शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राज्यले नै दिन्छ ‘अपराधी’लाई हतियार !

बुधबार, १३ असार २०७५, १२ : ०६
बुधबार, १३ असार २०७५

हतियार कि प्रहरी र सेनाले राख्छन् कि त सुरक्षा खतरा भएमा व्यापारी र वरिष्ठ व्यक्तिहरूले । सेना र प्रहरीबाहेक अरू कसैले हतियार राख्छ भने त्यो लाइसेन्स लिएर नै राख्नुपर्छ । यद्यपि अहिले पनि बजारमा लाइसेन्स लिएर मात्रै होइन, लाइसेन्स नलिईकनै पनि साना हतियार राख्नेहरूको सङ्ख्या धेरै छ । यद्यपि कानुनतः त्यो अपराध हो । 

अवैधरूपमा हतियार राख्ने यस्ता अधिकांश व्यक्तिहरू गुण्डा, तस्कर, आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति, ठेक्कापट्टामा संलग्न व्यक्ति र व्यापारीहरू रहेका छन् । तर केही यस्ता व्यक्ति पनि छन्, जो आपराधिक गतिविधिमा संलग्न भएर पनि लाइसेन्सवाला हतियार बाकेर हिँड्छन् । प्रहरीको रेकर्डमा क्रिमिनल रेकर्ड भए पनि उनीहरूसँग अझै लाइसेन्सवाला हतियार छ । केही यस्ता व्यक्तिहरू पनि छन्, जो जेलमा भएर पनि उनीहरूसँग हतियार छ । 

यसरी लिइन्छ हतियारको लाइसेन्स

सर्वसाधरण व्यक्तिले हतियार राख्नका लागि गृह मन्त्रालयले स्वीकृति दिनुपर्छ । सुरुमा हतियार राख्नुपर्ने कारणसहितको निवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्छ । जुन जिल्लाबाट हतियारको लाइसेन्स लिने हो, त्यस जिल्ला प्रशासन कार्यालयमा हतियार राख्न पाउनुपर्ने कारणसहितको निवेदन दिएपछि जिल्लामा सुरक्षा समितिको वैठक बस्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला सुरक्षा समितिले हतियारको आवश्यकता भएको वा नभएको निर्णय गरेपछि आवश्यक देखिएमा गृह मन्त्रालयमा फाइल पठाउँछ । गृह मन्त्रालयले स्वीकृति दिएमा बल्ल उक्त व्यक्तिले विदेशबाट सोझै हतियार खरिद गर्न सक्छ । 

त्यसबाहेक पहिले नै हतियार ल्याइसकेका व्यक्तिले नामसारी गरेर पनि कुनै व्यक्तिलाई हतियार दिन सक्छ । हतियार लिन चाहने व्यक्तिको चालचलन ठीक रहेको प्रहरी प्रतिवेदन आएपछि जिल्ला प्रशासन कार्यालयले नामसारीका लागि स्वीकृत दिनसक्छ । त्यसपछि उक्त व्यक्तिले नामसारी गरेर हतियार लिन सक्छ । 

अभियुक्त र अपराधीसँग पनि वैधानिक हतियार

सामान्यतः सुरक्षा खतरा भएको व्यक्तिलाई जिल्ला सुरक्षा समिति वा गृह मन्त्रालयको निर्णयका आधारमा मात्रै हातहतियार राख्ने वा प्रयोग गर्ने लाइसेन्स दिइन्छ । हतियार राख्ने लाइसेन्स पाउनका लागि उक्त व्यक्तिको चालचलन ठीक भएको, पहिले कुनै फौजदारी अभियोग प्रमाणित नभएको वा नलागेको व्यक्ति हुनुपर्छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा क्लिन देखिनुपर्छ । पहिले क्लिन देखिएर हतियारको लाइसेन्स दिए पनि पछि क्रिमिनल रेकर्ड देखिएमा त्यस्ता व्यक्तिको हतियार जफत गर्नुपर्छ र त्यो अधिकार जिल्ला प्रशासन कार्यालयलाई छ । तर पनि केही अभियुक्त र अपराधीले अझै पनि आफूसँग लाइसेन्सवाला हतियार राखिरहेका छन् । 

जेलमा रहेका रेशम चौधरीसँग लाइसेन्सवाला हतियार

नेपाल प्रहरीका एसएसपीसहित ७ जनाको हत्या भएको टिकापुर हत्याकाण्डका मास्टरमाइन्डका रूपमा आरोपित रेशम चौधरीसँग अझै पनि लाइसेन्सवाला हतियार भएको रेकर्ड देखिन्छ । चौधरीले २०६७ साल चैत ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आफ्नो नाममा हतियारको नामसारी गराएका छन् । मानपुर ८ दाङ स्थायी घर भई सानोभर्याङ बस्ने सुमन शाहको नाममा रहेको १२९८४ नम्बरको इजाजतपत्रबाट नामसारी गरी चौधरीले १२९९६ नम्बरको इजाजत प्राप्त गरेका छन् । साविकको दुर्गौली–९, कैलालीका चौधरीलाई कस्तो प्रकारको सुरक्षा खतरा थियो र उनले किन हतियार किने केही खुलाएइका छैनन् । यद्यपि प्रहरीको सामान्य रिपोर्टका आधारमा सुमन शाहले चौधरीलाई हतियार बेचेका छन् र जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नामसारीका लागि स्वीकृति दिएको छ । 

चौधरीले त्यो हतियारको प्रयोग गरे वा गरेनन्, त्यो हतियार हाल कहाँ छ ? केही उल्लेख गरिएको छैन । यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंको रेकर्डमा १२९९६ को इजाजतपत्रमा अझै पनि रेशमलाल चौधरीकै नाम उल्लेख छ ।

टिकापुर हत्याकाण्डमा चौधरीलाई मास्टरमाइन्डका रूपमा आरोपित गरिएको छ । हत्याकाण्डमा आक्रमणकारीले हतियारको पनि प्रयोग गरेको आरोप लगाइएको छ । चौधरी यतिबेला पुर्पक्षका लागि थुनामै छन् । तर पनि उनीसँग अझै हतियार रहेको रेकर्डमा देखिन्छ । 

४ मुद्दाका आरोपी यमबहादुर थापा (अरुण)का नाममा स्वचालित हतियार !

साविकको ताक्लुङ ३, गोरखाका यमबहादुर थापाको नाममा अहिले पनि ४ वटा मुद्दा विचाराधीन छन् । प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा थापाको नाममा २०५७ सालदेखि आतङ्ककारी गतिविधिमा संलग्न भएको मुद्दा छ ।  २०५७ सालदेखि प्रहरीको रेकर्डमा आपराधिक गतिविधिमा संलग्न देखिएका थापाले २०६८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हतियारको लाइसेन्स लिएका छन् । 

थापाले प्रज्ञा गौचनबाट जर्मनीमा बनेको जीएस फाइभ नामक २२ बारेको स्वचालित हतियार खरिद गरेका थिए । यो हतियार नेपालमा स्वकिृति दिइएको सबैभन्दा शक्तिशाली हतियार हो । 

यो हतियार अरूभन्दा छोटो छ र यसलाई फोल्ड गर्नसमेत सकिन्छ । यस हतियारमा २२ वटा म्यागाजिन एकै पटक लोड गर्न सकिन्छ । पछिल्लो दिनमा नेपालमा आएको लाइसेन्स लिने हतियारमा यो नै सबैभन्दा लेटेस्ट हतियार हो । 

यो हतियार नेपाल आइपुग्दा करिब ३ लाख पर्छ । तर आपराधिक गतिविधिमा संलग्नहरूले यस्ता हतियारलाई १० लाखसम्म हालेर किन्ने गरेका छन् । थापाले यो हतियार करिब ८ लाख नेपाली रुपियाँमा किनेका थिए ।

यमबहादुर थापा २०७० साल वैशाख ३ गते बालाजुस्थित आफ्नै डेराबाट पक्राउ परे । थापासँगै एलिसा गुरुङ पनि पक्राउ परिन् । कारण उनले अवैध हतियार लुकाएर राखेको आरोप लाग्यो । उनी केही समय पुर्पक्षका लागि थुनामा समेत गए । तर पछि राजनीतिक शक्ति प्रयोग गरेर उनी जेलमुक्त भए । 

कुनै समय रिक्साबाट फोहोरमैला सङ्कलन गर्ने अरुण भन्ने थमबहादुर थापा अहिले २० करोडभन्दा बढी सम्पत्तिका मालिक छन् । अहिले विभिन्न रेस्टुरेन्ट, दोहोरी साँझ तथा जग्गामा थापाको लगानी रहेको छ । गोंगबुमा निलकमल दोहोरी साँझ सञ्चालन गरिरहेका थापा गुण्डागर्दी र लुटपाटमा संलग्न भएको भन्दै प्रहरीमा उजुरीसमेत परेको थियो । यद्यपि त्यो उजुरी भने पछि फिर्ता लिइयो ।

केही समयअघि दोहोरी साँझमा ग्राहकले पैसाको विषयमा विवाद गरेपछि थापाले लाइसेन्सवाला हतियार देखाउँदै उडाइदिने धम्कीसमेत दिएका थिए । त्यसपछि ग्राहक प्रहरीको सम्पर्कमा पुगेपछि थापा अमेरिका गएका थिए । यद्यपि केही दिनअघि मात्रै थापा नेपाल आएका छन् । आचारण सफा नदेखिए पनि र विभिन्न आपराधिक गतिविधिमा संलग्न भए पनि थापाको लाइसेन्सवाला हतियार अझै खोस्न सकिएको छैन । उनी आफ्नो गाडीमा स्वचालित हतियार राखेर हिँडिरहेका छन् ।

मूर्ति तस्कर तेजबहादुर गुरुङसँग अझै वैधानिक हतियार

साविकको ताकुकोट–७ गोरखा घर भएका तेजबहादुर गुरुङ यतिबेला जेलमै छन् । मूर्ति चोरी र तस्करीमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले २०६९ साल असार १० गते गुरुङविरुद्ध मुद्दा चलाएको थियो । सुनको मूर्ति बेच्ने भन्दै कृष्णबहादुर विकसँग ५० लाख लिएका उनले मूर्ति वा पैसा दुवै नदिएपछि विककै जाहेरीमा गुरुङलाई पक्राउ गरियो । अनुसन्धानका क्रममा गुरुङ मूर्तिको तस्करीमा संलग्न रहेको भेटिएपछि उनी यतिबेला थुनामै छन् । 

गुरुङ थुनामै भए पनि गुरुङको साथमा पनि अझै लाइसेन्सवाला हतियार रहेको तथ्याङ्क छ । गुरुङले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०६८ साल चैत १३ गते हतियारको लाइसेन्स लिएका थिए । गुरुङले १२ बोरको बन्दुक र त्यसमा लाग्ने १ सय थान गोली नामसारी गरी खरिद गरेका थिए । तर गुरुङ जेलमै रहे पनि उनको नाममा रहेको बन्दुक र त्यसमा प्रयोग हुने गोली कहाँ छ, कुनै रेकर्ड छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार अझै पनि गुरुङको नाममा हतियार कायम रहेको देखिन्छ ।

गृह मन्त्रालयसँगै नै छैन हतियारको यकिन तथ्याङ्क

हातहतियारको लाइसेन्स वितरण गर्नेदेखि नामसारी गर्ने र ल्याउन स्वीकृति दिने काम गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको हो । तर अचम्म त के छ भने गृह मन्त्रालयसँग नै देशभर कति हतियारको लाइसेन्स वितरण गरिएको छ भन्ने यकिन तथ्याङ्क नै छैन । जिल्ला प्रशासन कार्यालयहरूको रेकर्ड म्यानुअल भएकाले लगतकट्टाको रेकर्डसमेत एकीकृत छैन । जसका कारण गृह मन्त्रालयसँग कुन कुन व्यक्तिसँग हतियार छ र कहाँ, कसरी राखिएको वा प्रयोग भएको छ भन्ने जानकारी नै छैन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने जिल्ला प्रशासन कार्यालयहरूसँग यसको तथ्याङ्क रहेको दाबी गर्छन् । हतियारको लाइसेन्स वितरण भएका सबै जिल्लामा रहेनेको रेकर्ड रहेको भन्दै डिजिटल डाटा भने नभएको उनी बताउँछन् । हतियारको नामसारी वा दर्ता गर्दा व्यक्तिको सम्पर्क नम्बर नराख्ने गरिएकाले लाइसेन्सवाला व्यक्तिलाई तत्काल सम्पर्क वा पक्राउ गर्न भने समस्या हुने गरेको सुवेदी बताउँछन् । यद्यपि गृह मन्त्रालयले हतियारको लगतलाई व्यवस्थित बनाई हतियारको लाइसेन्स दिने सम्बन्धमा पुनरावलोकन गर्ने तयारी भइरहेको उनी बताउँछन् ।

यो पनि पढ्नुहोस्

काठमाडौंमा छन् १३ हजार बढी बन्दुकधारी, ‘डन’ र तस्करसँग पनि ‘लाइसेन्सवाला’ हतियार !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप