बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संक्रमित आधा पेटमा, स्वास्थ्यकर्मीको गोजी रित्तै !

काठमाडौँमा संक्रमितले उपचार पाउनै सकस, पाइहाले पनि छैन राम्रो सुविधा
मङ्गलबार, ०२ भदौ २०७७, १० : ३४
मङ्गलबार, ०२ भदौ २०७७

‘तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ । अब के गर्नुहुन्छ ? हस्पिटल जानुहुन्छ ?’

गत साताको सोमबार (२६ साउन) स्वास्थ्य सेवा विभाग मातहतको महामारी व्यवस्थापन शाखाका एक कर्मचारीले फोन गरेर सोधेपछि काठमाडौंको एक निजी कार्यालयमा कार्यरत महिला कर्मचारीले जवाफ फर्काइन्, ‘सर ! म हस्पिटल जान चाहन्छु, म होम आइसोलेसनमै बस्न चाहान्थेँ तर मलाई श्वास फर्न गाह्रो भइरहेको छ । म यसै पनि स्वास्थ्य समस्याले यसअघि अस्पतालमै बसेको थिएँ । मलाई अस्पतालमा बस्ने व्यवस्था मिलाइदिनु भए आभारी हुने थिएँ ।’

संक्रमण पुष्टि भएको ४ दिनअघि ती महिला राजधानीको ग्राण्डीसिटी अस्पतालको इमरजेन्सीमा दुई दिन बसेकी थिइन् । तर, स्वास्थ्यमा सुधार आउनुको साटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छिटो पिसाब आउने, खोकी लाग्नेजस्ता समस्या देखिएपछि उनी कोरोनाको परीक्षणका लागि साथीसँगै ललितपुरको सानेपास्थित स्टार अस्पताल पुगेकी थिइन् शनिबार अर्थात् साउन २४ गते ।

त्यसको भोलिपल्टै उनीसँगै कोरोना परीक्षणका लागि स्वाब दिएका चिनेकै दुई जनाको नतिजा आए पनि उनको भने आएन बरु स्वास्थ्य मन्त्रालयले थप जानकारी गराउँछ भनेर अस्पतालले जवाफ दियो ।

अस्पतालले पोजेटिभ भएको नभनेपछि उनी स्वास्थ्य मन्त्रालय र सम्बन्धित अधिकारीको जानकारीको प्रतीक्षामा थिइन् तर आइतबार दिनभर कुनै जानकारी आएन । र, भोलिपल्ट अर्थात सोमबारमात्रै ती कर्मचारीले फोन गरेर कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै उनलाई ‘हस्पिटल जानुहुन्छ कि के गर्नुहुन्छ ?’ भन्दै फोन गरेका थिए ।

‘आइतबारदेखि नै मलाई श्वास फेर्न निकै समस्या भइरहेको थियो । फेरि मेरो गाइनोसम्बन्धी समस्या पनि रहेकाले होम आइसोलेसनको साटो अस्पतालकै आइसोलेसन रोज्नुपर्ने बाध्यता थियो’, ती संक्रमित महिलाले रातोपाटीसँग भनिन्, ‘तर ती कर्मचारीले आइसोलेसन त कहीँ पनि खाली छैन । तपाईँको आफ्नो चिनजानको कोही छ ? भनेर उल्टै सोध्नु भयो ।’

सरकारी कर्मचारीले एउटा सामान्य नागरिक, त्यसमा पनि संक्रमितलाई त्यस्तो प्रश्न गरेपछि एकातिर रिसको पारो चढ्यो, तर केही सम्हालिँदै उनले भनिन्, ‘तपाईँले चिन्न नसकेको मान्छे, म कसरी चिन्न सक्छु ? म त एउटा सामान्य नागरिक न हुँ । राज्यले यत्रो खर्च गरेको छ, तपाईँहरुले व्यवस्थापन गर्नुपर्यो नि ?’

तर उनले उही पुरानो कुरा दोहोर्याउँदै राजधानीका सबै कोभिड अस्पताल संक्रमितले भरिएकाले बेड नै नभएको जवाफ फर्काए ।


हुन पनि लकडाउन खुला भएसँगै उपत्यकामा कोरोनाको सङ्क्रमण बढ्दै गएको छ । सोमबारसम्मको तथ्यांकअनुसार उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना संक्रमित छन् । जसमा २४१ जना उपचारपछि निको भएर घर फर्किए पनि बाँकी उपचारकै क्रममा छन् । अर्थात उपत्यकामा अहिलेसम्म सक्रिय संक्रमित एक हजार ८८३ जना छन् । जसमा काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित छन् ।

संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन निरन्तर आग्रह गर्दै आए पनि संक्रमितको ग्राफ बढेको बढ्यै छ । अहिले संक्रमितको ग्राफ बढेकै कारण सामान्य नागरिकले उपचार नपाउने अवस्था सिर्जना भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या बढ्दा अस्पतालमा बिरामी राख्ने बेडको अभाव हुन थालेको बताए । आगामी दिनमा अस्पतालहरुकै अवस्था अझ भयावह हुन सक्छ भन्दै उनले यसका लागि लक्षणसहितका संक्रमितलाई मात्र अस्पतालमा राख्ने व्यवस्था गर्न सकिने धारणा राखे । लक्षणविहीन संक्रमितले तोकिएको मापदण्ड पालना गरेर घरमै रहेर पनि स्वास्थ्यलाभ गर्न सक्ने उनले बताए ।

एकातिर संक्रमितको संख्या बढ्दै जानु र अर्कोतिर सीमित कोभिड अस्पतालको आइसोलेसन बेड भरिँदै जाँदा सरकारले थप पूर्वाधार विस्तार गर्नुको साटो गैरजिम्मेवार बन्नुले संक्रमितलाई तनावमाथि तनाव थप्ने काम भएको छ ।

सरकारले संक्रमितको पहिचान र उपचारमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रतिपक्षीदेखि विभिन्न सरोकारवाले आलोचना गर्दै आएका छन् । आलोचनालाई सकारात्मक रुपमा ग्रहण गर्दैै कमी कमजोरी सच्याउनुपर्नेमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने अहिले सरकारको आलोचना गर्नेलाई ‘मोतिबिन्दु’ लागेको संज्ञा दिन्छन् त कहिले ‘मति सप्रियोस्’ भन्ने जस्ता अभिव्यक्ति दिन्छन् ।

कृष्ण जन्माष्टमीको दिन थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा राम्रो काम गरे पनि आलोचना गरेको भन्दै ‘मति सुधार्न’ सुझाएका थिए ।

त्यसअघि उनले साउन १२ मा वीर अस्पतालको कार्यक्रममा सरकारको काम नदेख्नेलाई मोतियाबिन्दु लागेको अभिव्यक्ति दिएका थिए । स्वास्थ्यमन्त्रीले मात्रै होइन, स्वयम् प्रधानमन्त्रीले समेत कोरोना नियन्त्रणमा सरकारले उत्कृष्ट कार्य गरेको बताउँदै आएका छन् भने कोरोना ठूलो रोग नभएको र बेसार पानीले नै ठीक हुने अभिव्यक्ति दिँदै आएका छन् ।

तर, अहिले संक्रमितले आइसोलेसनमा त्यही ‘बेसार पानी खाएर र स्वास्थ्यमा गाह्रोसारो पर्दा चिकित्सकको साथ पाउने’ आसा राखे पनि अस्पतालमा आइसोलेसन बेड नपाएका हुन् । 

००००

ती संक्रमित महिलाका अनुसार सरकारी निकायबाटै पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ भएपछि केही चिनेजानेकासँग हारगुहार गरेपछि मात्रै उनले पाटन अस्पतालमा बेड पाएकी थिइन् । उनका अनुसार पाटन जानुअघि उनलाई त्रिविमा जान भनिएको थियो । बल्लबल्ल एम्बुलेन्स बोलाएर त्यहाँ पुग्दा आफूलाई बेड नभएको भनेर त्यसै फर्काइएको उनले गुनासो गरिन् । 

‘सुरुमा त्रिविले बेड छ भने पनि चारैतिर फोन गरेर जुटाइएको एम्बुलेन्सलाई त्यत्तिकै फर्काइदियो’, उनले भनिन्, ‘त्यसपछि विभिन्न उच्च तहका व्यक्तिहरुसँग भनसुनपछि बल्लबल्ल पाटनमा बेड पाइयो ।’

बल्लतल्ल बेड पाए पनि पाटन अस्पतालको भित्री कथा झन् डरलाग्दो रहेको उनको अनुभव छ । मंगलबार आठौँ दिनको आइसोलसन दैनिकी बिताउँदै गरेकी उनी यही अवस्थामा अस्पताल बस्दा रोगमाथि रोग थपिने हो कि भन्ने त्रासमा आफू रहेको बताउँछिन् ।

अस्पतालले सरसफाइमा कुनै ध्यान दिएको छैन । शौचालय जाम भइ भरिएर माथिसम्म आएको छ भने दुर्गन्ध उस्तै छ । एउटै हलमा बस्ने ७–८ जना संक्रमितले प्रयोग गर्ने शौचालय एकै भएको उनले बताइन् ।

‘यहाँ केही मतलब छैन, एकपटक तन्ना, ओढ्ने, खोललगायत लामो समयसम्म पनि फेरिँदैन । ट्वाइलेट फोहोरले दुर्गन्धित छ । बाथरुम भरिएर भित्र जान सकिँदैन । दिसापिसाव गर्न नै समस्या रहेको छ’, उनले पाटन आइसोलसनको समस्या सुनाइन्, ‘संक्रमितले सरसफाइमा ध्यान दिनुपर्छ, नुहाइधुवाइ गर्नुपर्ने पनि हुन्छ । तर, धारो नै छैन । कसैले व्यक्तिगत सफाइमा ध्यान दिन पाएको अवस्था छैन ।’

आइसोलेसन यतिसम्म फोहोर र दुर्गन्धित होला भन्ने आफूले कल्पना समेत नगरेको रातोपाटीको सम्पर्कमा आएका अर्का एक संक्रमितको भनाइ छ । ‘ट्वाइलेटमा गएर पिसाव गर्न खोज्यो, भरिएको हुन्छ । संक्रमितले टेकेको फोहोर आइसोलेसन वार्डसम्म आइपुग्छ,’ आइसोलेसको दुर्गति सुनाउँदै उनले भनिन् ।

उनका अनुसार अर्को समस्या त के छ भने आइसोलेनमा १०–१२ दिन बिताइसकेकाको छेउमै नयाँ संक्रमित ल्याएर राखिदिँदा थप जोखिम देखिएको छ र यसमा अस्पताल प्रशासनले ध्यान दिने गरेको छैन ।  

‘जो ठीक हुन लागिसकेको छ । उसकै नजिक फेरि नयाँ संक्रमित ल्याएर राख्ने काम भएको छ । यो गलत हो’, उनको भनाइ छ ।

आइसोलेसनमा तनावै तनाव !

स्वास्थ्यमा थप समस्या देखिएकै कारण र अस्पतालमा राम्रो हेरचाह होला भनेर आफू भर्ना भए पनि कुनै सुविधा नरहेको संक्रमित महिलाले बताइन् ।

‘अस्पतालको आइसोलेनसमा बस्नु भन्दा त होम आइसोलेसनमा बस्नु ठीक रहेको यहाँ आएपछि बुझेँ’, उनले भनिन्, ‘तर सबैको घरमै आइसोलेसन बस्न सम्भव पनि छैन । अस्पतालको पनि यस्तो नरकीय अवस्था छ ।’

यदि कसैमा संक्रमण पुष्टि भएको छ र अन्य समस्या छैन भने सम्भव भएसम्म होम आइसोलेसनमै बस्न उनको सुझाव छ ।

उपचार कस्तो ?

हरेक दिन बिहान डाक्टर राउण्डमा आउँछन् । उनीहरुले कोरोनासँगै अन्य समस्या भएकालाई थप उपचार गर्नुपर्ने भए आवश्यक सुझाव दिन्छन् । तर लक्षण नदेखिएकाको हकमा प्रेसर, मुटुको चाल र ज्वरो जाँच्ने बाहेक अरु केही हुँदैन, न त आवश्यक काउन्सिलिङ नै । लक्षण नदेखिएकाले पाउने उपचार भनेको नर्सहरुले ब्लड प्रेसर हेर्ने, मुटुको धड्कन हेर्ने, अनि ज्वरो हेर्नेबाहेक अरु केही नहुने संक्रमितहरु बताउँछन् ।

संक्रमितलाई पौष्टिक तत्व पाइने खानेकुरा दिनुपर्नेमा सामान्य खानेकुरा मात्रै दिने गरिएको छ । जबकी कोरोनाको सुरुवाती चरणमा सरकारी अस्पतालको आइसोलेसनमा निकै राम्रो सुविधा दिइएको थियो । त्यतिबेला दुध, केरा, अण्डा, फलफूललगायतका पौष्टिक तत्वको व्यवस्था हुनुका साथै मानसिक र शारीरिक तन्दरुष्तिका लागि ध्यान र योगामा समेत जोड दिइएको केही महिनाअघि संक्रमित भएर निको भएकी धादिङकी एक युवतीले बताइन् । तर पाटनमा संक्रमितको हेरचाह र उपचारको अवस्था दयनीय रहेको संक्रमितहरु बताउँछन् ।

आधा पेट खाना, छैन गुणस्तर

संक्रमितहरुका अनुसार बिहान ८ बजेदेखि ९ बजेको बीचमा प्लाष्टिकको प्लेटमा थोरै चना र अण्डाको व्यवस्था गरिएको हुन्छ । अनि १२ बजे हुन्छ खाना । त्यसपछि राति ८ बजेतिर थोरै खाना । प्याकिङमा थोरै भात, प्रायःजयो घिरौँला र आलुको तरकारीका साथै दाल हुन्छ । त्यो खाना अपर्याप्त रहेको संक्रमितहरु बताउँछन् ।

८ दिनदेखि उपचाररत ती संक्रमित महिला भन्छिन्, ‘धेरैको गुनासो आधा पेट खाएर कसरी कोरोनासँग लड्नु भन्ने छ । सक्ने र पहुँच हुनेले र बाहिरबाट केही हाइजेनिक खानेकुरा मगाउनु भएको छ । तर धेरैको आ–आफ्नै बाध्यता र समस्याका कारण त्यही आधा पेट खाएरै कोरोनासँग लडिरहनु भएको छ ।’ भोक मेट्न तातोपानी खानुपर्ने बाध्यता छ ।

पाटनमा १४ दिन बसेपछि मात्रै दोस्रो परीक्षणका लागि स्वाब लिने गरिएको छ । संक्रमितलाई जथाभावी राख्दा र वार्ड सरसफाइ नहुँदा समयमा संक्रमण निको नहुने समस्यासमेत देखिएको छ । ती संक्रमित महिला भन्छिन्, ‘यस्तो अस्तव्यस्त र फोहोर ठाउँमा बसेर कसरी अब नेगेटिभ रिपोर्ट आउला ? यसमा अस्पताल प्रशासनको ध्यान जान जरुरी छ ।’

अस्पतालभित्रको लापरवाहीमात्र होइन, संक्रमित पहिचान गर्ने क्रममा पनि उत्तिकै लापरवाही भइरहेको उनको भनाइ छ । संक्रमित भएर आफू आइसोलेसनमा आएर बसेको एक साता बितिसक्दा पनि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको हालसम्म पनि कन्ट्याक्ट ट्रेसिङ नभएको उनले बताइन् ।

अनेक तनावका बीच संक्रमितहरु सकेजति भौतिक दूरी कायम गरेर दिन कटाउने प्रयासमा छन् । कोही उपलब्ध भएका किताव पढ्छन् त कोही आफ्ना सुखदुःखका अनुभव सेयर गर्छन् । कोही जोक र मिडियामा आएका समाचार समेत मोबाइलमा बढेर एकअर्कालाई सुनाउँछन् ।

यसो त त्यहाँ कार्यरत नर्सहरु समेत समस्यामा रहेको पाइएको छ । पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानका ती नर्सहरुले कोभिड–१९ जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । उपत्यकाका अन्य अस्पतालले त्यस्तो भत्ता पाए पनि पाटनमा हालसम्म नपाएको भन्दै नर्सिङ डाइरेक्टरलाई पत्र नै लेखेपनि हालसम्म सम्बोधन हुन नसकेको एक नर्सले बताइन् ।

रकम माग्दै पत्र पठाउँदा तपाईँहरुको लागि ग्लोब, पन्जा, पीपीईजस्ता सामग्रीमा धेरै रकम खर्च भएको भन्दै रकम भुक्तानीमा अल्झाउने काम भएको ती नर्सको भनाइ छ ।

पाटन अस्पतालका निर्देशक डा रवि शाक्यले हाल कोभिड अस्पतालमा क्षमताभन्दा बढी संक्रमित रहेकाले व्यवस्थापनमा केही समस्या रहेको स्वीकारे । उनले रातोपाटीसँग भने, ‘अस्पतालमा हाल नयाँ संक्रमित भर्ना गर्ने अवस्था छैन । हाल आइसोलेसनमा १०५ जना संक्रमित हुनुहुन्छ । यो संकटको बिचमा हामीले सकेसम्म राम्रो सेवा दिलाउने प्रयास गरिरहेका छौं ।’

उनका अनुसार अस्पतालमा कोभिडको उपचारका लागि ६० आइसोलेसन बेड र २१ वटा आइसीयू छ । तर, अहिले क्षमताभन्दा बढी संक्रमित भएकाले केही असुविधा भएको उनी बताउँछन् ।

संक्रमितबीच दूरी कायम नभएको, सरसफाइमा ध्यान नदिइएको, पौष्टिक आहार र खानामा पर्याप्त ध्यान नदिइएको जस्ता गुनासो आइसोलेसनमा रहेका संक्रमितबाट आइरहेको सम्बन्धमा सोधिएको प्रश्नमा पनि उनले संकटको समयमा भनेजस्तो सेवा प्रवाह गर्न नसकिएको जवाफ दिए । सकेसम्म राम्रो गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

‘हामीले यो समयमा इमान्दार भएर प्रयास गर्ने हो । स्टान्डर्ड सुविधा नभएको हुन पनि सक्छ । तर, हरेक मान्छेलाई अलग राखिएको छ । कोही डराउनु पर्ने अवस्था छैन’, उनले भने, ‘केही कमजोरी देखिए त्यसलाई सुधार्दै जान पनि अस्पताल तयार छ ।’  

क्यान्टिनबाट सबैलाई समान किसिमको खाना पठाइएको भन्दै उनले कसैले भोकै बस्नु परेको भए आफूहरुलाई जानकारी गराउन आग्रहसमेत गरे । आफूले त्यस्तो जानकारी पाए थप सुविधा उपलब्ध गराउन तयार रहेको डा शाक्य बताउँछन् । निको हुन लागेका संक्रमित नजिकै अर्को नयाँ संक्रमित ल्याएर राख्दा पनि जोखिमको सम्भावना नहुने भएकाले संक्रमित आत्तिन जरुरी नरहेको पनि उनले बताए । 

देशभर संक्रमितको ग्राफ बढिरहेको र पाटनमा जस्तै अन्य कोभिड अस्पतालमा पनि आइसोलेसनको अवस्था खराव भएको गुनासो बढिरहँदा सरकार भने व्यवस्थापकीय सुधारको पहलकदमी लिन चुकेको मात्र होइन, सुधारको खाँचो औंल्याउनेहरुलाई नै कहिले मोतिबिन्दु लागेको त कहिले मति बिग्रिएको भन्दै पूर्वाग्रही टिप्पणीमार्फत आफ्ना कमी कमजोरी ढाकछोप गरिरहेको हुन्छ । जसले गर्दा आइसोलेसनको क्षमता विस्तार र स्वास्थ्य सामग्रीको उपलब्धताका बारेमा सरकारले आफ्नो दायित्व नै महसुस गर्न सकिरहेको छैन भने आगामी दिनमा संक्रमितको संख्या यही रफ्तारमा बढ्ने हो भने अझ भयावह अवस्थाको सामना गर्नु नपर्ला भन्न सकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप