बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदलगत्तै सचिवालय बैठक

'डायलाइसिसबारे चिकित्सकहरु परामर्शमा'
आइतबार, १७ कात्तिक २०७६, ०८ : ५६
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । केही दिनयता स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार २ वटा छु्ट्टाछुट्टै महत्त्वपूर्ण बैठक बोलाएका छन् ।

ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै मन्त्रिपरिषद बैठक र पार्टी सचिवालयको बैठक बोलाएका हुन् । ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्रीले त्यसलगत्तै पार्टी सचिवालय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘११ बजे मन्त्रिपरिषद बैठक छ । त्यसपछि सचिवालय बैठक राखिएको छ । तर समय तोकिएको छैन,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

* अपडेट : प्रधानमन्त्री ओली तेस्रो पटक डायलाइसिसका लागि ग्राण्डी अस्पताल जान परेपछि बैठक ३ बजेसम्मका लागि सारिएको छ ।

 


आइतबारको मन्त्रिपरिषद बैठकमा केही विकास निर्माण र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका बारेमा समेत छलफल हुने छ । यद्यपि उपकुलपति नियुक्तिका लागि क्याविनेटले निर्णय गरिरहनु पर्दैन । तर, शिक्षामन्त्रीको संयोजकत्वमा रहेको छनोट समितिले सिफारिस गरेका नाम अनुमोदनका लागि छलफल हुनसक्ने एक मन्त्रीले रातोपाटीलाई बताए ।

‘उपकुलपति नियुक्तिबारे क्याविनेटमा छलफल हुन जरुरी त होइन, तर आवश्यक ठानिएमा छलफल पनि हुनसक्छ,’ ती मन्त्रीले भने अन्य केही महत्त्वपूर्ण नियुक्तिहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्छ ।’

 त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री गिरिराजमणि पोखेरल नेतृत्वको सर्च कमिटिले डा. भगवान कोइराला, डा. धर्मकान्त बाँस्कोटा र चन्द्रमणि पौडेलको नाम असोज दोसो साता नै प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सर्च कमिटिले तीन जनाको नाम सिफारिस गरेपनि उपकुलपति नियुक्त हुन सकेको छैन ।

मन्त्रिपरिषद बैठकपछि आइतबारै बस्ने नेकपा सचिवालय बैठकले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाउने छ । यद्यपि प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै सचिवालय बैठकको समय भने तोकिएको छैन । प्रवक्ता श्रेष्ठले अहिलेसम्म समय नतोकिएपनि दिनभरमा सचिवालय बैठक बसेर उम्मेदवार टुङ्गो लगाइने बताए । 

डायलाइसिसबारे चिकित्सकहरु परामर्शमा

१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको गत बिहीबार ग्राण्डी अस्पतालमा हेमोडायलाइसिस गरिएको थियो । प्रधानमन्त्री ओलीको आइतबार पनि डायलाइसिस गर्नेपर्ने हुनसक्ने भएकाले त्यसैअनुसार सचिवालय बैठकको समय निर्धारण गरिने नेकपाले जनाएको छ । आइतबारै डायलाइसिस गर्नुपर्ने वा नपर्ने भन्ने बारेमा चिकित्सकहरुबीच बालुवाटारमा छलफल भइरहेको र उनीहरुको सुझाव अनुसार अघि बढ्ने बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि शनिबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

बैठकपछि शनिबारको सचिवालय बैठकमा उम्मेदवारहरुबारे सामान्य छलफल भएपनि आइतबार बस्ने बैठकले मात्रै उम्मेदवार टुङ्गो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए ।

मंसिर १४ मा प्रतिनिधि सभातर्फ कास्की–२, प्रदेससभातर्फ भक्तपुर, बाग्लुङ र दाङ तथा धरानको मेयर पदका लागि उम्मेदवार घोषणा गर्ने नेकपाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप