केन्द्रीय संस्करण

‘नेपाल टेलिभिजन : महँगा र आधुनिक उपकरण प्रयोगमै ल्याइँदैन’

person access_timeमंसिर १०, २०७५ chat_bubble_outline0

काठमाडौं– नेपालको टेलिभिजन क्षेत्रमा सबैभन्दा पुरानो संस्था हो नेपाल टेलिभिजन । सरकारी स्वामित्वमा रहेको यो पुरानो संस्थाको समग्र अवस्था भने दयनीय बन्दै गएको पाइएको छ । 

केही समयअघि नेपाल टेलिभिजन र रेडियो नेपालको समष्टिगत सुधारका लागि गठित सरकारी समितिले तयार पारेको  विस्तृत प्रतिवेदनमा नेपाल टेलिभिजन बर्सेनि घाटामा सञ्चालन हुँदै भएको कुरा औँल्याइएको मात्रै छैन अन्य टेलिभिजनको तुलनामा नेपाल टेलिभिजनका कार्यक्रम तथा सेवाहरू उत्कृष्टताको चेतनाले भन्दा नाफाको भावनाले निर्देशित हुने गरेको उल्लेख छ । 

अभिमुखीकरणका लागि जिम्मेवार इकाई छैन 

नेपाल टेलिभिजनमा पेसागत सीप, दक्षता, मानवीय व्यावहारिक क्षमता एवम् व्यावसायिक नेतृत्व कुशलता जस्ता दक्षता र क्षमताको अपुग देखिन्छ । जसले जसले कार्यक्रम उत्पादन, प्रस्तुतीकरण लगायतमा प्रभाव परिरहेको पाइएको छ । त्यस्तै एनटीभीका आफूलाई पुराना र अनुभवी ठान्ने कर्मचारीहरू पनि नयाँ प्रविधि र उपकरणहरूका सन्दर्भमा पछि रहेको पाइएको छ । 

नेपाल टेलिभिजनको ओरालो यात्रा : पहिलो वर्ष नाफा, त्यसयता एक अर्ब २५ करोड नोक्सान !

त्यति मात्रै होइन, कार्यदक्षता वा कार्यक्षमता सुधारका लागि कुनै वार्षिक जनशक्ति विकास कार्यक्रम पनि नभएको पाइएको छ । फाट्ट फुट्ट कर्मचारीहरू तालिममा गइरहेका भए पनि ती सबैजसो सुनियोजित र व्यवस्थित रणनीतिक कार्यक्रमअन्तर्गत नभई अपर्भmट आइपरेका आयोजनाहरू सरह कार्यान्वयन भइरहेका छन् । ‘जनशक्ति अभिमुखीकरण र तालिमका लागि कुनै जिम्मेवार इकाई छैन । वैदेशिक तालिमलाई योजना महाशाखाले समन्वय गर्छ भने स्वदेशी तालिमहरू प्रशासन महाशाखाको एक इकाईले समन्वय गर्छ । ‘समग्रमा संस्थागत र प्रणालीगत रूपमा जनशक्ति विकासको आवश्यकता सम्बोधन भएको छैन, गर्ने योजना पनि देखिँदैन’ प्रतिवेदनमा भनिएको छ । 

भएका उपकरण पनि हुँदैनन प्रयोग

समितिको प्रतिवेदनमा नेपाल टेलिभिजनको दैनिक अपरेसन गर्ने उपकरणहरू अपर्याप्त हुनुका साथै भएका उपकरणहरू पनि चुस्त र दुरुस्त अवस्थामा नरहेको जनाइएको छ । ‘अर्कोतर्फ हाल खरिद गरिएका आधुनिक उपकरणहरू पनि तालिमको अभावमा अधिकतम प्रयोगमा ल्याउन कठिनाइ रहेको पाइयो’, प्रतिवेदनमा भनिएको छ । 

नेपाल टेलिभिजनसँग हाल चारवटा उत्पादन स्टुडियो छन् भने एउटा मेन कन्ट्रोल रुम रहेको छ । चारवटा स्टुडियोमध्ये हाल एउटा मात्र डिजिटल स्टुडियो रहेको छ । बाँकी तीन वटा स्टुडियोहरू एनालग प्रणालीका छन् । त्यस्तै टेलिभिजनको स्क्रिन परम्परागत भएको र त्यसमा सुधार ल्याउनुपर्ने पत्रकार तथा कर्मचारीहरूले महशुस गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । 

डिजिटलमा जान सुझाव

विश्वभरी नै प्रसारण क्षेत्रमा हाल डिजिटल प्रसारण प्रविधि अपनाउन थालिएको छ । अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू) को पहलमा विकसित देशका सरकारले “एनालग स्विच अफ”को रोडम्याप सार्वजनिक गरिसकेका छन् । डिजिटल प्रविधिबाट प्रसारण सुरु गरेका ती देशहरूले अब एनालग प्रविधिका ट्रान्समिटर र पाटपुर्जा उतपादनसमेत बन्द गरिसकेका छन् । यस अवस्थामा नेपाल टेलिभिजन पनि निकट भविष्यमा डिजिटल प्रविधिमा रूपमान्तरण हुनु अनिवार्य भइसकेको छ । यस सम्बन्धमा नेपाल टेलिभिजनले पाँच वर्षे प्रविधि रूपान्तरण योजना बनाएर कार्य सुरु गरेको छ । सो योजनाअनुसार नेपाल टेलिभिजनले आफ्ना सबै च्यानलहरू एचडी फरम्याटबाट प्रसारण गर्ने लक्ष लिएको छ । एनटीभीले नयाँ शैक्षिक च्यानल पनि सुरु गर्ने योजना बनाएको छ । देशभर जनताले निःशुल्क सिग्नल प्राप्त गर्नका लागि भू–सतही प्रसारण केन्द्रहरू पनि थप्ने योजना तयार पारेको छ । प्रदेशिक प्रसारणहरू बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा थप स्थापना गर्ने लक्ष लिएको छ । यसका साथै भिडियो टेपमा भएका भिडियो लाइब्रेरीका सामग्रीहरूलाई डिजिटाइज गर्ने लक्ष लिएको छ । 

‘नेपाल टेलिभिजन बन्द गरिदिए हुन्छ’

मर्मत सम्भार चुनौती

मर्मत सम्भार र सञ्चालन अवस्था नेपाल टेलिभिजनका लागि हाल मर्मत सम्भार कार्य निकै चुनौतीपूर्ण रहेको छ । मर्मत सम्भारका लागि नेपाल टेलिभिजनसँग केन्द्रमा मात्र मर्मत सम्भार स्टेसन रहेको पाइएको छ । एनालग प्रविधिका उपकरणहरूको मर्मत तथा सम्भारका लागि आवश्यक पाटपूर्जा पाउन मुस्किल भएको छ । हालसम्म मर्मतका लागि केन्द्र र आवश्यकता अनुसार काठमाडौँ बाहिर रहेका प्रसारण केन्द्रहरूमै गएर मर्मत तथा सम्भारका कार्य गर्ने गरेको भेटिएको छ । 

प्रविधिगत हिसाबले केन्द्रीय नेटवर्किङ प्रणाली नभएकाले उपकरण विग्रिएको थाहा पाउन र फल्ट पत्ता लगाउन धेरै समय लाग्ने गरेको छ । तर नेपाल टेलिभिजनले मर्मत सम्भारको वार्षिक योजना बनाएर नियमित वा आवधिक रूपमा कार्य गर्ने गरेको पाइएको छैन । 

नेपाल टेलिभिजनमा उपकरणहरूको सस्तोमा मर्मत गर्नुको सट्टा नयाँ खरिद नै प्राथमिकतामा पर्ने गरेको प्रतिवेदनमा जनाइएको छ । हालसम्म चारवटा स्याटेलाइट च्यानल सुरु गरिसकेको नेपाल टेलिभिजनले फेरि शैक्षिक च्यानल थप्ने योजना बनाएको देखिन्छ  । यस्तो अवस्थामा च्यानल किन थप्ने भन्ने कुनै नीतिगत, व्यावसायिक तथा व्यावहारिक योजना पाइँदैन । हाल सञ्चालित च्यानलहरू पनि निश्चित लक्ष राखेर सम्भव्यत्ता अध्यायन र व्यावसायिक योजना तयार पारी सुरु गरेको पाइँदैन । यस अवस्थाले नेपाल टेलिभिजनलाई आर्थिक बोझ अत्यधिक थपेको छ । जसले गर्दा नेपाल टेलिभिजन हाल जति पनि र जस्ता पनि विज्ञापन लिन तल्लीन देखिन्छ । जसको परिणाम स्वरूप शुद्ध व्यापारिक प्रसारण गृहहरूलाई माथ गर्ने गरी लगातार १५ मिनेटसम्म विज्ञापन बजाइरहेको  एनटीभीले दर्शकप्रतिको दायित्वलाई कत्ति पनि ख्याल नगरी बाँच्नकै लागि कमाउने तर्क अघि सार्ने गरेको देखिन्छ । ‘यस्तो अवस्थामा नयाँ नयाँ च्यानल थप्नुको कुनै प्रयोजन र औचित्य देखिँदैन’ प्रतिवेदनमा सुझाव छ । 

एनटीभी कोहलपुरलाई क्षेत्रीय प्रसारण भनिएको छ तर सोझै स्याटेलाइटमा लिङ्क गरिएको छ । जुन कुरा युक्तिसङ्गत छैन । एनटीभी कोहलपुरको आर्थिक वर्ष २०७४/७५ को कुल आम्दानी पचास हजार रुपियाँ मात्र रहेको छ भने उसले स्याटेलाइटकै लागि मात्र वार्षिक करिब एक करोड रुपियाँ तिर्नुपर्छ । यो खर्च घटाएर बाँकी भागमा भू–सतही प्रसारण विस्तारमा लगानी गर्नु बढी युक्तिसङ्गत हुने समितिको प्रतिवेदनमा छ । 

उत्कृष्टताभन्दा पनि नाफाको उद्देश्य

हालका नेपाल टेलिभिजनका कार्यक्रम तथा सेवाहरू उत्कृष्टताको चेतनाले भन्दा नाफाको भावनाले निर्देशित हुने गरेको पाइएको छ । नेपाल टेलिभिजनसँग हाल चारवटा च्यानलहरू २४सै घन्टा प्रसारणमा रहेका छन् । तर यी च्यानलहरू च्यानल अवधारणा अनुसार चलेको पाइँदैन । नेपाल टेलिभिजनको राष्ट्रिय च्यानलकै समाचार महाशाखाले एनटीभी न्युजको पनि समाचार उत्पादन गर्नेगर्छ भने कार्यक्रम महाशाखाले एनटीभी प्लसका कतिपय कार्यक्रमहरू उत्पादन गर्ने गरेको छ । यसरी संस्थाको सङ्गठन संरचनामा च्यानल अनुसारको सङ्गठन तालिका फेला पर्दैन । नेपाल टेलिभिजनका दुई तिहाइ जति कार्यक्रमहरू व्यापारिक समूहले उत्पादन र प्रसारण गर्ने गरेको पाइएको छ । 

एनटीभी प्लस च्यानलको कुल प्रसारण समयमध्ये आन्तरिक उत्पादन २२ प्रतिशत र बाह्य उत्पादन ७८ प्रतिशत रहेको देखिन्छ । अझ अधिक दर्शक हुने प्राइम टाइम भनी छुट्याइएको बेलुकी ७ बजेदेखि १० बजेसम्मको समयको हिसाब निकाल्दा ८३ प्रतिशत समय बिक्रीबाट आएका बाह्य कार्यक्रम र १३ प्रतिशत आन्तरिक उत्पादन रहेको पाइएको छ  । बिक्री गरिएको समयमा बज्ने कार्यक्रमहरूको गुणस्तर निर्धारण गर्ने आधार र अधिकार दुवै नेपाल टेलिभिजनसँग नभएको पाइयो । 
 

फणिन्द्र नेपाल

फणिन्द्र नेपाल  नेपाली राजनीति क्षेत्रमा कलम चलाउँछन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ