शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा छन् १३ हजार बढी बन्दुकधारी, ‘डन’ र तस्करसँग पनि ‘लाइसेन्सवाला’ हतियार !

मङ्गलबार, १२ असार २०७५, १२ : ५४
मङ्गलबार, १२ असार २०७५

काठमाडौं–जनतालाई सुरक्षा दिनु राज्यको कर्तव्य हो । जुनसुकै व्यक्ति सुरक्षित तबरले हिँडडुल गर्न पाउनु उसको अधिकार पनि हो ।

तर सुरक्षा खतरा भएको भन्दै वर्षौंदेखि लाइसेन्स लिएर हतियार राख्ने र प्रयोग गर्ने गरिरहेका छन् । काठमाडौँ जिल्लाकै तथ्याङ्क हेर्ने हो भने करिब १४ हजार थान हतियार लाइसेन्स लिएर राखिएको छ ।
यद्यपि सरकारसँग यो हतियारको बाहक को हो ? उनको सम्पर्क नम्बर कति हो ? के गर्छन् ? आदिबारे सामान्य जानकारीसमेत राखिएको छैन ।

सुरक्षा खतरा भएका व्यक्तिहरूलाई व्यक्तिगत हतियार राख्न दिने नीति भए पनि कतिपयले ‘शान’का लागि हतियार राखेका छन् कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको लाइसेन्स र नामसारी गराएका छन् ।

तर कतिपय व्यक्तिले भने ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि पनि लाइसेन्स लिएर हतियारको प्रयोग गरेको प्रहरीले भेट्टाएको छ ।

खारेज नम्बर १ : गुण्डा नाइके बले भन्ने बलराम सापकोटाको हतियार जफत

कुनै समय चरी भनिने दिनेश अधिकारीसँगै क्यासिनोमा लगानी गर्ने र चर्को ब्याज असुल्ने सामान्य गुण्डा बलराम सापकोटा, पछिल्लो समय ठूलै डन बने । क्यासिनोमा जुवा खेल्न आउनेहरूलाई रकम लगानी गर्ने र एक दुई महिनामै साँवा बराबर ब्याज उठाउने सापकोटालाई क्यासिनो किङ पनि भन्ने गरिन्छ । पहिलो चर्को ब्याज लिनेगरी रकम लगानी गर्ने र रकम फिर्ता नगरेमा हतियार देखाएर आतङ्कित बनाउने तथा हतियार देखाएरै धम्क्याउने उनको दैनिकी बन्न थाल्यो । लाइसेन्सवाला हतियारको आडमा गुण्डागर्दी गर्न थालेपछि गुण्डागर्दीका कैयौँ शृङ्खलामा मुछिएका यिनै बलराम सापकोटाको हतियार जफत गर्न केही दिनअघि महानगरीय अपराध महाशाखाले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी पठायो ।

सापकोटाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दर्ता नम्बर १३०६३ बाट २०६८ साल पुस २७ गते १ सय थान गोलीसहित २२ बोरको बन्दुक एक थान र १२ बोरको बन्दुक एक थान लिएका थिए । तर उनले लाइसेन्सवाला हतियारको आडमा गुण्डागर्दी गरेको भन्दै उनको हतियार जफत गर्ने निर्णय भयो । तर अपराध महाशाखाले सुरुमा सापकोटाको साथमा रहेको दुईवटा हतियारमध्ये १२ बोरको एउटा हतियार मात्रै दाखिल खारेज गर्न लेखी पठायो । किनभने सापकोटाले प्रहरीलाई दिएको बयानमा आफूसँग एउटा मात्रै हतियार रहेको बताएका थिए । जसका कारण प्रहरीले पनि सापकोटाको साथमा रहेको दुईवटा मध्ये एउटा हतियार मात्रै जफत गरी दर्ता खारेज गर्न पत्र पठायो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंको रेकर्डमा सापकोटाको साथमा दुईवटा हतियार रहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सापकोटाको साथमा रहेको १२ बोर र २२ बोरको दुईवटै हतियारको दर्ता खारेज गरायो ।

खारेज नम्बर २ : रघुनाथ पुरीको हतियार जफत
अपराध महाशाखाले बलेको हतियार नियन्त्रणमा लिई दर्ता खारेज गर्ने निर्णय गरेकै दिन म्यानपावर व्यवसायी रघुनाथ पुरीको हतियार पनि जफत गर्ने निर्णय ग¥यो । द रिभर ओभरसिज तथा देवान कन्सल्ट्यान्ट प्राइभेट लिमिटेड नामक म्यानपावर संस्था चलाइरहेका डाँगीहाट–१ मोरङका पुरीले लाइसेन्सवाला हतियारको आडमा गुण्डागर्दी गरेको प्रहरीको आरोप छ ।

वैध हतियारको आडमा अवैध गतिविधि गरेको, हतियार देखाई धम्क्याएको तथा तर्साएको, विदेश गएर विविध कारणले फर्काइएका कामदारले क्षतिपूर्ति माग गर्दा हतियार देखाएर धम्क्याउने गरेको उजुरी परेपछि प्रहरीले पुरीको गतिविधिमा निगरानी राख्यो र, आरोप सत्य सावित भएपछि पुरीले प्रयोग गर्दै आएका इजाजत प्राप्त नम्बर १३१२७ को २२ बोरको बन्दुक र त्यसमा लाग्ने २ सय थान गोली बरामद ग¥यो ।

खारेज नम्बर ३ : वीरेन्द्रलाल श्रेष्ठको २२ बोरको हतियार जफत
उग्रचण्डी–२, काभ्रे स्थायी ठेगाना भएका वीरेन्द्रलाल श्रेष्ठको देखाउने पेसा जग्गा व्यवसाय हो । तर उनी मिटर ब्याजीका रूपमा कुख्यात छन् । जुवा खेल्ने र खेलाउने तथा अवैध गतिविधिमा संलग्नलाई रकम लगानी गरी ३६ देखि ६० प्रतिशतसम्म ब्याज खाने वीरेन्द्रलाल श्रेष्ठले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०६७ भदौ १५ गते हतियारको लाइसेन्स लिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२७१७ नं को इजाजतमा श्रेष्ठले २२ बोरको बन्दुक र त्यसमा लाग्ने १ सय थान गोली प्रयोग गर्न वैधता लिए ।

लाइसेन्सवाला हतियार लिएका श्रेष्ठले यही हतियारको आडमा कैयौँ पटक धाक धम्की दिँदै गुण्डागर्दी गरेको उजुरी प्रहरीसँग छ । प्रहरी त श्रेष्ठलाई मिटर ब्याजी मात्रै होइन, किलोमिटर ब्याजी नै भन्छ । श्रेष्ठले आफूले पाउनुपर्ने पैसा नपाएको भन्दै ५ पटकभन्दा बढी उक्त बन्दुकबाट फायर खोलेको पनि प्रहरकिो दाबी छ । यद्यपि श्रेष्ठले लिएको १ सय थान गोली भने अझै प्रयोग भएको देखिँदैन । हतियारको आडमा गुण्डागर्दी गरेको भन्दै प्रहरीले श्रेष्ठको साथमा रहेको हतियार पनि जफत गर्ने निर्णय ग¥यो र जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रेष्ठको नाममा रहेको हतियार जफत गर्यो ।

खारेज नम्बर ४ : काजी भनिने आङ्काजी शेर्पाको हतियार जफत
कुनै समय गुण्डागर्दीमा विख्यात सोलुखुम्बुका आङ्काजी शेर्पाको नाममा रहेको हतियार पनि यतिबेला प्रहरीको नियन्त्रणमा छ । पहिले गुण्डागर्दी गरी राम्रो आम्दानी गरेका शेर्पा पछिल्लो समय ठेक्का पट्टामा सामेल भए । हाल क श्रेणीको ठेकेदार बनेका शेर्पाले ४० जिल्लाका विभिन्न ठेक्कामा हात हालेका छन् । ठेक्कापट्टामा गुण्डागर्दी गर्दै आएका शेर्पाले विभिन्न व्यक्तिलाई धम्काएको, ठेक्का हात पार्न हतियारको प्रयोग देखाएको तथा अन्य कुनै व्यक्ति ठेक्का हाल्न जान खोजेमा ‘गोलीले उडाइदिन्छु’ भन्दै रोक्ने काम काजी शेर्पाले गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १३१०८ नम्बरको लाइसेन्स लिएर शेर्पाले हतियार प्रयोग गर्र्दै आएका थिए । उनलाई सुरक्षा खतरा नभए पनि धम्काउनकै लागि हतियार लिएका थिए । तर हतियारको गलत प्रयोग गरेको भेटिएपछि प्रहरीले २०७५ साल जेठ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्दै काजी भनिने आङ्काजी शेर्पाको नाममा रहेको हतियारको दर्ता खारेज गर्न पत्र लेख्यो । प्रहरीको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शेर्पाको लाइसेन्स पनि खारेज गरिदियो ।

खारेज नम्बर ५ : सुन तस्कर भुजुङ गुरुङको हतियारको दर्ता खारेज


गुण्डागर्दीमा संलग्न बलराम सापकोटा उर्फ बलेको मात्रै होइन, ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मुछिएका अभियुक्त भुजुङ गुरुङको साथमा रहेको दर्ता नम्बर १२२६० को १२ बोरको बन्दुकको पनि दर्ता खारेज गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्यो । गृहको पत्र बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले भुजुङ गुरुङको नाममा रहेको हतियारको दर्ता खारेज गरिदियो र यो हतियार यतिबेला प्रहरीको नियन्त्रणमा छ ।

काठमाडौँबाट मात्रै १३ हजार बढी हतियारको लाइसेन्स
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार हालसम्म काठमाडौँबाट मात्रै १३ हजार ३ सय ९० जनाले लाइसेन्स लिएर हतियार राखेका छन् । कतिपय व्यक्तिले ३ वटासम्म हतियार राखेकाले हतियारकै सङ्ख्या हेर्ने हो भनेकरिब १५ हजार हतियार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मात्रै जारी भएका छन् । यी हतियारहरू नयाँ आयातदेखि नामसारी गरी ल्याइएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क म्यानुअल भएकाले १३ हजारभन्दा बढी हतियारको डाटा एकै पटकमा ल्याउन सकिँदैन । फाइलमा नाम उल्लेख गरिए पनि यी सबै तथ्याङ्क एकै पटक खोज्न सकिँदैन ।

हतियारको लाइसेन्स लिएका मध्ये केही व्यक्तिको दर्ता खारेज पनि भएको छ । तर दर्ता नम्बरका आधारमा तथ्याङ्क हेर्ने हो भने कसको दर्ता खारेज भयो वा भएन भनेर हेर्न सकिए पनि नामका आधारमा खोज्न भने ज्यादै मुस्किल छ । यदि गृह मन्त्रालय वा प्रहरीले कुनै व्यक्तिको नाममा हतियारको लाइसेन्स जारी भएको छ कि छैन भनेर खोज्न खोज्यो भने त्यो तथ्याङ्क खोज्न महिनौँसम्म लाग्न सक्छ ।

उपत्यकामा १४,३५६ जनासँग लाइसेन्सवाला हतियार

लाइसेन्स लिएर हतियार राख्ने अधिकांशले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट हतियारको लाइसेन्स लिएका छन् । काठमाडौंबाहेक ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ९ सय १६ जनाले हतियार राख्ने लाइसेन्स लिएका छन् । ललितपुरबाट लाइसेन्स लिने ९ सय १६ जनामध्ये केही व्यक्तिले ३ वटासम्म हतियार राखेका छन् । जसको कारण ललितपुरबाट १ हजार १ सय ९८ वटा हतियारलाई लाइसेन्स प्रदान गरिएको छ ।

उपत्यकाकै अर्को जिल्ला भक्तपुरबाट भने हालसम्म जम्मा ५० वटा मात्रै हतियारको लाइसेन्स प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार सुरुवातदेखि हालसम्म मात्र ५० वटा हतियारको लाइसेन्स प्रदान गरिएको छ ।

किन र केका लागि राखिन्छ हतियार ?

आफूलाई सुरक्षा खतरा महसुस भएमा सुरुमा जिल्ला सुरक्षा समितिबाट निर्णय गराई सोको जानकारी गृह मन्त्रालयमा पठाइन्छ । त्यसपछि सुरक्षा खतरा महसुस गरेको व्यक्तिले हतियार ल्याउनका लागि गृह मन्त्रालयमा निवेदन दिइन्छ । गृह मन्त्रालयले उक्त व्यक्तिलाई सुरक्षा खतरा रहेको यकिन गरेमा त्यस्ता व्यक्तिलाई विदेशबाट हतियार ल्याउनका लागि अनुमति दिइन्छ । त्यसपछि मात्र उक्त व्यक्तिले विदेशबाट हतियार ल्याउन पाउँछ ।

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिलाई सुरक्षा खतरा रहेको यकिन नगरेमा त्यस्ता व्यक्तिलाई हतियार ल्याउने वा राख्ने अनुमति नदिन पनि सक्छ ।

नामसारीका नाममा हतियारको व्यापक चलखेल

कतिपय व्यक्तिका चालचलन र गतिविधि शङ्कास्पद देखेमा वा सुरक्षा खतरा महसुस नगरेमा गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई हतियार ल्याउने वा राख्ने अनुमति नदिन पनि सक्छ । गृह मन्त्रालयले अनुमति नदिएपछि यस्ता व्यक्तिहरू हतियारको खोजी गर्दै पहिले नै हतियार लिइसकेका व्यक्तिहरूलाई सम्पर्क गर्न पुग्छन् ।

नयाँ हतियार ल्याउन गृह मन्त्रालयको अनुमति चाहिने भए पनि पहिले नै लाइसेन्स प्राप्त हतियारको प्रयोग गर्न नामसारी मात्रै गरे पुग्छ । प्रहरीको चालचलनको रिपोर्ट र डाक्टरले शारीरिक तथा मानसिक अवस्था स्वस्थ रहेको रिपोर्ट दिएमा त्यस्ता व्यक्तिले सजिलै हतियारको खरिद गर्न सक्छन् । स्थानीय प्रहरी वा राजनीतिज्ञसँग निकट सम्बन्ध बनाई पछिल्ला दिनमा गुण्डा, तस्कर, व्यवसायी र ठेकेदारहरूले वैध हतियारको प्रयोग गर्न थालेका छन् । सबैभन्दा बढी वैध हतियार गुण्डा, तस्कर र ठेकेदारसँग रहेको छ ।

कानुन भन्छ : लाइसेन्स भए पनि हतियार देखाउन पाइँदैन

कानुनतः लाइसेन्स लिएको भए पनि सार्वजनिक स्थानमा हतियारको प्रदर्शन गर्न पाइँदैन । हतियारको आडमा कसैलाई धम्क्याउन, तर्साउन पनि पाइँदैन  । तर गुण्डा, तस्कर, म्यानपावर व्यवसायी र ठेकेदारहरूले लाइसेन्सवाला हतियारको आडमा धम्क्याउने र तर्साउने गरिरहेका छन् ।

राज्यले कानुनमा संशोधन गर्न नसक्दा यस्ता हतियारको दुरूपयोग भइरहेको स्पष्ट छ । सरकार आफैसँग देशभर कति व्यक्तिले कति हतियारको लाइसेन्स लिएका छन् भन्ने यकिन तथ्याङ्क पनि छैन । जसका कारण प्रहरीलाई पनि आपराधिक घटना नियन्त्रणमा लिन कठिन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप