शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब म २१ वर्षमै कुमारी आमा बने...

सोमबार, २२ माघ २०७४, १४ : ३६
सोमबार, २२ माघ २०७४

जब प्रेम भयो, मलाई यी कुरासँग केही मतलब भएन– ऊ कुन देशको, कुन धर्मको र जातको थियो । 
तर ‘लिभ–इन रिलेसन’ छुटेको एक महिना जति भएपछि जब म उसको बच्चाकी आमा हुने भएकी थिएँ तब मेरा साथीहरूले मलाई पागल भइसककेी भन्थे । 
किनभने मात्र २१ वर्षकी अविवाहित युवती त्यो बच्चालाई जन्म दिन चाहान्थँे । मलाई पनि यस्तै लागिरहेको थियो, म पागल हुँदैछु । केही नराम्रो हुनसक्छ भन्दै मेरो मन काँपिरहेको थियो । तर जे नराम्रो हुनु थियो त्यो त भइसकेको थियो ।  
मुस्तफासँग पहिलो चोटि भेट्दा म १९ वर्षकी थिएँ । उत्तर–पूर्वको आफ्नो सानो सहर छोडेर मैले अर्को ठूलो सहरको ‘कल सेन्टर’मा काम गर्न थालेकी थिएँ । 
मुस्तफा अफ्रिकी मुलका थिए । उनी केही अग्ला, कालो वर्णका, आकर्षक युवकको श्रेणीमा पर्थे । मेरो मन उनीतर्फ तानियो । एक डेढ वर्षको मित्रतापछि हामीसँगै बस्न थाल्यौँ ।  
म क्रिस्चियन हुँ र ऊ एक मुसलमान । हामीबीच प्रेम थियो तर विवाहबारे सोच्ने हिम्मत दुवैमा थिएन । हामी सपनाको त्यो संसारमा गइरहेका थियौँ, जहाँबाट अगाडिको जिन्दगीको बारेमा केही पनि सोच्न बेइमानीजस्तै लाग्थ्यो । उसका थुप्रै साथी थिए, उनीहरु धेरैजसो हाम्रो घरमा आउने गर्थे । म पनि खुलेर बोल्ने हास्ने गर्थें । 

थाहा छैन किन, मुस्तफाको मनमा शङ्का बढ्न थाल्यो । उसलाई के लाग्थ्यो भने उसको साथीसँग मेरो ‘अफेयर’ छ । यस कुरालाई लिएर हामीबीच झगडा सुरु हुन थाल्यो । बिस्तारै–बिस्तारै सम्बन्ध यति तीतो बन्दै गयो, हाम्रो दिन एक–अर्कालाई चिच्याउँदा चिच्याउँदै बित्न थाले । अन्ततः हामीले ‘ब्रेकअप’ नै गर्यौँ । म निक्कै दुःखी हुन थालेँ, घन्टाँैसम्म रुन थालेँ । यसको असर मेरो काममा पर्न थाल्यो र मेरो जागिर पनि छुट्यो ।  


घर फर्किने इच्छा

मैले आफ्नो घर जान्छु भनी निर्णय गरेँ । आफ्नो सानो अपार्टमेन्ट र ऊसँग जोडिएका सबै अनुभवबाट टाढा जान चाहान्थँे । तर मेरा सबै योजना विफल भएँ जब त्यसै महिना मेरो महिनावारी रोकियो । 

नजिकैको एक क्लिनिकबाट ‘प्रेग्नेन्सी टेस्टिङ किट’ ल्याएर परीक्षण गरेँ, मेरो डर सही सावित भयो । परीक्षणमा ‘पोजेटिभ’ देखियो ।  मुस्तफासँग बसेपछि यो दोस्रो पटकको गर्भधारण थियो । पहिलो पटक उसको दबाबमा आएर ‘एबर्सन’ गराएकी थिएँ । 

त्यतिबेला मैले मुस्तफालाई फोन गरेर एक क्याफेमा बोलाएँ । आमने–सामने बसेर यो कुरा उसलाई बताएँ । तर मैले सावधानी नअपनाएको भन्दै ममाथि चिच्याउन थाले । उसले मलाई सयौँ कारण देखायो र बच्चा फाल्नका लागि मनाउने प्रयास गर्यो ।

 उनले पेटको बच्चा आफ्नो हो कि होइन भन्नेमा विश्वस्त नभएकोसम्म भन्न भ्याए । तर मैले अड्डी कसेकी थिएँ । पहिलो बच्चा फाल्दा मैले कसैको हत्या गरेँ भन्ने लाग्थ्यो । 

 दोस्रो पटक आफ्नै सन्तानको हत्या गर्ने हिम्मत ममा रहेन । यसको अर्थ मलाई डर लागिरहेको थियो, मेरा आँसु रोकिरहेको थिएन । म विवाहित थिइन र मसँग राम्रो जागिर पनि थिएन । बच्चाका बुबा उसलाई अपनाउन नै तयार थिएनन् । तर मलाई लाग्थ्यो भगवानले मलाई नयाँ जिन्दगी सुरु गर्ने मौका दिइरहेका छन् । अहिलेसम्म म एउटी लापर्वाह युवतीको जिन्दगी बाँचिरहेकी थिएँ ।

 म एउटा सन्तान पनि पाल्न सक्दिनँ भन्ने सबैलाई लाग्थ्यो । मलाई पनि थाहा थियो, मेरो बाटो सजिलो छैन, तर अब मसँग जिम्मेवार हुनुपर्ने एउटा कारण थियो । मेरो पेटको बच्चाको मायाले उसलाई यस संसारमा ल्याउन भनिरहेको थियो । 
मैले डराउँदै–डराउँदै आफ्नो परिवारलाई यसबारे बताएँ । उहाँहरुलाई मुस्तफाको बारेमा पहिलेदेखि नै थाहा थियो तर मेरो ‘प्रेग्नेन्सी’को कुरा सुनेर मसँग निक्कै रिसाउनु भयो । 

 म विवाहअघि नै आमा बन्न जाँदैछु भन्ने कुरामा उहाँहरु कुरामा दुःखी हुनुहुन्न थियो । उहाँहरु बच्चा एक काले, विदेशी र उनको जातभन्दा बाहिरको युवकको भएकाले दुःखी थिए । मैले मेरो परिवारलाई सबै कुरा म आफैँ सम्हाल्छु भनेर विश्वास दिलाएँ ।  

यो अप्ठ्यारो समयमा मेरी एक साथीले धेरै सहयोग गरिन् । उसकै स्कुटरमा बसेर मेडिकल चेकअपका लागि जाने गर्थें । आफ्नो खर्च चलाउनका लागि एक पसलमा ‘सेल्स गर्ल’को काम गर्न थालेँ । यसबीच मुस्तफाले मलाई मनाउने प्रयास जारी राखेका थिए तर म आफ्नो निर्णयमा अडिग रहेँ ।  

बच्चा जन्मने दिन मलाई मेरी साथीले स्कुटरमा बसाएर अस्पताल लगेकी थिइन् । एक घन्टापछि सिजेरियन अपरेसनपछि मेरो बच्चाको जन्म भयो । मलाई होस् आएका बेला बच्चा मेरी साथीको काखमा थियो र डाक्टर मेरो छेउमा मुस्कुराएर उभिरहेकी थिइन् । अब सबै ठिक हुनेछ भन्ने लागिरहेको थियो । 

साँझतिर मुस्तफा पनि हस्पिटल आयो । उसले बच्चालाई काखमा लियो र आफ्नो साथीलाई फोन गरेर आफू एक छोराको बुबा बनिसकेको बतायो ।  मुस्तफालाई यति खुशी देखेर म अचम्ममा परँे । तर उसले अझै पनि आफ्नो परिवारलाई बताउने हिम्मत गरिरहेको थिएन । 

उसले फेरि सम्बन्ध सुरु गर्ने कुरा बतायो । ऊ बच्चालाई मुस्लिम नाम दिन चाहान्थ्यो । तर मैले सबै अस्वीकार गरिदिएँ र आफ्नो बच्चालाई क्रिस्चियन नाम राखिदिएँ ।  मुस्तफामाथि विश्वास गर्न सकिरहेको थिइनँ । केही दिनपछि मेरी आमा र कजिन पनि मसँगै आए । अब म एक्ली थिइनँ । 

अर्को वर्ष मुस्तफा भारतबाट आफ्नो देश फर्किए र फेरि मेरो जिन्दगीमा कहिल्यै फर्किएनन् ।  अहिले म २९ वर्षकी भएँ र मेरो छोरा ६ वर्षको हुँदैछ । 

त्यो समय निक्कै गाह्रो थियो तर उसलाई हुर्काउँदै बढाउँदै म निडर भइसकेकी छु । म मान्छेहरूलाई विनासङ्कोच भन्छु, मेरो विवाह भएन तर पनि मेरो एउटा छोरा छ । यदि कसैले छोरालाई उसको बुबाको नाम सोधेमा ‘मुस्तफा’ भन्न भनेकी छु । 

म आफ्नो निर्णयप्रति पछुताएकै छैन । म खुसी छु, मेरो छोरा मेरी आमाको घरमा बस्छ किनकि म आफ्नो करियर बनाइरहेकी छु । म पार्टी तथा समारोहमा गीत गाउँछु । पैसा जम्मा गरेर आफ्नो छोराको भविष्य सुरक्षित बनाउने प्रयास गरिरहेकी छु । 

मुस्तफासँग मेरो सम्बन्ध सधैँका लागि सकिएको छ तर यो सधैँ विशेष रहने छ । यस सम्बन्धबाट मैले बाँच्न सिकेकी छु । सबै कुरा बिर्सिएर अघि बढ्ने प्रयास गरिरहेकी छु ।  


यो कथा पूर्वोउत्तर भारतकी एउटी महिलाको वास्तवविक जीवनमा आधारित छ । महिलाको आग्रहमा नाम परिवर्तन गरिएको छ । बीबीसीको यस विशेष शृङ्खलामा आधुनिक भारतीय महिलाको वास्तविक जीवनको कहानी प्रस्तुत गरिँदै आएको छ । 


यो कथा पूर्वोउत्तर भारतकी एउटी महिलाको वास्तवविक जीवनमा आधारित छ । महिलाको आग्रहमा नाम परिवर्तन गरिएको छ । 

बीबीसीले भारतीय महिलाको वास्तविक जीवन कथा समेटने गरी #HerChoice श्रृखला चलाएको छ ।

यो शृृंखलामा आधुनिक भारतीय महिलाको विचार र उनका अगाडिका विकल्प, उनका आकांक्षा, उनका प्राथामिकता र उनका इच्छा पेश गर्ने गरिन्छ ।

यस शृृंखलाका अरु कथा पढन यहाँ जानुहोस्

..र परपुरुषहरुसँग फेसबुकमा जिस्किने गर्छु

जब मेरा पति एक महिलासँग सम्बन्धमा बसे...

जब यी महिलाले पति नपुंसक भएको थाहा पाइन्....

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप