शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङमा नेकपाका बागी उम्मेदवार ‘अपहरित’, हेलिकप्टर प्रयोग गर्दा पनि फिर्ता हुन सकेन उम्मेदवारी

आइतबार, २४ कात्तिक २०७६, १४ : ३६
आइतबार, २४ कात्तिक २०७६

काठमाडौँ । बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेदवार अपहरणमा परेको नेकपा बागलुङले दाबी गरेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताका लागि तोकिएको समयअघि शेरमान घर्ती मगर अपहरणमा परेको नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जनाए ।

अपहरणमा परेकै कारण उनको उम्मेदवारी फिर्ता हुन नसकेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

‘उहाँलाई उम्मेदवारी फिर्ता लिनबाट रोक्न केही व्यक्तिहरुले अपहरण गरेको पाइयो । पछि प्रहरीको सहयोगमा उद्दार गरी जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा ल्याउँदा उम्मेदवारी फिर्ता लिने समय घर्किसकेकाले उम्मेदवारी फिर्ता हुन सकेन’ उनले रातोपाटीसँग भने, ‘अहिले हामी छलफलमै छौं, धेरै कुरा गर्न सक्ने अवस्था छैन ।’

उनले घर्तीलाई कसले अपहरण गरेको भन्नेबारे भने केही खुलाएनन् ।

स्रोतका अनुसार आइतबार प्रहरीले उनलाई बुर्तिबाङ बजारस्थित स्थानीय नेता तुलसी अर्यालको घरमा फेला पारेर हेलिकप्टरमार्फत बागलुङ बजार लगिएको हो । अर्याल  २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार रहेका थिए ।

प्रभू एयरको हेलिकप्टरमार्फत उनलाई बागलुङ बजार लगिएको भएपनि २० मिनेट ढिला भएकाले उम्मेदवारी फिर्ता हुन नसकेको बताइएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय बिहान १० देखि १ बजेको लागि तोकेकोमा उनी करीब २० मिनेट ढिला गरी निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

जिल्ला निर्वाचन अधिकृत विकाशचन्द्र शर्माले घर्तीको उम्मेदवारी फिर्ता नभएको भन्दै उनको नाम पनि समेटेर अन्तिम नामावली सार्वजनिक गरिने बताए ।

नेकपा केन्द्रको निर्णयअनुसार बागलुङ प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई सघाउने तय भएको थियो । तर सो निर्णय अस्वीकार गर्दै पूर्वमाओवादी निकट घर्तीले बागी उम्मेदवारी दिएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कात्तिक २१ गते घर्तीसहित बागलुङ निर्वाचन क्षेत्र नं. २ को (ख) मा रिक्त प्रदेश सभा सदस्य पदमा रा.प्र.पा. (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले,  मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप