शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा बागी उम्मेदवार प्रकरण : सिस्टममा सदर, विज्ञप्तिमा बदर !

आइतबार, २४ कात्तिक २०७६, १७ : १३
आइतबार, २४ कात्तिक २०७६

काठमाडौँ । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) का नेकपाका बागी उम्मेदवार शेरमान घर्ती मगरलाई आफ्नो उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपनि अस्वीकार गरिरहे । सोही कारण र विभिन्न चलखेलले अन्ततः उनको उम्मेदवारी फिर्ता भएन ।

नेकपाकै जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले उनी ‘अपहरण’ मा परेको दाबी गर्दै ढिला गरी बुर्तिबाङबाट बागलुङ ल्याइँदा ढिला भएर उम्मेदवारी फिर्ता लिन नसकेको बताएका थिए । 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्मको लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । तर, हेलिकप्टरबाट निर्वाचन अधिकृतको कार्यालयमा उनलाई लगिएपनि ढिलाइ भएका कारण उम्मेदवारी फिर्ता हुन सकेन ।  

‘उहाँलाई उम्मेदवारी फिर्ता लिनबाट रोक्न केही व्यक्तिहरुले अपहरण गरेको पाइयो । पछि प्रहरीको सहयोगमा उद्दार गरी जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा ल्याउँदा उम्मेदवारी फिर्ता लिने समय घर्किसकेकाले उम्मेदवारी फिर्ता हुन सकेन’ जिल्ला अध्यक्ष सापकोटाले रातोपाटीसँग भने, धेरै कुरा गर्न सक्ने अवस्था छैन ।’


उनले घर्तीलाई कसले अपहरण गरेको भन्नेबारे भने केही खुलाएनन् । 

स्रोतका अनुसार आइतबार प्रहरीले उनलाई बुर्तिबाङ बजारस्थित स्थानीय नेता तुलसी अर्यालको घरमा फेला पारेर हेलिकप्टरमार्फत बागलुङ बजार लगिएको थियो । 

अर्याल  २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार रहेका थिए । सापकोटाको दावी जस्तै उनी अपहरणमा परेर त्यहाँ पुगेका हुन् कि उम्मेदवारी फिर्ता लिन नचाहेर  लुकेर बसेका हुन् भन्नेबारे आधिकारिक रुपमा पुष्टि भइसकेको छैन । 


तर, प्रहरीको सहयोगमा त्यहाँबाट उनलाई केही किलोमिटर प्रहरीकै भ्यानमा राखेर त्यसपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा हेलिकप्टरमार्फत लगिएको एक प्रत्यक्षदर्शीले बताए ।  
आइतबार बिहान उनले उम्मेदवारी फिर्ता लिन सहमति भएको भएपनि एकाएक सम्पर्कविहीन भएका थिए । 

त्यसपछि नेकपा बागलुङको सूचनाको आधारमा परिचालित प्रहरी टोलीले उनलाई अर्यालसँगै फेला पारेको थियो । कतिपयले उनको उम्मेदवारी कायमै राख्न बागलुङ काँग्रेसको हात रहेको समेत दावी गरेका छन् । 
विज्ञप्ति निकालेर उम्मेदवारी रद्द !
यसैबीच यही घटनाक्रमका बीच बागी उम्मेदवार घर्तीले आफ्नो उम्मेदवारी नरहेको बताएका छन् । 
उनले आइतबार अरान्ह जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन कार्यालय बागलुङमा उम्मेदवारी दर्ता गरेता पनि विशेष कारणबस उम्मेदवारी फिर्ता लिने समय सकिएकाले नेकपाल कम्युनिस्ट पार्टी (नेकपा)  र राष्ट्रिय जनमोर्चाको साझा बामपन्थी उम्मेदवारको रुपमा रहनु भएका क खिमविक्रम शाहीको पक्षमा पूर्ण समर्थन गर्दै मेरो स्वतन्त्र उम्मेदवारी नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

हेलिकप्टरमा बागलुङ बजार आएसँगै जिल्ला पार्टीभित्र भएको छलफलपछि  उनले आफ्नो उम्मेदवारी नरहने भन्दै विज्ञप्ति जारी गरेका हुन् । 

जिल्ला निर्वाचन अधिकृत विकाशचन्द्र शर्माले घर्तीको उम्मेदवारी फिर्ता नभएको भन्दै उनको नाम पनि समेटेर अन्तिम नामावली सार्वजनिक गरिने बताए ।

यसअघि नेकपा केन्द्रको निर्णयअनुसार बागलुङ प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीलाई सघाउने तय भएको थियो । तर सो निर्णय अस्वीकार गर्दै पूर्वमाओवादी निकट घर्तीले बागी उम्मेदवारी दिएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कात्तिक २१ गते घर्तीसहित बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) मा रिक्त प्रदेश सभा सदस्य पदमा राप्रपा (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि।क।, राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले,  मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप