शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनमोर्चाका संसदीय दलका नेता भन्छन्– प्रतिगमनकारीसँग मिलेर सरकारमा जाने योजना छैन

बुधबार, ०१ वैशाख २०७८, १४ : ५९
बुधबार, ०१ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशसभामा राजनीतिक जोडघटाउ सुरु भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि प्रदेश सरकार टिकाउने र ढाल्ने सवालमा जोडघटाउ सुरु भएको हो ।
गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि नयाँ सरकारका लागि गठबन्धन बनाउने प्रक्रिया अगाडि बढेको छ ।

प्रदेशसभाका ६० सांसदमध्ये १२ सांसद रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी अगाडि बढेको छ ।

प्रदेश सरकारलाई विश्वासको मत लिन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । मनाङबाट स्वतन्त्रमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सहित एमालेको पक्षमा २८ मत छ । प्रदेश सरकार जोगाउन एमालेलाई थप ३ मत आवश्यक पर्छ ।

तीन वर्ष पहिले राष्ट्रिय जनमोर्चाले दिएको समर्थन कायमै रहनेमा मुख्यमन्त्री गुरुङ ढुक्क थिए । तर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्टको हैसियतले नेकपाको सरकारलाई समर्थन गरेको भए पनि अब, नेकपा औपचारिकरुपमा विभाजन भएकाले एमाले सरकारलाई साथ दिन नसकिने बताएपछि प्रदेशको राजनीतिमा नयाँ हलचल सुरु भएको छ ।

गण्डकी प्रदेशसभामा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा यसअघि सरकारलाई दिएको समर्थन कायमै रहेको बताउँदै आएका छन् । तर, पार्टीका अन्य दुई सांसदले कुनै पनि हालतमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने अडान राखेका छन् ।

गण्डकी प्रदेशसभामा सरकारका लागि भइरहेको जोडघटाउमा राष्ट्रिय जनमोर्चाको भूमिका कस्तो रहन्छ भन्नेमा सर्वत्र चासो बढेको छ ।

यही चासोलाई मेट्न रातोपाटीले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापासँग संक्षिप्त वार्ता गरेको छ । प्रस्तुत छ, उनीसँगको वार्ताको सम्पादित अंश–

 

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनको कुरा चलिरहेको छ, यसमा राष्ट्रिय जनमोर्चाको खास धारणा के हो ?

यसमा अल्मलिनुपर्ने कुनै कारण नै छैन । हामीले पार्टीको आधिकारिक धारणा प्रष्ट राख्दै आएका छौं । हाम्रो तीनवटा अडान प्रष्ट छन् । हामी अहिलेको अवस्थामा सरकारमा जाँदैनौं । तीन वर्ष पहिले नेकपाबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङलाई गरेको समर्थन कायम छ । र, नयाँ परिस्थति सिर्जना भएको अवस्थामा पार्टीको तर्फबाट तुरुन्त निर्णय गर्छौं ।

हामीले यिनै तीनवटा अडान पहिलेबाटै राख्दै आएका छौं । तर, सत्ताको खेलमा लागेकाहरूले अविश्वास प्रस्ताव दर्ता नै नगरी अनावश्यकरुपमा अन्य पार्टीसँग खेल्न खोजे ।

गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गर्न एक चौथाई अर्थात् कम्तीमा १५ सांसदको हस्ताक्षर चाहिन्छ र त्यो संख्या काँग्रेससँग मात्र छ । तपाईले यो आरोप काँग्रेसलाई लगाउन खोज्नु भएको हो ?

यसमा कुनै द्विविधा नै मान्नुपर्दैन । यदि सत्ता परिवर्तन गर्न वास्तविक खेल खेलिएको हो भने अविश्वास प्रस्ताव दर्ता गरेर प्रक्रिया अगाडि बढाउँदा राम्रो हुन्छ । अघिपछि सत्ता स्वार्थका लागि कुम जोड्ने, अनि अविश्वास प्रस्ताव दर्ता गर्न डराएर अहिले साना पार्टीका बीच खेल्ने ! काँग्रेस र माओवादीले यसमा दोहोरो चरित्र देखाए ।

माओवादीले मन्त्रीबाट राजीनामा दिए पनि समर्थन कायम राख्दै सदनमा सरकारसँगै कुम जोडेर बसेको छ । यसले नयाँ परिस्थिति सिर्जना ग¥यो कि निरन्तरता कायम भयो ?

आफ्नै पार्टीबाट २÷२ जनाको नाम अगाडि सारेर नयाँ परिस्थिति बन्यो भन्दै हिँडेर नयाँ परिस्थिति बन्छ ? यो गर्न आवश्यक छैन । हामीलाई केरकार गर्नुभन्दा पहिले अविश्वास प्रस्ताव दर्ता गराऊ । हामी यो वा ऊ भन्दैनौं, तुरुन्त कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्छौं ।

काँग्रेस र माओवादीले त जनमोर्चाले उचित निर्णय लिन नसक्दा अविश्वास प्रस्ताव पेश गर्न नसकेको बताएका छन्  नि ?

हाम्रो पार्टीले सुरुदेखि नै प्रष्ट तीनवटा उडान राख्दै आएको छ । अहिलेसम्म पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै छ । अहिलेको अवस्थामा नयाँ बन्ने सरकारमा जाँदैनौं । नयाँ परिस्थिति सिर्जना भएको अवस्थामा पार्टीका तर्फबाट तुरुन्त निर्णय गर्छौं । अलमलमा हामी होइन, उहाँहरुनै हुनुहुन्छ । अविश्वास प्रस्ताव दर्ता नगरी बहुमत पु¥याउन पार्टीको ढोका ढोका चाहार्दै हुनुहुन्छ ।

अहिलेसम्म प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताउनुभयो, अब आगामी दिनमा जनमोर्चाले यो सरकारलाई समर्थन कायम राख्छ कि राख्दैन ?

मुलुकमा काँग्रेस र मधेसवादी दलहरुले पटक–पटक सरकार चलाए पनि उनीहरुले देश र जनताको पक्षमा काम गरेनन् । अझ मधेसवादीहरु त राज्यलाई नै विघटन गर्ने दिशातर्फ अगाडि बढेका छन् ।

त्यस कारण कम्युनिस्टहरु मिलेर सरकार चलाए राम्रो हुन्थ्यो भन्ने जनमोर्चालाई लागेको हो । तर, विडम्वना, कम्युनिस्ट पार्टीबीच ‘खानेबेलामा अभागीलाई रिस उठछ’ भनेजस्तो भयो । उनीहरुबीच नै झगडा, आन्तरिक द्वन्द्व, र अविश्वासको खाडल बढ्यो । आफ्नै घर जलाएर खरानी बाँड्दै हिड्ने अवस्थामा पुगे ।

काँग्रेस र माओवादीले तपाईलाई मुख्यमन्त्रीको अफर गरे भन्ने चर्चा छ, वास्तविकता के हो ?

हाम्रो पार्टीको सरकारमा जाने कुनै योजना छैन । सरकारमा नजाने पार्टीलाई न मुख्यमन्त्री, न त अर्को मन्त्री । सरकारमा जाने नीति पार्टीको छ । तर, प्रतिगमनकारीसँग मिलेर सरकारमा जाने योजना छैन । देशमा अस्थिरता उत्पन्न भयो । एक अर्थमा सर्वोच्चको फैसलाले प्रतिगमनलाई रोकिदिएको छ ।

प्रतिगमन नगरेका पार्टी नेपालमा छैनन्, हामीबाहेक । सरकारमा जाने हाम्रो नीति भए पनि खासमा अहिले प्रतिगमनकारीसँग मिल्न नसक्ने कारण सरकारमा जाँदैनौं । जेको अफर गरे पनि लोभिदैनौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप