मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केपी ओलीको राजीनामा माग्दै जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन

थप संकटमा गण्डकी प्रदेश सरकार, एमाले सरकार ढाल्न सघाउने निर्णय
बुधबार, ०१ वैशाख २०७८, २२ : ४४
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं  । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ ।

केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिए पनि जनमोर्चाले गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् । उसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ ।

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ’ अध्यक्ष केसीको वक्तव्यमा भनिएको छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ ।

 


 

गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’

गुरुङको सरकार ढलेपछि नयाँ बन्ने सरकारमा जनमोर्चा सहभागी नहुने स्पष्ट पार्दै केसीले भनेका छन्, ‘मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेका जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ ।’

केपी ओलीको राजीनामा माग

केन्द्रमा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कार्यशैली, जनहित र संसदीय प्रजातान्त्रिक मूल्य–मान्यताका विरुद्धका कार्य तथा आफ्नै पार्टीका निर्णयहरु समेतलाई उल्लंघन गर्ने कार्य र कार्यशैलीको विरोध गर्दै आएको अध्यक्ष केसीले बताएका छन् ।

ओली असंवैधानिक तरिकाले संसदको विघटन गरेपछि जनमोर्चाले उनको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको बताउँदै केसीको वक्तव्यमा केपी ओलीको विरोध गर्दै भनिएको छ, उनका त्यसप्रकारका क्रियाकलापहरूबाट २०६२÷६३ को महान जनआन्दोलनका उपलब्धीहरु गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा उत्पन्न भएको छ । देशमा प्रतिगमनको खतरा बढेको छ । देशी–विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको छ ।’

राजनीतिक अन्योलको स्थितिको अन्त्यका लागि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नै उपयुक्त रहेको केसीको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप