शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रभु साहले राजीनामा दिनुको भित्री कथाः ओली–प्रचण्डको जवाफले निरास !

बुधबार, ११ भदौ २०७६, १२ : ५८
बुधबार, ११ भदौ २०७६

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको कार्य विभाजनप्रति असन्तुष्टि देखाउँदै प्रभु साहले प्रदेश २ को अध्यक्षबाट राजीनामा दिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले साहलाई राजीनामा फिर्ता लिन निर्देशन दिए । 

नेकपाका अर्का नेता महेन्द्र पासवानलाई प्रदेश २ को सहइन्चार्ज बनाएपछि असन्तुष्टि जनाउँदै साहले प्रचण्ड जनकपुरमा भएको बेला राजीनामा बुझाएका थिए । 

जनकपुरमा कार्यकर्ता भेटघाटको क्रममा प्रचण्डसँग साहले महेन्द्र पासवानलाई देखाउँदै भनेका थिए, ‘उहाँलाई  म कसरी नेता स्वीकार गर्न सक्छु ? उहाँ म भन्दा धेरै जुनियर हुनुहुन्छ, राजनीतिमा उहाँ मेरो पछिपछि हिँड्ने मान्छे हुनुहुन्छ ।’ 

भेटघाटमा सहभागी एक नेताले भने साह भन्दा पासवान सिनियर नेता भएको दाबी गरे । उनले रातोपाटीसँग भने, प्रभु साहले महेन्द्र पासवानलाई त्यस्तो भनिरहँदा प्रचण्डलाई पनि अप्ठ्यारो महसुस भइरहेको थियो, प्रभु साह भन्दा महेन्द्र पासवान पार्टीमा सिनियर हुन् । प्रचण्ड निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समेत प्रचण्डले महेन्द्र पासवानलाई प्रभु साहको सामुनेमा मधेशका पुराना नेता भन्नुभएको थियो ।’
उनले सबैको सामुन्ने महेन्द्र पासवानलाई त्यस्तो भनेपछि कार्यकर्ता समेत मुखामुख गरेर बसेका थिए । 

यता साहले पासवान आफू भन्दा जुनियर रहेको बताइरहँदा पासवानले भने साह आफूभन्दा जुनियर रहेको बताए । उनले भने, ‘त्यो कुरा कमरेड प्रचण्ड र कमरेड बादललाई पनि थाह छ ।’ प्रभु साह २०५७ सालमा पार्टी सम्पर्कमा आएको दावी गर्दै नेता पासवानले थपे, ‘म मधेशी मुक्ति मोर्चाको संयोजक हुँदा उहाँ त्यसको सदस्य हुनुहुन्थ्यो ।’

साहले पाटीको नीति विपरित काम गरेको गुनासो जिल्ला र प्रदेशमा बढ्दै गएको बताउँदै पासवानले पार्टीमा आफ्नो दवाव बढाउनका लागि उनले राजीनामा दिएको दाबी गरे । 

अध्यक्ष प्रचण्डमाथि दवाव बढाउनका लागि राजीनामा दिएका साहले ओली समूहको नेतालाई आफ्नो प्रभावमा लिएर प्रचण्डमाथि दवाव बढाउन थालेका थिए । तर त्यसको सुनुवाइ भएन ।

उनले शुरुमै आफू स्थायी कमिटी हुनुपर्ने माग गरेका थिए । स्थायी समितिमा नहुँदा उनले प्रदेश अध्यक्षको माग गरेका थिए । सर्वसम्मतिले उनलाई अध्यक्ष बनाइएको थियो । तर, उनी अध्यक्ष भएपछि प्रदेशमा मनपरि भयो भने भन्दै असन्तुष्टिहरु व्यक्त हुन थाल्यो । 

त्यसपछि अध्यक्ष प्रचण्डले जिल्ला कमिटीको समस्या समाधान गरि सपथग्रहण गराउन साहलाई निर्देशन दिएका थिए । तर उनले अध्यक्ष प्रचण्डको निर्देशनलाई वेवास्ता गर्दै पर्सा र बारामा जिल्ला कमिटीको सपथग्रहण गराएका थिए । 

अन्य ६ वटा जिल्लामा पनि शपथग्रहण गराउने कार्यक्रमको तयारी गर्दा प्रभु साहको व्यापक विरोध भयो । यहाँसम्म कि झडप हुने अवस्था नै आयो । प्रदेश २ बाट अध्यक्ष प्रचण्ड समक्ष डेलिगेशन नै आयो । त्यसपछि प्रचण्डले साहलाई सपथग्रहण कार्यक्रम रोक्न निर्देशन दिएका थिए ।

नेकपाका नेता एवं पूर्वसांसद अशोक जयसवालले भदौ ५ गते प्रभु साहको विरुद्धमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।  जिल्लामा साहले मनपरि गरेको भन्दै उनले त्यसलाई सच्याउन माग गरे । उनले कमिटीलाई नसच्याए समानान्तर कमिटी गठन गर्ने समेत चेतावनी दिए । 

रातोपाटीसँग कुरा जयसवालले भने, ‘प्रभु साहले दिएको राजीनामासँग मलाई कुनै सरोकार छैन, मैले उनले जिल्लामा गरेको मनपरिको विरुद्धमा पत्रकार सम्मेलन गरेको थिएँ ।’ उनको पार्टीमा घुर्की लगाउने बानी पुरानै रहेको पनि दाबी आरोप लगाए । 

प्रदेश सदस्य, जिल्ला कमिटी लगायत कार्यविभाजन गर्दा आफूसँग कुनै सल्लाह नगरेको दावी गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेट्न साह बालुवाटार पुगेका थिए । संयोगले अध्यक्ष प्रचण्ड पनि त्यही थिए ।

उनले त्यहाँ आफूलाई प्रदेशको इन्चार्ज बनाई दिन आग्रह गरेका थिए । बालुवाटार स्रोत भन्छ, ‘आफूभन्दा जुनियरको तल बसेर काम गर्न नसकिने भन्दै प्रदेशको इन्चार्ज बनाई दिन प्रभु साहले आग्रह गरेका थिए ।’ तर दुवैजना अध्यक्षले त्यो आग्रहलाई स्वीकार मात्र गरेनन्, ‘जहाँ हुनुहुन्छ, जुन पदमा हुनुहुन्छ त्यही पदमा काम गर्नुस्’ भनि निर्देशन दिँदै उनलाई पठाएका थिए । 

सोही निर्देशनका आधारमा भदौं ९ गते बसेको सचिवालयको बैठकबाट राजीनामा अस्वीकृत भएको छ ।  राजीनामा अस्वीकृत भएकोबारे हालसम्म प्रभु साहको धारणा बाहिर आएको छैन । राजीनामाको विषयमा पटक पटक उनलाई सम्पर्क गर्दा तीन दिनदेखि उनको मोवाइल अफ रहेको छ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप