बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभालाई जोगाउन विश्वासको मत दिनुको विकल्प छैन : मुख्यमन्त्री पोखरेल

शुक्रबार, ०४ असार २०७८, १२ : २५
शुक्रबार, ०४ असार २०७८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् । शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका थिए ।

प्रदेशसभामा मन्तव्यसहित विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएको चर्चासमेत गरे ।

नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी स्रोत साधन उपलब्ध गराउने बाचा गरेको पनि उनले स्मरण गराए । यस्तै, महिलाहरुले भोग्नु परेको धेरै पीडामध्ये एक रहेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको उपचारमा शल्यक्रिया गर्दा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको पनि उनले सुनाए ।

दुर्गममा गर्भवती र नवजात शिशुको उद्धारका लागि एयर लिफ्टिङको व्यवस्था, ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था पनि प्रदेश सरकारले गरेको उनले बताए ।

राजनीतिक घटनाक्रम परिवर्तनका सन्दर्भमा आफूहरुमाथि थप जिम्मेवारी आइपरेको भन्दै उनले संघीयतालाई मजबुत बनाउनका लागि आफू दृढ संकल्पित रहने बताए । जनताले पाँच वर्षका लागि मतादेश दिइसकेपछि त्यसअघि नै जनतामा जानु कुनै पनि दृष्टिले उपयुक्त नहुने उनको भनाइ थियो ।

आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर स्थायित्वमा जाने एकमात्र विकल्प रहेको भन्दै उनले बीचमा सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नरहेको प्रस्ट पारे ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् ।

गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप