शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

आन्तरिक उडान बन्द गर्नुपर्ने सीसीएमसी सचिवालयको निष्कर्ष

निषेधाज्ञामा पनि विमानस्थलमा यात्रुको चाप घटेन
बिहीबार, १६ वैशाख २०७८, १२ : ३३
बिहीबार, १६ वैशाख २०७८

सरकारले घोषणा गरेको निषेधाज्ञा लागु हुने पूर्वसन्ध्यामा बुधबार दिउँसो सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमनका लागि पुगेको थियो । अनुगमन टोलीले त्यहाँको दृश्य अवलोकन गर्नुका साथै तस्बिरहरु खिच्यो । अन्ततः विमानस्थलको दृश्य हेरेपछि सीसीएमसीको सचिवालय आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

‘विमानस्थलमा यस्तै भिड भइरहने हो भने अब आन्तरिक उडान तत्काल बन्द गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं’ सीसीएमसीमा आवद्ध एक सुरक्षा अधिकारीले रातोपाटीसँग भने, ‘विमानस्थलमा भिडभाड बनाएर निषेधाज्ञा सफल हुँदैन । विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको पनि मोबिलिटी बढ्छ र यसबाट संक्रमण फैलने डर हुन्छ ।’

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको सीसीएमसीका अधिकारीहरु बताउँछन् ।

अहिलेको अवस्थामा सीसीएमसीको सचिवालयले चाहेर मात्रै हवाइ उडान रोकिँदैन । यसमा मन्त्रिपरिषदले नै चासो राख्नुपर्ने हुन्छ । सचिवालयका अधिकारीहरु आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारी भइरहेको बताउँछन् ।

 


त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीका अनुसार आज विहीबार अन्तर्राष्ट्रियतर्फ २० उडान र २० अवतरण हुने सेड्युल छ ।

 आन्तरिकतर्फ भने बुधबारको भन्दा केही उडान घटेको छ । बुधबार १४७ उडान र १४७ अवतरण थियो भएको थियो । आज निषेधाज्ञा लागेको दिनमा पनि १०५ वटा आन्तरिक उडानको सेड्युल छ । यो संख्या शुक्रबार पनि नघट्ने तिवारीले विश्लेषण सुनाए ।

‘यात्रुहरुको सुविधाका लागि प्रिपेड ट्याक्सी सञ्चालन गरेका छौं, जुन करिब २ सयको संख्यामा छन्’ तिवारी भन्छन्, विमानस्थलको टिकट देखाएर यात्रुहरु ट्याक्सी चढेर आएका छन् । पहिलेजस्तो सहज त छैन, तर आउन असहज भएको सुनेका छैनौं ।’

यात्रुहरुलाई ओसार्न साझा यातायात सञ्चालन गर्नुपर्छ भनेर अनुरोध गरिएको तिवारीले बताए । उनले रातोपाटीसँग भने, ‘सीसीएमसीसँग कुरा भएको छैन । आन्तरिक उडानमा सतर्कता अपानाएका छौं, अत्यावश्यक मान्छेहरुको आवत–जावत जरुरी हुन्छ । डोमेष्टिक उडान रोक्ने वा चलाउने भन्ने निर्णय सरकारले गर्ने हो ।’ 

सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरे पनि आन्तरिक र बाह्य दुबै उडान बन्द गरेको छैन । खासगरी दिल्लीबाट विमान चढेर आउने यात्रुहरूबाट संक्रमणको जोखिम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले भने बेलायत र अन्य मुलुकबाट आउनेहरुका लागि अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने  भनेता पनि भारतबाट आउनेहरुको हकमा खुकुलो नीति लिँदै आएको छ ।

 


सोमबार मन्त्रिपरिषदको बैठकपछि  रातोपाटीलाई दिएको संक्षिप्त प्रतिक्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिकुल स्थिति देखिएमा जुनसुकै बेला हवाइ उडान बन्द गर्न सकिने बताएका थिए ।  देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत–जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको मन्त्री ज्ञवालीले बताएका थिए । हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी प्रोटोकल कडाइ पूर्वक पालना गरे÷नगरेको निगरानी सम्बन्धित निकायले गर्नेछ र प्रतिकूल अवस्था आए जुनसुकै बेला हवाइ उडानबारे थप निर्णय गर्न सकिने मन्त्री ज्ञवालीले रातोपाटीलाई बताएका थिए ।

यात्रुको चाप बढ्यो, फ्लाइटको संख्या पनि थपियो

काठमाडौं उपत्यकासहित देशमा मुख्य सहरमा निषेधाज्ञा लागू भए पनि यतिखेर उपत्यका छाड्ने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ । बैशाख १६ गतेदेखि सार्वजनिक यातायातका साधन र बजारसमेत बन्द गर्ने सरकारले निर्णय गरेसँगै उपत्यकाबासीहरु भटाभट गाउँ फर्कन थालेका छन्, जसको चाप विमानस्थलमा समेत परेको छ ।

उपत्यका ट्राफिक व्यवस्थापन शाखाका अनुसार मंगलबार र बुधबार दुई दिनमा मात्र झण्डै ६ लाख सर्वसाधारणले सहर छाडेका छन् । निषेधाज्ञाको अघिल्लो दिन बुधबार बेलुकासम्म यस्तो संख्या झण्डै १० लाखको हारहारीमा पुग्न सक्ने महाशाखाको विश्लेषण छ ।

स्थलमार्ग, सार्वजनिक यातायातमा मात्र होइन, पछिल्लो दुई दिनयता निषेधाज्ञाको त्रासले हवाई सेवामा समेत ह्वात्तै यात्रुको चाप बढेको त्रिभुवन विमानस्थल (टीआईए) ले जनाएको छ ।

मंगलबार एकै दिन अधिकतम १२८ फ्लाइटबाट १४ हजार यात्रुहरुले उपत्यका छाडेको टीआईएका प्रवक्ता चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए । यो संख्या बुधबार बढेको छ ।

‘निषेधाज्ञाको त्रासले सर्वसाधारणहरू जतिसक्दो चाँडो उपत्यका छाड्न चाहिरहेका छन् । यसको चाप हवाई सेवामा परेको छ’ कर्णले भने, ‘बुधबार मात्रै डोमेस्टिक सेवामा अधिकतम १४८ फ्लाइटको सेड्युल बनेको थियो ।’ प्रवक्ता कर्णका अनुसार ह्वातै यात्रुहरूको चाप बढेपछि हवाई कम्पनीहरुले बुधबार २० फ्लाइट थपेका थिए ।

अन्तर्राष्ट्रिय उडानमा ३०/३० वटा फ्लाइट    

प्रवक्ता कर्णका अनुसार यतिखेर अन्तर्राष्ट्रिय उडानतर्फ भने ३०÷३० को अवस्था छ । कोभिड–१९ को दोस्रो लहर अन्तर्राष्ट्रिय उडान तर्फ के गर्ने भन्ने अहिलेसम्म सरकारी निर्णय नभइसकेको अवस्थामा त्रिभुवन विमानस्थलबाट दैनिक ३० वटा फ्लाइट टेकअफ (उड्ने) र ३० वटा ल्यान्डिङ (आगमन) भइरहेको बताए ।

कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा निषेधाज्ञा गर्ने सरकारी निर्णयपछि विदेशमा रहेका नेपाली आफन्त, घरपरिवार भेट्न नेपाल आउजाउ बढेको  छ । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरु पनि फ्लाइट बन्द हुने त्रासले छिटो–छिटो विदेश जान चाहेको कर्णले बताए । यसले गर्ला तुलनात्मक रुपमा अन्तर्राष्ट्रिय उडानमा समेत यात्रुहरूको चाप बढेको उनको भनाइ छ ।

यात्रुको आउजाउमा साझा बस

तत्कालका सार्वजनिक यातायात र निजी सवारीको समेत सञ्चालन बन्द गर्ने निर्णय सरकारले निषेधाज्ञामा पनि आन्तरिक तर्फको उडान सेवा निरन्तर राख्नका लागि निजी वायुसेवा सञ्चालक कम्पनीहरुले गरेको अनुरोधलाई मानेर आन्तरिक उडान सुचारु राखेको हो । यस्तो अवस्थामा हवाई यात्रुहरूका लागि हवाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल आउजाउका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ

हवाई सेवाका यात्रुको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधिमा प्राधिकरणले साझा यातायातका बसमार्फत हवाई यात्रुहरुलाई विमानस्थल आउजाउको व्यवस्था मिलाउने नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । विमानस्थलमा कार्यरत कर्मचारी तथा सवारी साधनहरुलाई भने विगतमा जस्तै आवश्यकताका आधारमा प्राधिकरणले अनुमतिपत्र जारी गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप