आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ?

आइतबार, १६ जेठ २०७८, १९ : ४०
आइतबार, १६ जेठ २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले शनिबार एक अर्कालाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । जसको म्याद सकिएको छ ।

पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७७ बमोजिम निस्कासनसम्मको कारवाही हुने चेतावनी दिइएको थियो । तर, हालसम्म कसैले स्पष्टीकरण बुझाएका छैनन् । 

अध्यक्ष ठाकुर अर्का अध्यक्ष यादवको प्रतिक्रियाको प्रतीक्षामा छन् । यादवको प्रतिक्रियाको आधारमा जवाफ दिने तयारीमा रहेको उनीनिकट एक नेताले रातोपाटीलाई बताए । अध्यक्ष ठाकुर आज पनि बबरमहलस्थित पार्टी कार्यालयमा पुगेर आफू निकट नेताहरुसँग छलफल गरेका थिए । ४ बजेसम्म कुनै पत्र नआएपछि उनी निवासमा फर्किएका थिए ।

​यता, अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लको स्पष्टीकरण नआए पार्टीमा छलफल गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा यादव पक्ष रहेको छ । यादव पक्षका एक कार्यकारिणी सदस्यले भने, ‘आज साँझसम्म जवाफ आएन भने पार्टीको बैठक बसेर कस्तो कारवाही गर्ने विषयमा छलफल गर्नेछौँ ।’ कार्यकारिणी समिति बैठकको निर्णयबाट स्पष्टीकरण सोधिएको हुनाले सोही बैठक बसेर कारवाहीको प्रकृया अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

पत्रमा पार्टी विधानको दफा ४९ र राजनीतिक दल सम्बन्धी ऐन २०७३ सम्बन्धी कारवाही गर्ने भनिएको छ । सो ऐन दफा १८ मा विधानविपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भए बमोजिम दलले अनुशासनात्मक कारवाही गर्न सक्नेछ भन्ने उल्लेख छ । त्यसको उपदफा (२) अनुसार अनुशासनात्मक कारवाही गर्नुभन्दा पहिले सफाई फेस गर्ने मनासिव मौका दिनुपर्ने भनिएको छ । उपदफा (३) अनुसार दलले कुनै सदस्यलाई कारवाही गर्दा त्यसको कारण  र आधार स्पष्ट रुपम खुलाउनुपर्नेछ ।

यता, पार्टी विधानको दफा ४९ मा कुनैपनि सदस्य वा समितिहरुलाई अनुशासनको कारवाही हुनसक्ने उल्लेख छ । यस्तो कारवाही गर्दा गल्तीको गम्भीरता हेरी कुनै पनि कारवाहीका स्वरुपहरुको प्रयोग गर्न सकिने छ । विशेष परिस्थितिमा केन्द्रीय समितिले तोकिएको प्रकृयाको अधिनस्थ रही कुनै पनि सदस्य र समितिउपर कारवाही गर्न सक्ने भनि उल्लेख छ ।

उपदफा (१) पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा, पार्टीको नीति र निर्देशन नमानी खुल्ला उल्लंघन गरेको प्रमाणित भएमा, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको प्रमाणित भएमा, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेमा वा आन्दोलन विरोधीहरुसँग साँठगाँठ गरेमा, पदीय आचरण वा पार्टी प्रतिष्ठाको विपरित आर्थिक अनुशासनहीनता या पार्टी हित विपरितका कुनै गतिविधिमा संलग्न भएको प्रमाणित भएमा वा पार्टी विधान वा केन्द्रीय समिति सदस्यहरुले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरेमा कारवाही हुने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप