शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : विश्वासको मतसम्बन्धी प्रस्तावमाथि कसले के भने ?

गठबन्धनलाई ‘खिचडी’ भनिएकोमा प्रत्युत्तर– यो सामान्य पकवान होइन
शुक्रबार, ०४ असार २०७८, १४ : ११
शुक्रबार, ०४ असार २०७८

पोखरा । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत दिन नसकिने प्रस्ट पारेका छन् ।

 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री पोखरेलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि विभिन्न आरोप लगाएको भन्दै असन्तुष्टि प्रकट गरे ।

उनले वर्तमान सरकारले ल्याएको बजेट अपुरो रहेको आरोपसमेत लगाए । बहुवर्षीय तथा प्रदेश गौरवका आयोजनालाई बजेटले उपेक्षा गरेको उनको आरोप थियो ।

आफ्नो दलका सबै प्रदेशसभा सदस्यलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको उनले प्रदेशसभालाई जानकारी गराए ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले प्रदेशलाई समृद्ध बनाउनका लागि हिजोका दिनमा सबै दल मिलेर एउटा परिस्थिति निर्माण गरेको स्मरण गराए । अहिले समयले कोल्टे फेरेको उल्लेख गर्दै उनले हिजो सत्तामा रहेको दल आज प्रतिपक्षमा रहेको र हिजो विपक्षमा रहेका दलहरु अहिले सरकारमा गएको चर्चा गरे । यद्यपि, हिजोको संकल्प र साझा उद्देश्य आज पनि कायम रहेको भन्दै उनले सबै मिलेर प्रदेशको विकास र समृद्धिका लागि सोच्नुपर्ने खाँचो औंल्याए ।

उनले गठबन्धनको नयाँ सरकारलाई विश्वासको मत दिएर राजनीतिक दुर्घटनाबाट जोगाउनुपर्ने प्रस्ट पारे । हिजो आफूहरुले विपक्षमा रहँदा निर्वाह गरेको रचनात्मक प्रतिपक्षको भूमिकाजस्तै अहिले प्रतिपक्षमा रहेको दलबाट रचनात्मक सहयोगको भूमिका अपेक्षा गरेको उनले बताए ।

आफूहरु प्रदेश स्थापनाकालका सदस्य भएकाले पनि भविष्यका लागि अहिलेका गतिविधि नजिर हुन सक्ने भन्दै उनले सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामजीप्रसाद बराल ‘जीवन’ले वर्तमान सरकार कठिन परिस्थितिमा गठन भएकाले यसलाई जोगाउनु सबैको कर्तव्य भएको बताए ।

जुनजुन दल मिलेर यो प्रणालीलाई संस्थागत गर्नका लागि सहकार्य भयो, यसलाई जोगाउनका लागि पनि सबैले उस्तै सहकार्य गर्नुपर्ने खाँचो रहेको उनले औंल्याए ।

उनले वर्तमान सरकारले सबैको साथ र सबैसँगको सहकार्यबाट अघि बढ्ने प्रतिवद्धता जनाएकाले पनि यो सरकारलाई विश्वासको मत दिनुपर्ने बताए ।

जसपा नेपाल (साविक नयाँ शक्ति पार्टी) की प्रदेशसभा सदस्य धनमाया पोख्रेल (लामा)ले विश्वासको मतको पक्षमा आफ्नो पार्टीले समर्थन जनाएको बताइन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले नयाँ गठबन्धनको सरकार बनेसँगै प्रदेशमा अनिष्ट सुरु भएको बताए । उमेरले पाको व्यक्ति प्रदेश सरकारको नेतृत्वमा रहे पनि मुख्यमन्त्री नियुक्त हुनुअघि प्रदेश प्रमुखको कार्यालय अगाडि उद्दण्डता देखाएको भन्दै उनले आलोचना गरे ।

उनले आफू र आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत दिन नसक्ने पनि प्रस्ट पारे ।

एमालेकी प्रदेशसभा सदस्य मिना गुरुङले जनताले रुचाइरहेको, सबैको प्रशंसा बटुलिरहेको अवस्थामा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई विस्थापित गरिएको आरोप लगाइन् ।

पदको लोभबाट यसरी राजनीतिक अस्थिरता निम्त्याउनु इतिहासको पानामा कालो धब्बाका साथ अंकित हुने उनले बताइन् । विगतमा आफूहरु प्रदेशवासीलाई कसरी सुखी र समृद्ध बनाउने भन्ने योजना बुनिरहेको समयमा तत्कालीन विपक्षी गठबन्धनले कसरी सरकारमा जाने भन्ने योजना बनाइरहेको भन्ने प्रस्ट भएको उनले बताइन् । उनले वर्तमान सरकारलाई आफू र आफ्नो दलले विश्वासको मत दिन नसक्ने प्रस्ट पारिन् ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले अघिल्लो सरकारले विश्वासको मत पाउन नसक्ने अवस्था रहँदारहँदै पनि सहज रुपमा सत्ता हस्तान्तरण गर्न आनाकानी गरेका कारण वर्तमान सरकारले हतारमा बजेट ल्याउनुपरेको जिकिर गरे । आफूले नै अन्तिम समयसम्म सत्तामा रहन पहल गर्ने अनि केही नलागेपछि सत्ताबाट बाहिरिएर बजेटको विषयलाई लिएर सरकारको आलोचना गर्नुको तुक नरहेको उनको भनाइ थियो । उनले विश्वासको प्रस्तावको पक्षमा मत दिन विपक्षीहरुलाई समेत आग्रह गरे ।

नेकपा एमालेका प्रदेशसभा सदस्य धनञ्जय दवाडीले दस्तावेजका हिसाबले नेकपा माओवादीले नेपाली काँग्रेसलाई प्रमुख दुश्मन भन्ने गरेको भन्दै यस्ता दलहरु मिलेर बनेको सरकारलाई कसरी मुल्यांकन गर्ने भन्ने प्रश्न गरे । सत्तारुढ गठबन्धनमा संघीयता नै खारेज गर्नुपर्छ भन्ने शक्तिसमेत रहेको उनले बताए ।

लोकतन्त्रको नाममा जे पनि ठिक भन्ने प्रवृत्तिले नराम्रो परिणाम निम्त्याउने चेतावनी पनि उनले दिए । आफ्ना निम्ति तयार गरेको गठबन्धन विचार, सिद्धान्तका दृष्टिले टिकाउ नहुने भन्दै उनले विश्वासको मत दिन नसकिने प्रस्ट पारे ।

एमालेका प्रदेशसभा सदस्य मनबहादुर गुरुङले प्राकृतिक प्रकोपले प्रदेश अस्तव्यस्त भएको अवस्थामा प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन नसकेको आरोप लगाए ।

सत्तारुढ गठबन्धन न भोलि एक हुन सक्छ न विचार र सिद्धान्त नै मिल्छ भन्दै उनले यस्तो सरकारको भविष्य नरहेको बताए । उनले यस्तो सरकारलाई आफू र आफ्नो दलले समर्थन गर्न नसक्ने प्रस्ट पारे ।

एमालेका प्रदेशसभा सदस्य राजीव पहारीले लोकतन्त्रमा सरकार परिवर्तन स्वाभाविक भए गण्डकी प्रदेशमा केन्द्रको रिमोट कन्ट्रोलका आधारमा सरकार बनेको आरोप लगाए । सरकारमा रहेका चार दल चार खालका रहेको पनि बताए । सत्तारुढ दलहरुको गठबन्धनलाई ‘तेल र पानीको मिश्रण’ संज्ञा दिए । उनले भने, ‘त्यो न पिउन मिल्छ, न गाडीमा हाल्न मिल्छ ।’

उनले सरकारलाई टिकाउनका लागि मन्त्रिपरिषदको आकार बढाउने, फजुल खर्च बढाउने प्रयोजनका लागि चाँडोभन्दा चाँडो विश्वासको मत लिन थालिएको भन्दै उनले असन्तुष्टि जनाए । उनले वर्तमान सरकारलाई विश्वासको मत दिन नसक्ने प्रस्ट पारे ।

काँग्रेसकी प्रदेशसभा सदस्य ओमकला गौतमले वर्तमान सत्तारुढ गठबन्धनलाई ‘खिचडी’ भनिएकोमा आपत्ति जनाइन् । उनले भनिन्, ‘खिचडी भनेको सामान्य पकवान होइन, यो विशेष दिनमा पाक्छ, विशेष दिनमा खाइन्छ, यसमा औषधीय गुण पनि हुन्छ ।’

आफूसँग रहँदा त्यही व्यक्ति पवित्र हुने, अर्कोसँग गएर मिलेपछि त्यो अपवित्र हुने कस्तो व्याख्या हो भन्दै उनले प्रश्नसमेत गरिन् ।

राष्ट्रिय जनमोर्चाको प्रदेशसभा संसदीय दलका नेता पियारी थापाले राष्ट्रिय संकटकाबीच गण्डकी प्रदेशमा सरकार परिवर्तन भएको बताइन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई गुण र दोषको आधारमा मूल्यांकन गर्ने उनले प्रस्ट पारिन् । अहिले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरिएको उनले सुनाइन् ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य हरिबहादुर चुमानले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनेसँगै प्रदेशसभा जोगिएको टिप्पणी गरे । ‘प्रदेशसभा छ र त विभिन्न विकल्प अहिले हामीसँग छन्,’ उनले भने, ‘यो प्रदेशसभा नरहेको भए ती विकल्प हुन्थे ?’ प्रदेशसभा जोगाउन ठुलो सफलता प्राप्त भएको उनको भनाइ थियो ।

सरकारमा रहेका दलहरु कहिले एउटै मोर्चामा, कहिले अलग मोर्चामा रहेर देश र जनताका निम्ति लड्दै आएको पनि उनले स्मरण गराए । अहिले निश्चित मुद्दाका लागि कार्यगत एकताका साथ गठबन्धन बनेको उनले बताए । मुख्यमन्त्रीले पेस गरेको  विश्वासको मतको पक्षमा मतदान गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप