शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको प्रदेश २ मा विवादैविवाद

शुक्रबार, २७ भदौ २०७६, १५ : २५
शुक्रबार, २७ भदौ २०७६

काठमाडौँ– एकताको १६ महिना हुँदा पनि नेकपाले पार्टी एकताका सबै काम अझैै टुङ्ग्याउन सकेको छैन । विवाद र फरक मतका बीच टुङ्गिएका एकतामा कहीँकतै तनाव र मतभेद छ । यो समस्या नेकपाको प्रदेश २ मा बढी देखिएको छ ।

कहिले प्रदेश अध्यक्षको राजीनामा आउँछ । कहिले स्थानीय विद्यालय वा अन्य सङ्घसंस्थाका व्यवस्थापन समितिमा नेकपाकै केन्द्रीय नेताले भिन्दाभिन्दै प्यानल उठाएर चुनावमा भीडन्त गर्छन् । कहिले कार्यक्रम स्थलमै हात हालाहाल हुन्छ । नेतृत्व चयनमा विवाद भएपछि एउटै जिल्लामा दसजनासम्म सहइन्चार्ज भएका छन् । धेरै सहइन्चार्ज बनाउँदासमेत विवाद हल हुन सकेको छैन । कतै जिल्ला कमिटी गठनमा केन्द्रीय नेताहरूले चासो राखेर आफ्ना नजिकका मान्छे पारेको भन्ने असन्तुष्टि छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला कमिटी एकीकरण प्रक्रियासँगै गठित जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता तथा कार्यकर्तामा व्यापक असन्तुष्टि देखिएको छ । जिल्ला कमिटीको चयनमा एकलौटी गरेको भन्दै विवाद चुलिएको छ ।

पार्टीको आन्तरिक विवाद यहाँसम्म पुग्यो कि मङ्गलबार अर्थात भदौ २४ गते महोत्तरीको बर्दिबासमा हुने भनिएको शपथग्रहण कार्यक्रममै तनाव भयो । शपथग्रहण कार्यक्रम स्थगित भयो । शपथग्रहण कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल जाने तयारी थियो । त्यहाँको विवादबारे बुधबार बसेको सचिवालय बैठकमा पनि छलफल भएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले प्रदेश–२ मा भएको विवाद तुरुन्तै हल गर्न अध्यक्षद्वयलाई ध्यानाकर्षण गराएका थिए । हात हालाहालसम्मको स्थितिले सबैतिर नकारात्मक सन्देश गएको र अझै ढिला भए समस्या बल्झिने भन्दै समस्या समाधान तत्काल गर्न आग्रह गरेका थिए । त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आगामी बैठकमा त्यहाँका विवादबारे नीतिगत रूपमै छलफल गरेर समाधान गरिने बताएका थिए । त्यसैले प्रदेश–२ को यो विवाद नेकपाको शीर्ष नेताकै लागि पेचिलो बनेको छ । पछिल्ला केही दिनमा प्रदेश २ मा कस्ता कस्ता विवाद देखिएका छन् त ?


विवाद १ : शपथग्रहणमा कुर्सी हानहान

प्रदेश २ मा नेकपाभित्रको विवाद कहाँसम्म पुगेको छ भन्ने पुष्टि भदौ २४ गतेको कुर्सी हानाहानको अवस्थाले गर्छ । प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले प्रदेशका ६ जिल्लाका विवादित जिल्ला कमिटीलाई शपथ गराउने तयारी गरेका थिए । महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरी जिल्ला कमिटीका सदस्यहरूका लागि शपथ कार्यक्रमको तयारी पूरा भएको थियो । कार्यक्रममा सबै जिल्ला कमिटीका सदस्यहरू आइपुगेका थिए ।

तर कार्यक्रम सुरुवात हुने तरखरमै त्यहाँ झडप भयो । झडपमा प्रदेश २ का अध्यक्ष पभु साह र सचिव सुमनराज प्याकुरेलमाथि नै हातपातको प्रयास भयो । त्यहाँको स्थिति तनावग्रस्त भएपछि प्रहरीले नै हस्तक्षेप गर्यो । झडपमा प्रदेश कमिटी सदस्य देवनाथ यादव घाइते भए । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको थियो । झडपका कारण कार्यक्रम स्थलमा राखिएका कुर्सी तोडफोड भए ।

धनुषामा तत्कालीन माओवादीको ७५ सदस्यीय जिल्ला कमिटी र तत्कालीन एमालेका ७५ जनाको जिल्ला कमिटी थियो । तर नेकपाको जिल्ला कमिटी बनाउँदा साविकको माओवादी सङ्गठनका सबै सदस्य राखिए पनि एमालेबाट ७५ जनामध्ये २२ जनालाई हटाएर नयाँ व्यक्ति राखेको भन्दै धनुषा जिल्ला कमिटीमा विवाद भएको थियो । यस्तै विवाद रौतहट र महोत्तरीमा पनि छ । त्यसबाहेक अन्य जिल्लामा पनि विवाद छ ।

केन्द्र जिल्ला कमिटीहरू गठन गर्दा तत्कालीन दुई पार्टीका निवार्चित व्यक्तिहरूलाई प्राथमिकता दिने र निवार्चित सबै कमिटीमा नपर्ने अवस्थामा वरिष्ठतालाई प्राथमिकता दिने परिपत्र गरेको थियो । तर मुख्यतः तीन जिल्लामा विगतमा निवार्चित भएकालाई नै नसमेटी वरिष्ठता क्रमसमेत मिचेर नयाँ अनुहारलाई छनोट गरिएको भन्दै एक समूह असन्तुष्ट रहँदै आएको छ । सो समूहले जिल्ला कमिटीको समायोजन गर्दा मापदण्ड तयार गरी फेरि समायोजन गर्न माग गरेका छन् । मापदण्ड तय नभई गठन भएका जिल्ला कमिटी मान्य नहुने अडान असन्तुष्ट समूहको छ । 

विवाद २ : मन्दिर व्यवस्थान समितिमा भिन्दाभिन्दै प्यानल

नेकपाको प्रदेश २ मा नेता पिच्छे विवाद छन् । हेर्दा सामान्य तर नेकपाको स्थानीय तहसम्मका कमिटी र नेताहरूबीच कति तिक्ततापूर्ण सम्बन्ध छ भन्ने उदाहरण प्रदेश २ मै छ भनेर प्रष्ट गर्छ । जस्तो कि धनुषाको सबैला बजारमा रहेको दुर्गा भवानी मन्दिर व्यावस्थापन समितिका लागि भएको चुनावलाई हेरौँ । चुनावमा नेकपाका स्थायी कमिटी सदस्य एवं उद्योग मन्त्री मात्रिका यादव र नेकपा केन्द्रीय सदस्य योगनारायण यादवबीचको विवाद नेकपाका लागि पाठ हुन सक्छ । दुर्गा भवानी मन्दिरमा दसैँको बेला ठूलो मेला लाग्छ । मेला र मन्दिर व्यवस्थापनका लागि दुर्गा भवानी प्रतिष्ठान बनाइएको छ । प्रतिष्ठानको वार्षिक करिब ५० लाख आम्दानी हुन्छ । हो, त्यही प्रतिष्ठानको व्यवस्थापन समितिको चुनाव हुँदै थियो । तर त्यहाँ उमेदवारलाई लिएर दुई नेताबीच विवाद भयो । विवाद कहाँसम्म पुग्यो भने दुवै नेताले आआफ्ना उम्मेदवार अगाडि सार्नुपर्ने स्थिति बन्यो ।

मन्त्री यादवले प्रतिष्ठानको व्यवस्थापन समितिमा छुट्टै उम्मेदवार अगाडि सारे । नेता यादवले पनि आफ्ना उम्मेदवार अगाडि सारे । व्यवस्थापन समितिमा नेकपाका दुई प्यानल प्रतिस्पर्धामा उत्रे । दुवै नेताले छुट्छुटै अगाडि सारेका उम्मेदवार जिताउनु आफ्नो प्रतिष्ठासँग जोडे । मन्त्री यादव त आफ्नो उम्मेदवार जिताउन गाउँमै गएर बसे । तर पनि मन्त्री यादवले अगाडि सारेका सूर्यदेव चौधरी नेतृत्वको प्यानलले चुनाव हार्यो । नेता यादवले अगाडि सारेका वीरेन्द्र नायक नेतृत्वको प्यानलले चुनाव जित्यो । मन्त्री यादवले नेकपाको संस्थापन पक्षको नेतृत्व गरे । नेता यादव चुनाव जित्नका लागि काँग्रेससँग मिले । त्यहाँ यो विवाद पनि अझै सेलाएको छैन ।


विवाद ३ : प्रदेश अध्यक्षकै राजीनामा

३ भदौमा नेकपाको प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्षबाट राजीनामा दिए । उनले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए । नेता साहले नेकपाका अर्का नेता महेन्द्र पासवानलाई प्रदेश २ को सहइन्चार्ज बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका थिए । यसअघि साहको असन्तुष्टि स्थायी कमिटीमा नपरेको पनि थियो ।

नेता साहले राजीनामा बुझाउँदा पार्टी सचिवालयको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको पनि बताएका थिए । प्रदेश अध्यक्षको रूपबाट अगाडि बढाएका हरेक काममा पार्टी नेतृत्व तहबाट नै असहयोग र घेराबन्दी भएको बुझाइ उनको छ । तर पछि अध्यक्षद्वय ओली र प्रचण्डले राजीनामा फिर्ता लिएर नेता साहलाई काममा फर्किन निर्देशन दिए ।

नेता साहले राजीनामा प्रचण्डलाई बुझाएपछि उनीमाथि पद दुरुपयोग र निषेधको राजनीति गरेको आरोप नेकपाकै नेताले लगाए । नेकपा पूर्वसांसद अशोक जयसवालले पत्रकार सम्मेलन गरेर साहले तल्ला तहका कमिटीमा आफू निकटका व्यक्तिलाई स्थान दिएर पुराना नेता कार्यकर्तालाई पाखा लगाएको आरोप लगाएका थिए । प्रदेश अध्यक्षबाट नेता साहको राजीनामा आएपछि विवाद झनै बाहिर आएको थियो ।

विवाद ४ : सहइन्चार्जको भीड

नेकपाले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको नामावली टुङ्ग्याउँदा प्रदेश २ को हकमा फरक निर्णय गर्यो । अर्थात सहइन्चार्ज १० जनासम्म रहने । नेकपाले अन्य प्रदेशका जिल्लामा (प्रदेश ३ को काठमाडौँ बाहेक) एक वा दुई जना सहइन्चार्ज तोकेको छ । तर प्रदेश २ का अधिकांश जिल्लामा २ देखि १० जनासम्म सहइन्चार्ज तोकेको छ । जस्तोकि धनुषामा ९, सिराहामा १०, महोत्तरीमा ६, सर्लाहीमा ४, रौतहट र बारामा दुईदुई जना सहइन्चार्ज तोकिएका छन् ।

यस अर्थमा यो प्रदेशका जिल्लामा सहइन्चार्जको भीड छ । सहइन्चार्ज धेरै हुँदा हरेक कार्यक्रममा विवाद हुने गरेको छ । नेकपा सचिवालयका एक नेताका अनुसार प्रदेश २ मा विवाद बढी भएका कारण नै १० जनासम्म सहइन्चार्ज तोकिएको बताए । त्यतिबेला बैठकमा केही नेताले सहइन्चार्ज धेरै बनाउन नहुने तर्कसमेत गरेका थिए । तर अध्यक्षद्वयले केही फरक नपर्ने बताएपछि सहइन्चार्जमा सहमति जुटेको थियो ।

माथिको अन्तरविरोधको समस्या तल पनि देखियो– विश्वनाथ साह, प्रदेश सहइन्चार्ज

पार्टी एकीकरणपछि समस्या सबैतिर छ । अलि बढी समस्या प्रदेश २ मा भएको सत्य हो । यो अहिले मात्रै होइन, तत्कालीन एमाले र माओवादी पार्टी हुँदा नै थियो । मधेसमा अलिअलि सामन्तवादको असर पनि अझै कायम छ । यसले पनि यहाँको साङ्गठनिक विषयमा असर गरिराखेकै हुन्छ ।

दोस्रो, पार्टीभित्रको अन्तरविरोध माथि पनि छ ।  माथिबाटै कतिपय समस्या भएका हुन्छन् । स्वाभाविक हो पार्टी भएपछि अन्तरविरोध हुन्छ । त्यस्तो अन्तरविरोधसँग तलका कमिटी पनि जोडिएका हुन्छन् । त्यो अन्तरविरोध ठीक समयमा हल भएन भने समस्या बल्झिँदै जाने, छिप्पिँदै जाने हुन्छ । पछिल्लो समय जिल्लाहरूको शपथग्रहण कार्यक्रममा अलि अलि यस्तो समस्या देखिएको छ । अहिले करिब करिब यी समस्या हल गर्दै अगाडि बढेका छौँ । तीन जिल्ला बाँकी छ । एक हप्ताभित्रमा शपथ सकिन्छ ।

नेकपाका सबै संरचनाले पूर्णता पाइसकेका छैनन् । नेता कार्यकर्ता धेरै छन् । सबैलाई समेट्दा कमिटी ठूला हुन पुगे । अहिले पार्टी सङ्क्रमणकालीन अवस्थामा छ । त्यसले पनि केही जटिलताहरू उब्जाएको छ । ठूलो कमिटी भएपछि बैठक हुँदैन । बैठक नभएपछि आफ्ना कुरा राख्न पाउँदैन । कुरा राख्न नपाएपछि असन्तुष्टि बढ्छ ।

तेस्रो, माथिका नेताहरूले सबैलाई समेटौँ भन्दा मधेसका कुनै जिल्लामा सहइन्चार्ज दस दस हुन पुग्यो । त्यो त्यति राम्रो नदेखिए पनि नेताहरूको बाध्यता भयो । जिम्मेवारी कहाँ दिने त ? भनेर त्यसो गरेको बुझिन्छ । अब पार्टीमा महाधिवेशन नहुँदासम्म यी समस्या हल चाहिँ भइहाल्दैन ।

ठूला नेताका कारण पनि प्रदेश २ मा समस्या

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश २ को रौटहट जिल्लाका हुन् । नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल सो प्रदेशका इन्चार्ज छन् । उनी पार्टी अध्यक्ष ओली निकटका नेता हुन् । यस्तै तत्कालीन माओवादीका नेताहरू मातृका यादव, गिरिराजमणि पोखरेल, प्रभु साह, विश्वनाथ साह, रामेश्वर राय यादव लगायतका नेता पनि प्रदेश २ बाटै प्रतिनिधित्व गर्छन् ।

तत्कालीन एमालेमा खासगरी ओली र नेपाल समूहको टक्कर यो प्रदेशमा पर्ने गरेको थियो । यस्तै तत्कालीन माओवादीमा प्रचण्ड र नेता नारायणकाजी समूहको प्रभाव बढी थियो । एकीकृत पार्टीमा पनि यी समूहको प्रभाव देखिएको छ । एकीकृत पार्टी बनेपछि शीर्ष नेता नै शक्ति विस्तारमा लागेका कारण पनि प्रदेशमा २ मा विवाद बढी भएको स्थायी कमिटीका एक नेता बताउँछन् । उनी भन्छन्, ‘प्रदेश २ बाट पार्टीमा शीर्ष नेतादेखि अन्य धेरै नेता छन् । नेतै पिच्छेका गुट छन् । पछिल्लो समय यो प्रदेशमा विवाद बढाउनुमा यिनै ठूला नेताको इन्ट्रेस्टले काम गरेको छ । उनीहरू आफ्नो शक्ति विस्तारमा लागेका छन् । माथिकै प्रभाव तल देखिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप