मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

को हुन् जुवाखालबाट समातिएका ‘क्यासिनो किङ’ बले ? यस्तो छ नालीबेली

आइतबार, १० कात्तिक २०७६, १२ : ०७
आइतबार, १० कात्तिक २०७६

काठमाडौँ–  प्रहरीले शनिबार राति काठमाडौँको एक निजी घरमा क्यासिनोकै रुपमा जुवा खलिरहेको अवस्थामा ‘क्यासिनो किङ’ भनेर चिनिने बलराम सापकोटा ‘बले’सहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, ३ लाख बराबरको चेक तथा केही रकम नभरिएको चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले जुवाखालबाट यति धेरै रकम बरामद गरेको सम्भवतः पहिलो पटक भएको जनाएको छ । 

को हुन् ‘बले’ ? 
काभ्रेको रोशी गाउँपालिका, बाल्टिङ स्थायी घर भएका बलराम सापकोटा ‘बले’ जुवाडेहरुबीच ‘क्यासिनो किङ’का रुपमा चिनिन्छन् । 

केही समय पहिलासम्म अन्नपूर्ण होटलमा भाँडा माझ्ने काम गरेका उनी वेटर हुँदै सोही होटलस्थित अन्ना क्यासिनोमा बाउन्सरको रुपमा काम गर्थे । ‘बले’ पछिल्ला दिनमा आफैँ जुवा खेलाउने काममा संलग्न हुन थाले । त्यही क्रममा उनले जुवामा लगानी गर्ने तथा मोटो ब्याज असुल्ने गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । जुवाडेहरुका लागि उनले ‘मिटर ब्याज’मा लगानी गर्ने गरेको बताइन्छ ।

उनले काभ्रेमा कांग्रेस पार्टीबाट राजनीतिमा प्रभाव जमाउने प्रयास गरेका थिए । कांग्रेसको जिल्ला कोषाध्यक्षका लागि उम्मेदवारी दिएका उनी कृष्णगोपाल भैलसँग पराजित भएका थिए ।

 उनी कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत निकट सम्बन्ध राख्न सफल भएका थिए । पछिल्लो समय नेपाली राजनीतिमा नेकपाको प्रभाव बढेपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पार्टीका अन्य नेताहरुसँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए । 

जुवा धन्दा फस्टाउँदै गएपछि उनी रातारात करोडपति बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नयाँ गुण्डाका रुपमा उदाएका बले भन्ने बलराम सापकोटा ‘ग्याङ’ बनाएर जुवासमेत खेलाउने गर्थे ।

जुवा खेलाएरै बलेले धेरैलाई घरवारबिहीन र कंगाल बनाएका उनले त्यही रकमले छोटो समयमै भारतको सिक्किम र गोवामा समेत क्यासिनो सञ्चालन गरेका छन् । 

बलेले पछिल्लो पटक झापाको धुलावारीमा ७ बिगाहा जमिनमा ‘पाँच तारे’ भव्य होटलसमेत बनाउँदैछन् । ‘मेची क्राउन’ भन्ने पाँच तारे होटल बनाउन बलेलाई अर्का व्यापारी पवित्र कार्कीले सहयोग गरेको बताइन्छ । 

हेलिकोप्टर व्यापारीसमेत रहेका कार्की डाइनेष्टि हेलिकोप्टरका मालिक हुन् । बलेलाई आर्थिक सहयोग गर्ने र हरेक काममा ब्याकअप दिने व्यक्तिका रुपमा कार्की चिनिन्छन् । ठूला नेता र व्यापारीलाई समेत रिझाउन खप्पिस बले गुण्डागर्दीमार्फत नै क्यासिनो क्षेत्रमा साम्राज्य खडा गर्ने कसरतमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 

प्रहरी र ठुला राजनीतिक दलका नेताको नाम भजाउँदै फाइदा उठाउने बलेले काभ्रे नै घर भएका कारण सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको समेत नाम भजाउने गरेका छन् । उनले मन्त्री बाँस्कोटाले ‘आफूले जे भन्यो त्यही मान्छन्’ भन्दै अरुलाई धाक लगाउने गरेका छन् । 

पक्राउ पर्ने अन्य अधिकांश काभ्रे जिल्लाका छन् । उनीहरु स्थानीय राम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप