शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार : काठमाडौंमा मोनोरेल हल्ला मात्रै

बुधबार, ०५ वैशाख २०७५, १० : ४९
बुधबार, ०५ वैशाख २०७५

काठमाडौँ । नेपाल चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बताएका छन् ।
आगामी छ महिनादेखि रेलमार्ग निर्माणको काम अघि बढ्ने उनको भनाइ छ ।

रातोपाटीसँग कुरा गर्दै मन्त्री महासेठले केही समयअघि नेपालका लागि चिनियाँ राजदूत यू होङसँग मन्त्रालयमा भएको भेटमा पनि केरुङ काठमाडौं रेलको बारेमा कुराकानी भएको जानकारी दिए ।
राजदूतले तीव्र गतिमा रेल निर्माणको काममा सहयोग गर्नेमा आफूलाई आश्वस्त पारेको उनले बताए ।

यसका लागि चिनियाँ परामर्शदाताहरू पनि नियुक्त गरिसकेको मन्त्री महासेठको भनाइ छ । उनले भने– ‘उनीहरूले धमाधम काम गरिरहेका छन् । ५ वर्षभित्र केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको प्रक्रिया सकिनेछ ।’

अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला चीनबाट नेपालमा रेल ल्याउने बारेमा कुराकानी भएको थियो ।

यस्तै जनकपुर जयनगर रेल ७ वर्ष बन्द भए पनि यस वर्षभित्र सञ्चलनमा आउने छ, मन्त्री महासेठले बताए ।

उनले भने– ‘सन् २०१८ भित्र जनकपुर जयनगर रेल सञ्चालन हुन्छ । पहिलो चरणमा जनकपुर जयनगर कुर्थामा सञ्चालन, अर्को वर्ष विजयपुर र ३ वर्षमा बर्दिबास र पाँच वर्षभित्र सिमरासम्म रेल ल्याउने योजना छ ।’

यसका लागि तीव्र गतिमा काम भइरहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा सम्झौतासमेत भएको छ ।

भारत भ्रमणका क्रममा पाएको उपलब्धि रक्सौल काठमाडौं रेलमार्ग रहेको बताउँदै उनले एक  वर्षभित्र सर्वेक्षण सकेर डीपीआर तयार पार्ने योजना रहेको बताए ।
डीपीआर तयार भएपछि अर्को वर्षदेखि नै निर्माणको काम सुरु हुने उनले बताए ।

सिमरामा रेल आएपछि त्यसलाई लुम्बिनीसम्म जोड्ने र केरुङबाट काठमाडौं रेल आएपछि त्यसलाई पोखरा हुँदै लुम्बिनी लान सकिने मन्त्री महासेठको भनाइ छ ।  

यस्तै पूर्व–पश्चिम रेलमार्गको आधाभन्दा बढी डीपीआर नै तयार भएको मन्त्री महासेठको भनाइ छ । यस्तै जनकपुर–जयनगर–विजयपुर रेलमार्गको काम भइरहेको छ ।

काठमाडौंमा मेट्रो रेल, हल्ला बढी काम शून्य

गत वर्ष भएको स्थानीय तहको निर्वाचनका बेला एमाले, माओवादी र नेपाली काँग्रेसलगायतका दलले आफ्नो घोषणापत्रमा काठमाडौंमा मेट्रो तथा मोनो रेल गुडाउने सपना बाँडेका थिए ।

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका क्रममा एमाले माओवादीको संयुक्त चुनावी घोषणापत्र, नेपाली काँग्रेस, नयाँ शक्ति नेपाललगायतक दलका घोषणापत्रमा काठमाडौंमा मोनो र मेट्रो रेल गुडाउने आश्वासन बाँढिएको थियो । तर मेट्रो रेलबारे झन्डै सात वर्षअघि सम्भाव्यताबारे प्रारम्भिक अध्ययन भए पनि मोनो रेलको बारेमा गफभन्दा बढी केही भएको छैन ।

मोनोरेल हल्ला बढी

गएको स्थानीय तहको निर्वाचनका बेला काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवारहरूले मोनो रेल र मेट्रो रेललाई आफ्नो चुनावी अस्त्र बनाए पनि काठमाडौंमा मोनोरेल सञ्चालनमा कठिन हुनेविज्ञहरू बताउँछन् ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर भक्त उपाध्याय भन्छन्– ‘व्यवस्थित सहरमा जमिनको १५ देखि २० प्रतिशत भाग सडक हुन्छ, त्यस्तो ठाउँमा मोनोरेल चलाउन सजिलो हुन्छ, हाम्रोमा २ प्रतिशत जति भूभाग सडक छ, यस्तो स्थानमा धेरै कठिनाइ पर्छ ।’

काठमाडौंमा भएको सानो सडक मोनोरेल चलाउने हो भने त्यसको संरचना निर्माणले सडक झन् सानो हुने उनको भनाइ छ ।  

उनले भने– ‘मोनोरेल निर्माण गर्ने हो भने त्यसको फाउन्डेसन सडकमा कहाँ राख्ने ?  रेल विभाग मोनोरेलको विरोधी हैन तर यहाँ ठाउँ नै छैन । सडकका पोलहरूमा भद्रगोल तरिकाले बिजुली, टेलिफोन, इन्टरनेटका तार छन्, पोलैपिच्छे तारका गुजुल्टा छन् । कतै सडक छेउमै ऐतिहासिक सम्पादा पर्छन् ।’

काठमाडौंमा मोनोरेल सञ्चालन गर्ने बारेमा अहिलेसम्म सम्भाव्यताको बारेमा कुनै अध्ययन नभएको उनले बताए । काठमाडौं उपत्यकाका यसको कठिन भए पनि धरान विराटनगर तथा चितवनको मेघौली–भरतपुरमा यसको सम्भावना हुन सक्ने विज्ञहरू बताउँछन् ।

यी स्थानमा जग्गा किन्न नपर्ने र सडक फराकिलो भएका कारण मोनोरेल निर्माणका लागि सहज हुने अनुमान छ ।

७२ किलोमिटर मेट्रो रेल : सम्भव छ तर कहिले ?

काठमाडौंमा मेट्रो रेल सञ्चलनबारे यसअघि सम्भाव्यता अध्ययन भएको थियो । सन् २०१० ताका कोरियन कम्पनीले कलङ्की–कोटेश्वर मेट्रो रेलको सम्भाव्यताबारे अध्ययन गरेको थियो । कलङ्की कोटेश्वरलाई बिस्तार गरेर कलङ्कीबाट थानकोटसम्म र कोटेश्वरबाट विस्तार गरेर बनेपासम्म पु¥याउन सकिने बारे छलफल भएको थियो ।

काठमाडौंमा झन्डै ७२ किलोमिटर मेट्रो रेलको सम्भाव्यता अध्ययन भएको हो । साँखु–बौद्ध एकान्तकुना–धोविघाट–गोङ्गबु र रिङरोडमा मेट्रो रेलको पनि प्रस्ताव गरिएको छ । यसको सम्भाव्यता अध्ययनका लागि कुनै कम्पनी आयो भने लगानी बोर्डले जी टु जी मोडलमा अगाडि बढाउन खोजेको छ ।

कलङ्की कोटेश्वर मेट्रो रेललाई विस्तार गरेर पूर्वमा धुलीखेलसम्म र पश्चिममा नागढुङ्गासम्म लान सकिनेबारे पनि अर्को छलफल भएको रेल विभागका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इन्जिनियर उपाध्यायले बताए ।  

देशको पूर्वीभागबाट काठमाडौं प्रवेश गर्ने सूर्यविनायकदेखि पश्चिमबाट प्रवेश गर्ने स्थान थानकोटसम्म ६ लेनको सडक बनिसकेको छ । रेल विभागले मेट्रो रेलको सबैभन्दा बढी सम्भाव्य स्थलका रूपमा यही भागलाई लिएको छ ।

कोरियन कम्पनीले सन् २०१० तिर संभाब्यता अध्ययन गरेर निर्माण गर्ने इच्छा व्यक्त गरे पनि सरकारी ढिलासुस्ती र प्रशासनिक झन्झट देखेर पछि हटेको थियो ।

काठमाडौंमा मेट्रो रेल र मानो रेललगायतका धेरैको कुरा भए पनि यसमा सरकारले ध्यान नदिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बताए । उनले भने–‘अहिले स्थलमार्ग र रेल्वेमा हाम्रो मुख्य ध्यान रहेको छ । मेट्रोको सन्दर्भमा विभिन्न कम्पनी र व्यापारिक समूहहरू कुरा गर्न आइरहेका छन् ।  उनीहरूको कुरा सुनिरहेका छौँ ।’

केही व्यापारिक समूह काठमाडौंमा केवल कार सञ्चालन गर्ने कुरा लिएर आएको पनि मन्त्री महासेठ बताउँछन् । सरकार उपत्यकावासीलाई कसरी यातायात लिङ्कबाट जोड्ने भन्नेमा बढी केन्द्रित रहेको बताए ।
काठमाडौंमा मेट्रो रेल निर्माणका कोही विदेशी कम्पनी इच्छुक भए सम्भाव्यता अध्ययन गराउन सरकारले लगानी बोर्डलाई जिम्मा दिएको छ । 

रेल सपनाबारे थप समाचार

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

४७ खर्बको पूर्व–पश्चिम रेलमार्ग : कसरी बन्दैछ, कति समय लाग्छ ?

चीनबाट रेल : प्रचार कति, प्रगति कति ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप