउको नरहेको त कोही मानिसहरुको हात खुट्टा नरही निजहरु मध्ये पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको बायाँ खुट्टा समेत छर्रा लागि घाइते भएको र ओसी अख्तर मियाँको बायाँ हात समेतमा बमको छर्रा लागी घाइते भइ घाइतेहरु छटपटी रहेकोमा प्रतिवादी मोहम्मद अफताब आलम, मो. महताब आलम, शेख सेराज, शेख भदई, महमद मोबिन आलम समेतका प्रतिवादीहरुले तत्कालै घाइतेहरुलाई बोरामा हाली घटनास्थलमा रहेका मानिसहरुलाई भगाइ प्रतिवादीहरुले घाइतेहरु तथा मृतकहरु समेतलाई प्रतिवादी मो. अफ्ताब आलमले प्रयोग गर्ने गरेको ट्रयाक्टर गाडीको टेलरमा लोड गरी आफन्तको राजा इँटा उद्योग चिम्नी भट्टामा लगी जिउँदै जलाएको थाहा पाएको थिएँ ।

शेख ईद्रिसको घर बम विष्फोटमा क्षति भएकोमा ५/७ दिनपछि प्रतिवादी मो. आफ्ताब आलम समेतका प्रतिवादीहरु मेरा घरमा आइ मलाई बमले क्षति भएको शेख ईद्रिसको गोठ समेत पुनः निर्माण गरी पहिलाको जस्तै बनाइ देऊ भनी भनेकोमा म सो गोठ घर निर्माण गर्न नमानेकोमा म र मेरो घर परिवारलाई यी प्रतिवादीहरुले मारिदिने भनी डराइ धम्काएकोमा म डरले गर्दा निज प्रतिवादीहरु र मैले नचिनेका भारतीय नागरिकसमेतको सहयोगमा पुनः शेख ईद्रिसको गोठ घर निर्माण गरी गोठ घरमा गाई वस्तुले खाने भुस राखी त्यसपछि अन्य पुराना घरहरुबाट माकुराको जालो ल्याइ सो घरको छानोमा जालो लगाइ घटनास्थल परिवर्तन गरे गराएको हुँ ।

मिति : २०७६/०७/०३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप