बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन एकाएक सल्लाहकार टिम परिवर्तन गर्ने निर्णयमा पुगे प्रधानमन्त्री ओली ?

प्रधानमन्त्रीले यस्तो अवस्थामा हटाउँछन् सल्लाहकार
आइतबार, २४ कात्तिक २०७६, १६ : ०८
आइतबार, २४ कात्तिक २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएको समाचारले एकाएक राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ । 

मृगौलाको समस्याका कारण अघिल्लो सातामात्रै हेमोडायलाइसिस गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओलीले एक पछि अर्को ‘बोल्ड’ निर्णय गर्दै आफूलाई सक्रिय पारेका छन् । 

बालुवाटार फर्किएलगत्तै सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्ति गरेका ओलीले सोही क्रममा मेडिकल काउन्सिलमा नयाँ नियुक्तिका साथै त्रिभुवन विश्वविद्यालयमा पनि लामो समयदेखि रिक्त उपकुलपति पदमा धर्मकान्त बास्कोटालाई नियुक्त गरे । 

दुई तिहाइ बहुमतसहितको सरकारलाई नेतृत्व गर्दै आएका प्रधानमन्त्री ओलीले हाल आएर आफ्नै सल्लाहकार टिम परिवर्तन गर्ने भनि आएका समाचारले तरङ्ग ल्याएका हो । 

ओलीले किन परिवर्तन महसुस गरे भन्ने विषय आधिकारिक रूपमा प्रष्ट हुन सकेको छैन, न त सल्लाहकार टिमको राजीनामाबारे नै आधिकारिक रूपमा केही बताइएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली पछिल्ला दिनमा मन्त्रीहरुको कार्यप्रगति, सक्रियता, सल्लाहकार समूहको भूमिका लगायतमा गम्भीरतापूर्वक समीक्षा गरिरहेका छन् । प्रधानमन्त्रीको यो सक्रियताका कारण उनकै सल्लाहकार समूहका केही सदस्य भने छटपटीमा परेका छन् । 

स्रोतका अनुसार उनीहरुलाई प्रधानमन्त्री ओलीले बहिर्गमनका लागि तयार रहन भनेपछि छटपटी बढेको हो । 

अनौपचारिक रूपमा भने यो समाचारबारे सत्तारुढ दलभित्र विभिन्न टीका–टिप्पणी हुन थालेको छ । स्रोतका अनुसार पार्टीकै कतिपय नेता–कार्यकर्ताको गुनासोपछि प्रधानमन्त्री ओली केही कठोर कदम चाल्न बाध्य भएका हुन् ।

स्रोतका अनुसार पार्टीका अधिकांश सांसदले प्रधानमन्त्रीसम्म सहज पहुँच नभएको भन्दै गुनासो गरेका थिए । ‘बजेट विनियोजनदेखि आफ्ना क्षेत्रका विभिन्न समस्या लिएर मन्त्रीहरुसँग भेट्दा रुखो जवाफ आउने, मन्त्रीहरुले नै बेवास्ता गरेपछि प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्न खोज्दा पहुँच नै नपाउनेजस्ता समस्या थियो,’ नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका एक सांसदले भने ।

केही सांसदहरुले आफ्नो पार्टीको सरकार रहेको अनुभूतिसमेत गर्न नपाएको गुनासो गरेको बताइन्छ । 

गुनासोको दायरा बढ्दै गएपछि केही प्रभावशाली नेताले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोत बताउँछ । ‘कार्यकर्ताको गुनासोबाट अहिलेसम्म प्रधानमन्त्री स्वयम् बेखबर हुनुहुँदो रहेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि उहाँले आफ्ना सहयोगीहरुको भूमिका समीक्षा गर्नुभएको हुन सक्छ ।’

कस्तो अवस्थामा प्रधानमन्त्रीले फेर्छन् सहयोगी ?

सामान्यतया प्रधानमन्त्रीले आफ्नो इच्छा र आवश्यकताका आधारमा सहयोगीहरु परिवर्तन गर्छन् । प्रधानमन्त्रीको सचिवालयमा सहयोगीहरु अनेक हुन्छन् । विधागत रूपमा दक्ष विभिन्नलाई प्रधानमन्त्रीले सल्लाहकार नियुक्त गर्ने परम्परा छ । शासकीय र साङ्गठनिक क्षेत्रमा आफूले अघि सारेका नीति तथा योजनालाई अघि बढाउने भूमिकामा महत्त्वपूर्ण सहयोग मिल्छ भनेर नै प्रधानमन्त्रीले सल्लाहकारको टिम राख्ने गर्छन् ।

यस्तो टिममा प्रधानमन्त्रीले आफू निकटका र निकै विश्वासिला मानिसलाई राख्ने प्रचलन रहेको विश्लेषक हरि रोका बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीले सल्लाहकार चयन गर्दा कसैको सिफारिस वा कसैको याचना होइन, आफूले रुचाएको, विश्वासिलो लागेको र सम्बन्धित क्षेत्रमा काम गर्न सक्छ भन्ने विश्वास भएको मानिसलाई छान्ने गरिन्छ ।’

यसरी छानिएको टिमले प्रधानमन्त्रीको चाहनाबमोजिम काम गर्न नसकेमा कुनै पनि समय प्रधानमन्त्रीले टिममा परिवर्तन गर्न सक्ने रोकाको भनाइ छ । ‘अहिले प्रधानमन्त्रीले सल्लाहकार टिम फेर्न लागेको हो या होइन, यसबारे मलाई थाहा भएन,’ उनले भने, ‘यदि फेर्न लागेकै हो रहेछ भने यसले उक्त टिममा रहेका सदस्यहरु अक्षम रहेछन् भन्ने सन्देश दिन्छ ।’

प्रधानमन्त्रीलाई आफ्ना सल्लाहकारले ‘मिस लिड’ वा ‘मिस गाइड’ गरे भन्ने लागेको अवस्थामा कुनै पनि बेला फेरबदल गर्नु सामान्य हुने उनको भनाइ छ ।

 ‘प्रधानमन्त्रीले धेरै विचार गरेरै कसैलाई सल्लाहकार बनाउने कुरा आउँछ,’ उनले भने, ‘तर प्रधानमन्त्रीबाट त्यस्तो टिममा फेरबदल हुन्छ भने त्यो टिममा रहेकाले गरेको काम प्रधानमन्त्रीलाई चित्त बुझेन भनेर हामीले बुझ्नुपर्ने हुन्छ ।’  
 

प्रभावकारी नतिजाका लागि फेर्न लागिएको हुन सक्छ : सांसद चौधरी
नेकपा सांसद शान्ता चौधरी जनअपेक्षाअनुसार सरकारका काम कारबाही अझ बढी प्रभाकारी तुल्याउन नै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन र सचिवालयमा हेरफेर गर्न लागेको हुन सक्ने बताउँछिन् । आफू हाल चुनावी कार्यक्रममा सहभागी हुन काठमाडौँ बाहिर रहेको जनाउँदै उनले यसबारे राम्ररी बुझ्न भने नपाएको उनले बताइन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘अहिलेको टिमलाई अयोग्य भनेर होइन, अझ बढी प्रभावकारी नतिजाका लागि, पार्टीहरुका साथीहरुको उचित व्यवस्थापनका लागि प्रधानमन्त्रीज्यूले केही परिवर्तन गर्न खोज्नु भएको हुन सक्छ ।’


बालुवाटारमा सत्तारुढ दलकै कतिपय नेता–कार्यकर्ताले सहज पहुँच नपाएको भन्ने गुनासोसमेत आइरहेको सन्दर्भमा सोधिएको प्रश्नमा सांसद चौधरीले यसलाई सामान्य रूपमै लिनुपर्ने बताइन् । 

‘कहिलेकाहीँ यस्तो हुन्छ, प्रधानमन्त्रीसँग सबैले सहज पहुँच पाउँछन् भन्ने हुँदैन,’ उनले भनिन्, ‘तर पनि सचिवालयको टिमले सहज पहुँचका लागि कोसिस गरिदिनु पर्छ, कार्यकर्ताको गुनासो र सुझाव सम्बन्धित ठाउँसम्म पु¥याइदिनुपर्छ ।’
 

पछिल्लो समय प्रधानमन्त्री निकै सक्रिय
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण धेरैले उनी देशको प्रमुख कार्यकारी भूमिकामा सक्रिय हुन नसक्ने टिप्पणी गर्दै आएको समयमा प्रधानमन्त्री ओली भने पछिल्ला दिनमा अझ बढी सक्रिय भएका छन् ।

 पटक पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीको पछिल्लो सक्रियताको हाराहारीमा उनकै मन्त्रिपरिषद्का कतिपय ‘स्वस्थ’ सदस्यहरु पुग्न सकेका छैनन् ।

उनले एक साता यता सचिवालय बैठक बोलाउनका साथै सातवटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्ने र सातवटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दै स्वस्थ रहेको सक्रिय रुपमा काम गरिरहेको सन्देश दिएका छन् । 
सँगसँगै शनिबारमात्रै ओलीले भारतले हालै नयाँ राजनीतिक नक्सामार्फत नेपालका केही भूभाग अतिक्रमण गरेको सम्बन्धमा छलफल गर्न सर्वपक्षीय बैठक पनि बोलाए ।

बैठकले नेपाल भूमि रक्षाका लागि सबै एकजुट भएर अघि बढ्ने निष्कर्ष निकालेको छ । 

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले पटक पटक ढिला गर्ने छुट नभएको बताउँदै आएका छन् । आफ्नो काम गर्ने ‘स्प्रिट’ लाई थप गतिशील बनाउन पनि ओलीले सल्लाहकार टिम परिवर्तन गरेर अघि बढेको हुन सक्छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप