शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गुको निःशुल्क उपचार मन्त्रीको भाषणमै सीमित

अस्पताल भन्छ, 'मन्त्रालयबाट आधिकारिक जानकारी नै आएन'
मङ्गलबार, ३१ भदौ २०७६, १६ : ०९
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौँ । वैशाखको अन्तिम साताबाट सुनसरीको धरानबाट फैलिएको डेङ्गुको सङ्क्रमण अहिले ५६ भन्दा बढी जिल्ला फैलिसकेको छ । साउनसम्मको तथ्याङ्कमा सबै भन्दा धेरै डेङ्गुको सङ्क्रमण प्रदेश नं. १ मा देखिएको थियो । सङ्क्रण फैलिएको ४ महिनासम्म पनि डेङ्गु नियन्त्रणमा आउन सकेको छैन ।

अहिले आएर डेङ्गुको सङ्क्रण सबैभन्दा धेरै प्रदेश नं. ३ मा देखिएको छ । निधन हुनेको सङ्ख्या पनि यसै प्रदेशमा बढी देखिएको छ । अहिलेसम्म ६ जनाको निधन भइसकेको डेङ्गु सङ्क्रण नियन्त्रणका लागि सरकारले खासै कदम चाल्न नसक्दा चौतर्फी विरोध भइरहेको  छ ।  ४० लाखभन्दा बढी जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा पनि सरकारले कुनै पनि कार्यक्रम सक्रिय रूपमा गर्न सकेन् । अहिलेसम्म ७ हजारभन्दा बढी नागरिकमा डेङ्गुको सङ्क्रण देखिएको छ ।

डेङ्गुको सङ्क्रण फैलिएको बारे  बुझ्न स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादव शुक्रराज ट्रफिकल अस्पतालमा पुगे । भदौ १६ गते शुक्रराज पुगेका डा. यादवले अस्पतालको निरीक्षण गर्दै अस्पतालका निर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, रोग नियन्त्रण महाशाखा, व्यवस्थापन महाशाखा, चिकित्सा महाशाखा, प्रयोगशाला महाशाखा लगायत सम्बन्धित सम्पूर्ण महाशाखा प्रमुखहरुलाई डेङ्गुको उपचारका लागि निःशुल्क व्यवस्थाका लागि आवश्यक प्रबन्ध मिलाउन निर्देशनसमेत दिए । साथै मन्त्री यादवले डेङ्गुको बिरामी शुक्रराज ट्रपिकल आएपछि उपचारका लागि अन्यत्र जानु नपर्नेगरी आवश्यक सबै प्रबन्ध मिलाउन पनि निर्देशन दिए भन्ने कुरा निकै चर्चाको विषय बन्यो । धेरैले महामारी फैलिएको समयमा सरकारले राम्रो कदम चालेको भन्दै सरकारको गुणगान पनि गाउन भ्याए ।


चर्चामा आउने बहाना

भदौ १६ मा राज्यमन्त्रीको निर्देशन आए पनि अहिलेसम्म कुनै पनि बिरामीले डेङ्गु सङ्क्रणको उपचारमा छुट पाएका छैनन् । उपचाररत अस्पतालहरुले नै निःशुल्क नभएको बताउँदै आएका छन् । शुक्रराज ट्रपिकल अस्पतालका अनुसार प्रशासनले नै राज्य मन्त्रीले निःशुल्क गर्ने भन्ने कुरा गरे पनि अहिलेसम्म कुनै पनि आधिकारिक पत्र नआएको हुँदा निःशुल्क नभएको बताउँदै आइरहेका छन् ।

अस्पतालका प्रशासनतर्फका प्रवक्ता रूपनारायण खतिवडाले रातोपाटीसँग कुरा गर्दै भने, ‘डेङ्गु परीक्षण गर्ने एउटा किट ९२० रूपैयाँमा अस्पतालले किन्दै आएको र नागरिकलाई ५०० रूपैयाँ मात्रै लिने गरेका छौँ । यो शुल्क मन्त्रीको भनाइ आउनुभन्दा पहिला नै अस्पतालको आन्तरिक छलफलपछि ४२० छुट दिँदै आइरहेका छौँ ।’

४२० छुट धान्न पनि हम्मेहम्मे परेको अस्पताल प्रशासनको भनाइ छ ।

मन्त्रीको भनाइपछि टेकु अस्पतालमा निःशुल्क उपचार हुनुपर्ने नागरिकको माग छ । तर मन्त्रालयबाट आधिकारिक जानकारी र बजेटको कुनै पनि कुरा नआएको हुँदा अस्पतालले निःशुल्क गर्न सकेको छैन् । प्रवक्ता खतिवडाले भने ।

वैशाखदेखि भदौ ३० सम्ममा  टेकु अस्पतालमा ६ हजार ७ सय ६६ जना नागरिकले डेङ्गुको परीक्षण गराएका थिए । तीमध्ये ३ हजार १७ जनामा डेङ्गुको भएको प्रमाणित अस्पतालले गरेको छ । धेरै सङ्क्रमित बिरामी चिकित्सकको सल्लाहपछि घर फर्केका छन् भने तीमध्ये १६१ जना अस्पतालमा भर्नापछि निको भएर घर फर्किसकेका छन् । हाल २३ जना उपचाररत छन् । टेकु अस्पतालमा भदौ लागेपछि डेङ्गु सङ्क्रणको परीक्षण गराउने नागरिकको चाप बढ्दो देखिन्छ । हालसम्म अस्पतालमा दैनिक ६ सयको हाराहारीमा डेङ्गु परीक्षण गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

डेङ्गु लागेपछि भर्ना गरिएका बिरामीको भने निःशुल्क उपचार हुँदै आएको अस्पतालले जनाएको छ । डेङ्गुको निःशुल्क परीक्षण र उपचारका बारेमा भने मन्त्रालयबाट नै जानकारी नआएको हुँदा अस्पतालले सकेको छुट मात्रै दिँदै आइरहेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डे पनि डेङ्गु  भए नभएको परीक्षण गर्नुभन्दा पनि प्रमाणित भएपछि र भर्ना भएका बिरामीको भने निःशुल्क भएको बताए ।

चर्चामा आउनका लागि जिम्मेवारी व्यक्तिहरुले निःशुल्क भन्ने अनि कार्यान्वयनमा नगर्दा नागरिकको दबाब अस्पताल प्रशासनले झेल्नुपरेको छ । चर्चामा आउनका लागि सस्तो भाषण नदिँदा नै राम्रो हुने  सरोकारवालाहरुको भनाइ छ । यसो त सरकारसँग डेङ्गुको उपचार, रोकथाम बारे अहिलेसम्म कुनै पनि नीति बनेको देखिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप