शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा बहस : काँग्रेसको चित्त दुखेकै हो ?

शुक्रबार, ०१ असार २०७५, १३ : ४४
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ– सत्तापक्ष र प्रतिपक्षका सांसदबीच संविधान र कानुन नमानेको विषयलाई लिएर एकअर्काबीच दोहोरी चल्न थालेको छ ।

बिहीबार काँग्रेस नेता तथा सांसद डा. मीनेन्द्र रिजालले सरकारले संविधानविपरीत आफ्ना गतिविधि गरिरहेको भन्दै संसदमा सरकारको आलोचना गरेपछि सत्तापक्षका सांसद योगेश भट्राईले ‘काँग्र्रेसले संसद छोडेर गए पनि केही फरक नपर्ने’ जवाफ दिएका थिए ।

सत्तापक्षका सांसदको जवाफपछि हामीले काँग्रेसका नेता डा. रिजाललाई तपार्इंहरूको चित्त दुखाइ चाहिँ के हो भनेर प्रश्न गरेका थियौँ ।

हाम्रो प्रश्नमा उनले सरकारले प्रतिपक्षका कुरै नसुनेको तथा संविधान विपरीत चल्न थालेकोमा काँग्रे्रेसको आपत्ति रहेको बताए ।

उनले प्रतिपक्षको धर्म निभाउँदा सत्तापक्षकै सांसदले प्रतिपक्षलाई ‘संसद छोडेर गए केही फरक पर्दैन’ भन्नु गैरजिम्मेवार एवम् संसदीय मूल्य र मान्यताविपरीत  भएको भन्दै आपत्ति जनाए । 

काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य डा. रिजालले सत्तापक्षका माननीयबाट यस्तो अभिव्यक्ति आउनु दुखद् भएको बताए ।

‘सरकारलाई संविधान र कानुनको पालना गर्नुपर्छ भनेर संसदमा प्रतिपक्षले ध्यानाकर्षण गराउँदा प्रतिपक्षलाई संसद नै छोडेर जा भन्नु अत्यन्त दुखद् कुरा होे, यसले जनतालाई खुशी तुल्याउँदैन र संसदीय मूल्यमान्यताभित्र पनि पर्दैन’, डा. रिजालले भने, ‘२०६५ सालमा पनि तत्कालीन माओवादीका सांसदबाट यस्तै अभिव्यक्ति आएको थियो । अहिले पनि त्यस्तै आयो, यसले राम्रो गर्दैन ।’

नेता रिजालले सरकार संविधान र नियमकानुन भन्दा माथि हुनै नसक्ने भन्दै संसदप्रति सरकार उत्तरदायी हुन नसकेकोमा काँग्रे्रेसको आपत्ति रहेको बताए । उनले भने, ‘सभामुख उपसभामुखको विषयमा संविधानमा के लेखेको छ ? यो संविधान र कानुनअनुसार सभामुख र उपसभामुख एक छाड्नुपर्ने होइन ? मन्त्री र प्रधानमन्त्रीले सडकमा जे बोल्यो, त्यसलाई कानुन मान्ने हो ?’ 

पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच सभामुख र उपसभामुखलाई लिएर विवाद हँुदै आएको छ । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दे प्रतिपक्ष काँग्रेसका सांसद डा. रिजालले सरकारले संविधानको भावनालाई हर स्थानमा कुल्चिँदै गएकाले नियम कानुन र संविधानको पालना गर्न ध्यानाकर्षण गराएका थिए । 

बिहीबार के भनेका थिए डा. रिजालले ?
–सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिँदै गएको छ । नियम कानुन र संविधानको पालना सरकारले पनि गर्नुपर्छ, पालना भएन भने काँग्रेस सडक सङ्घर्षमा जान बाध्य हुन्छ ।
–सरकारलाई नियम, कानुन र संविधानबाट बाहिर जाने अधिकार छैन ।
–सरकारका सबै निकायबाट धम्क्याउने, थर्काउने तथा खिसिट्युरी गर्ने काम भएको छ । यसरी दुई तिहाइको दम्भ देखाइए प्रतिपक्षी दलले त्यसको सशक्त प्रतिवाद गर्छ । 
–संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउँदा अग्रपङ्क्तिमा बसेकाहरूले नै अहिले सोही व्यवस्थाको गलत व्याख्या गर्ने काम भएको छ । संविधान बनाउँदा अग्रपङ्क्तिमा बसेर गरिएको व्यवस्थालाई दलीय जिम्मेवारीको बोधबाट गलत व्याख्या गर्नु उचित हुन्छ ? 
–संविधान कुल्चेर दुई तिहाइको दम्भले नभई संसदीय अभ्यासको अनुकरणीय काम गर्नुपर्छ ।
–ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आँखा लाग्यो भन्ने कुरा आएको छ, जग्गामा आँखा लाग्या हो कि के हो ?  प्रज्ञालाई यसरी आँखा लगाउन पाइँदैन, प्रज्ञालाई यसरी अपमान गर्न पाइँदैन । प्रज्ञा धेरै मिहिनेत साथ यहाँ पुगेको छ । २० लाख पर्यटक ल्याउँदा के देखाउने ? ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा लिएर २० तले भवन बनाउने व्यापारिक प्रयोजनका लागि ? अनि त्यसैका लागि पर्यटक ल्याउने ? सङ्गति त हुनुप¥यो नि मन्त्रालयका कामहरूमा । यस्ता असङ्गतिपूर्ण कामहरू नहोस्, अनुरोध गर्न चाहन्छु ।

मिनेन्द्र रिजालको प्रश्न : दलीय बोझबाट गलत व्याख्या गर्नु उचित हुन्छ सभामुख महोदय ?

रिजाललाई जवाफ

त्यसको भोलिपल्ट अर्थात शुक्रबार आज बिहान काठमाडौँमा भएको एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. रिजाललाई जवाफ दिँदै, ‘काँग्रेसले संसद छोडेर गए पनि केही फरक नपर्ने’ बताएका थिए । 

संसदीय मूल्य र मान्यताअनुसार प्रतिपक्षले सरकारका गलत कामकारवाहीमा खबरदारी गर्ने अधिकार राख्छ । तर पछिल्लो समय प्रतिपक्षका आवाजलाई सत्तापक्षले कुरै नसुन्ने गरेको भन्दै काङ्ग्रेसले चित्त दुखाइ गर्दै आएको छ । 


 

शुक्रबार रिजाललाई जवाफ दिँदै भट्टराईले भनेका थिए, 
–काङ्ग्रेसले संसद छोडेर गए पनि केही फरक पर्दैन ।
–ढोका खुला छ, निस्के हुन्छ ।
–काङ्ग्रेसले कम्युनिस्टहरूलाई झोला बोक्ने पार्टी सम्झने र विभिन्न बहानामा सधैँ हेप्ने गरे पनि अब हेप्न सक्दैन । 
–काङ्ग्रेसले अहिले हरेक कुरामा अधिनायकवाद देखेको छ । तर काङ्ग्रेसले कतिपटक अधिनायकवाद देखायो, त्यो पनि हेक्का राखोस् ।
–हामीहरू अधिनायकवादी नभएर जनताको काम गर्ने सेवक हौँ । 

मिनेन्द्रलाई योगेशको जवाफ : संसदबाट निस्के हुन्छ, ढोका खुल्ला छ

मुख्य विवाद सभामुख–उपसभामुख 
सत्तापक्ष र प्रतिपक्षको लडाइँ सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने संवैधानिक विषयमा आ–आफ्ना ढङ्गले व्याख्या गर्दा भएको हो । 

नेपालको संविधानमा सभामुख र उपसभामुखको चयनबारे व्यवस्था छ । जसमा संविधानको धारा ९१ को उपधारा २ मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्छ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्छ ।

संविधानमै फेरि भनिएको छ– ‘तर, प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।’

प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा सभामुख र  एमालेका शिवमाया तुम्बाहाम्फे उपसभामुख निर्वाचित भएका थिए । 

त्यसबेला सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीबाट निर्वाचित भए पनि यी दुवै पार्टी गत जेठ ३ गते एकीकरण भएपछि नेपाल कम्युनिस्ट पाटी (नेकपा) नामकरण भएको छ । पार्टी एकीकरणपछि सभामुख र उपसभामुख दुवै एउटै पार्टीका भएका छन् । 

यद्यपि यसमा नेकपाले सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिएकाले उनीहरू स्वतन्त्र भएको दाबी गर्दै आएको छ । तर सत्तापक्षको यो भनाइमा प्रमुख प्रतिपक्ष सहमत हुन सकेको छैन ।  
नेकपाका अध्यक्ष प्रचण्डले सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा गरेकाले अब राजीनामा दिनु नपर्ने बताएका छन् । 

मुद्दा स्वभाविक नहुँदा पनि काँग्रेसले लगातार विरोध गरेर संसदमा विपक्षीको भूमिका निभाउने कोशिष गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप