केन्द्रीय संस्करण

आँखा रसिला तर ओठमा थियो मुस्कान !

person access_timeअसोज १, २०७५ chat_bubble_outline0

घाँटीमा विमलजीको क्यामरा भिरेर म मानसरोवर किनारमा ठिङ्ग उभिएको छु । चराहरुले सुकेका घाँस वा स–साना जराहरुलाई मिलाएर बलियो गरी बनाएका थुप्रै गुँड देखिएका छन् । तालको पानीमाथि केही चरा लहरै टुसुक्क बसिरहेका छन् । केही चरा चाहिँ कहिले एक्लै त कहिले हुलमा मिसिएर उडिरहेका छन् । 

कुशल चित्रकारको कुचीले कोरेको क्यानभासजस्तो त्यो काव्यात्मक दृश्यले म निकै शान्त, स्थिर र स्प्रिच्युअल भइरहेको थिएँ । अहो, आनन्दको आकाश अनि आकाशमुनि मानसरोवर किनारमा निमग्न एउटा मान्छे !

एउटा सेतो कुकुर कहाँबाट मेरै छेउ आइपुगेछ । ऊ पनि मजस्तै मग्न छ सायद । उसको कथा अर्कै थियो कि ? थाहा हुने कुरै भएन ।

एउटी आइमाई आई । उसको हातमा थाली थियो । थालीमा पूजा सामग्री ।

‘हेलो’, उसले सोधी, ‘आर यू तिब्बतीयन ?’

‘नो, आई एम नेपाली’, मैले भनेँ ।

‘टेक अफ योर क्यामरा’, कुनै कारण नखुलाई उसले एक्कासि आदेश दिई । 

‘ह्वाई ?’, मैले आश्चर्य प्रकट गरेँ ।

‘टेक अफ योर क्यामरा’, सामान्य स्वरमा उसले फेरि भनी ।

‘ह्वाई ?’, ममा आश्चर्य घटेको थिएन ।  

‘पूजा गर्न म तालमा जाँदैछु । केही गरी म त्यहाँ लडेँ भने मलाई बचाउन तिमी आउनुपर्छ’, त्यति भन्दै ऊ तालमा गई र अनेक भावभङीगसहित पूजा आराधना गरी । 

केहीबेरपछि उसले उज्यालो अनुहार बनाएर भनी, ‘अब तिमी तिम्रो क्यामरालाई सँगै राख्न सक्छौ । तिमीले मलाई बचाउनुपर्ने कुनै परिस्थिति नै रहेनछ । किनभने तालभित्र ढुङ्गा रहेनछ । मैले सोचेको थिएँ,

भित्र ढुङ्गा होला र चिप्लेर म लड्न पनि सकुँला ।’

‘तिमीले पूजा गरिरहँदा मैले तिम्रा फोटो खिचेको छु । यदि तिमीलाई यसमा आपत्ति छ भने म ती फोटो मेटाइदिन्छु’, सरोवर किनारमा फर्किएकी उसलाई भनेँ ।  

‘खोई देखाऊ त’, ऊ जिज्ञासु भई ।

मैले देखाइदिएँ । 

‘आहा ! कृपया, यी फोटो मलाई पठाइदेऊ है !’ उसले मलाई वाट्सअप र इमेल दिई । उसको इमेल पनि अचम्मको रहेछ ! इमेल... एट याहु डट कम । 

इमेल शब्द समेटिएको त्यो पहिलो इमेल आईडी थियो, मेरो जानकारीमा । 

उसको अङ्ग्रेजी मात्र होइन, हिन्दी पनि र स्वरसमेत निकै मीठो रहेछ । 

सोधेँ, ‘कहाँ से हे आप ?’

‘यूएस’, उसले स्वरलाई दर्बिलो पारेर भनी ।     

उसले मेरो नाम सोधी ।

‘अशोक’, मैले भनेँ ।

‘ओ ! अशोक इज माई हज्बेन्ड नेम टु’, उसले श्रीमानलाई निकै गर्वसाथ सम्झेझैँ गरी भनी, ‘बट्, ओ अभी यहाँ नहीँ है, ही इज इन यूएस ।’ 

मैले तत्कालै भनिदिएँ, ‘तिमी भाग्यमानी रहिछौ । तिम्रो पति यूएसमै भए पनि तिम्रै पतिको नाम भएको मान्छे यतिबेला तिमीसँग तिब्बतको मानसरोवरमा गफिइरहेको छ ।’

ऊ मुस्कुराई तर फोटो हेर्दाको जस्तो प्रशन्नता थिएन उसको मुहारमा । म हाम्रो टोलीको विशेष पूजा आयोजना भएतिर लागेँ, ऊ आफ्नो बाटो लागी । 

साँझ दार्चेनमा फेरि ऊसँग भेट भयो । मैले उसलाई मुस्कान दिएँ । उसले गह्रौँ गरेर थोरै मुस्कान फर्काई । दार्चेनमा झैं देरापुकमा हामी फेरि एउटै होटलमा प¥यौं । त्यहाँ न म ऊसँग मुस्काएँ, न त ऊ नै मसँग मुस्काई । 

ऊ विभिन्न देशका यात्री सम्मिलित समूहमा आएकी रहिछ । युरोपियन वा अमेरिकन अधबंैसेसँग निकै लामो गफगाफ र बीचबीचमा रगडारगडी खालको हगमा व्यस्त देखिन्थी ऊ । तिब्बतमा सायद उसले ‘आफ्नै अशोक’लाई फिजिकल्ली निकै मिस गरिरहेकी थिई !

उफ, म पनि बित्थामा किन अर्काको चियोचर्चा र चिन्ता गर्दै छु ! फर्किऊँ मानसरोवरमै ।

सरोवर किनारमा मेरा सहयात्रीहरु विशेष पूजामा व्यस्त थिए । होम चलिरहेको थियो । ‘ऊँ नम  शिवाय’ मात्र होइन, अनेकानेक मन्त्रोचारण ननस्टप थियो । युगौँदेखिको तपस्यालाई विसर्जन गर्ने विशेष क्षणजस्तो, युगौंदेखिको मनोकामना पूरा भएको क्षणजस्तो समय थियो त्यो । 

मानसरोवरमा स्नान गर्दा सयौं जुनीको पापबाट मुक्ति पाइन्छ भन्ने विश्वासहित उनीहरुले स्नान गरेका थिए । त्यसपछि सुरु भएको यज्ञमा शिवका मन्त्रोच्चरणका साथै सघन हवन भइरहेको थियो । 

यात्रीहरु आआफ्ना  मनोकामनापत्र यज्ञमा अर्पण गर्दै थिए । आफ्नो मात्र नभई आफन्तले पठाएका पत्रहरु पनि यात्रीहरुले अर्पण गरिरहेका थिए । 

मैले एउटा पत्रका केही हरफ पढ्न भ्याएँ । त्यहाँ केही कन्फेसन थियो र मुक्तिको याचना । तर एक यात्रीले मलाई रोक्दै भन्यो, ‘यो त शिवलाई पठाइएको गोप्य पत्र हो । अरुले पढ्न हुँदैन ।’ उनीहरु अनेक बहुमूल्य सामग्री र सिक्काहरु पनि यज्ञमा चढाउँदै थिए ।

 

यात्रीहरुका गलेका शरीर निकै अथकित देखिन्थे । उज्यालो मिसिएको उनीहरुको गम्भीर अनुहार त्यसैत्यसै चम्केका थिए । मलाई पनि बेग्लै अनुभव भइरहेको थियो । 

म आँखा चिम्लेर नमस्कार मद्रामा गएँ । सुरुमा शून्य थियो । त्यसपछि मैले मेरो जीवनसँग जोडिएका थुप्रै घटना, परिवेश र मानिस सम्झें । 

 

जीवनका उज्याला र अध्याँरा सम्झेँ । तर, कसैप्रति कुनै पूर्वाग्रह आएन । सबैको भलाइको कामना गर्ने प्रयत्न गरेँ । एक एक गरेर धेरैलाई सम्झेँ । मानिसलाई सम्झेँ । प्राणीलाई सम्झेँ । प्रकृतिलाई सम्झेँ । अन्त्यमा ब्रह्माण्डलाई सम्झेँ । र मागेँ ‘ह्याप्पिनेस अफ युनिभर्स’ त्योभित्र सबै अटाउँथे । म त अटाउने नै भएँ । 

मन हलुका भयो । मेरो आँखाबाट आँशु बगिरहेको थियो । तर त्यो निकै शीतल थियो । सायद त्यो मानसरोवरको पवित्र जल थियो । 

उता, पूजा चलिरहेको थियो । त्यो क्रम घन्टौँ चल्यो । कसैलाई समयको मतलब थिएन । पूजा सकिएपछि हामी केहीले काठका ससाना घोचाले तातो खरानी खोतल्दै अघि यज्ञमा हवन गर्दा चढाइएका सिक्का खोज्न थाल्यौँ । त्यो सिक्कामा गुड लक हुन्छ भन्ने विश्वास रहेछ । 

 

मैले पनि एउटा सिक्का पाएँ । तर त्यो डढेर निकै कालो भइसकेको थियो । अलि चिसिएपछि ज्याकेटमा कालो लाग्ला भन्ने चिन्ता नगरी मैले त्यो सिक्कालाई जतनले ज्याकेटको भित्री खल्तीमा हालेँ ।

दिउँसोको झन्डै १ बजिसक्दा समेत कसैले भोक लाग्यो भनेको सुनिएन । पूजा सकिएपछि पनि यात्रीहरु अङ्कमाल गर्नमै व्यस्त थिए । एकअर्कालाई बधाई दिएका दियै थिए । 

विमलजीले दिएको रुद्राक्षको माला लगाएर यात्रीले शिव–पार्वतीको पुकारा गरे । पण्डितजीले खैँजेडी बजाउँदै शिवभजन गाए । कोही यात्री नाचे, कोहीले ताली बजाए, कोहीले पण्डितजीको स्वरमा स्वर मिलाए । म ती सब शिवमण्डित घटनाको फोटो खिचिरहेको थिएँ ।

सबैजसो यात्रीका आँखा रसिला थिए । ओठमा अनमोल मुस्कान थियो ।

तिलक, नैवेद्य–प्रसादीले पवित्र भएर हामी पावन मानसरोवर किनारको होटल फर्कियौं । नेपाली किचन ब्वाइहरुले हाम्रा लागि अनेक परिकार तयार गरी खुला टेबलमा सजाइसकेका रहेछन् ।

भारतीय उपमहाद्वीपका इन्दुस, गङ्गा, सतलज र ब्रह्मपुत्रको स्रोत मानिएको मानसरोवरमा शिव पूजापछिको पेट पूजा कम्ता स्वादिलो थिएन । 

हामी मानसरोवरबाट कतिको उच्चारणमा धार्चेन, कतिको उच्चारणमा तार्चेन र अरु कतिको उच्चारणमा दार्चेनका लागि बसमा बसेका मात्र के थियौँ, मुसलधारे पानी पर्न थाल्यो । 

पूजा अवधिभरको वर्षाविनाको विशेष समयलाई सम्झँदै यात्रीहरुले शिवलाई धन्यवाद दिए । 

बालाले स्वर उँचो पार्दै भन्यो, ‘वी आर ब्लेस्ड बाई लर्ड शिव । इट वाज प्रुभ्ड् ।’

‘ऊँ नम शिवाय’, एक छिनमा एक्कासि फेरि ऊ करायो ।

सबैले फेरि कोरसमा थपे, ‘ऊँ नम शिवाय ।’  

तिब्बतीयन गीत फेरि सुरु भयो । गीतको लयमा ड्राइभर अगाडिको सिसामा वाइफर लगातार नाच्न थाल्यो । तिब्बती पठारको फराकिलो छातीमा गाडी सडकैसडक सलल बगिरहेको थियो– राता चिनियाँ झन्डाहरु, रातो रङका ठुल्ठुला गेटहरु, इँटा आकारका मरुभूमि रङका ससाना तिब्बती घरहरु, अनेकानेक रङका असङ्ख्य ससाना पहाडहरुलाई पछाडि छोड्दै । 

अन्ततः हामी साँझमा दार्चेन पुग्यौँ । सानोतिनो बजारजस्तो दार्चेनका क्युरियो सपहरु सुन्दर थिए । त्योभन्दा सुन्दर थियो लक्की नम्बरको  मेरो कोठा । कोठा नम्बर ८२११ ।    

 

यो पनि पढ्नुहोस्

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ