शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महानगर बजेट : शहर–शहर बीचमै यति ठूलो अन्तर

भरतपुर महानगरपालिकाको बजेट सबैभन्दा धेरै २३ प्रतिशतले बढ्यो, सबैभन्दा ठूलो काठमाडौँको
बिहीबार, ११ असार २०७७, ११ : १७
बिहीबार, ११ असार २०७७

काठमाडौँ । गाउँ र शहरबीचको फरक के हो ? यो सबैलाई थाहा हुन्छ । तर, शहर र शहरबीचकै फरक के हो त्यो जोकोहीलाई थाहा हुँदैन । तर यहाँ शहर र शहरबीचकै फरक खोज्नुपर्ने अवस्था आएको छ ।

प्रसङ्ग हो बजेटको । असार १० गतेभित्र बजेट गाउँ/नगरसभाको अधिवेशन बोलाउनुपर्ने कानुनी प्रावधानअनुसार देशभरका अधिकांश स्थानीय तहले नगरसभाको नयाँ अधिवेशन बोलाए । त्यसमध्ये धेरैजसोले बुधबार नै बजेट प्रस्तुत गरे भने केही स्थानीय तहहरुले बुधबार नीति तथा कार्यक्रम मात्रै ल्याए । जनकपुर उपमहानगरपालिका जस्ता केही ‘विवादित’ स्थानीय तहहरुले भने सो दिन अधिवेशन बोलाउन समेत सकेनन् । ६ महानगरपालिकामध्ये सबैले बुधबार अधिवेशन बोलाएका छन् । जसमध्ये ५ वटा महानगरपालिकाले बजेट घोषणा सार्वजनिक भएको छ ।

देशकै पहिलो काठमाडौँ महानगरपालिकादेखि सबैभन्दा कान्छो विराटनगर महानगरपालिकाले समेत नगरसभा बोलाएर आर्थिक वर्ष २०७७/७८ का लागि बजेट र यससँग आश्रित विधेयकहरु प्रस्तुत गरेका हुन् । काठमाडौँ महानगरपालिकाबाहेक अरुले भने नीति तथा कार्यक्रम समेत बुधबारकै सभामा प्रस्तुत गरे । काठमाडौँ महानगरपालिकाले भने एक साता अघि नै त्यस्तो कार्यक्रम पेश गरिसकेको थियो । तर, ललितपुर महानगरपालिकाले भने बुधबार नीति तथा कार्यक्रम घोषणा गरेर बजेटको अंक मात्रै घोषणा गरेको छ ।

तर, राज्यले नै घोषणा गरेको महानगरपालिको बजेट, त्यसको संरचना र अन्तरवस्तुले महानगरपालिकाबीचको निकै ठूलो असमानता देखिएको छ । सामान्यतया उच्च जनसंख्या र आन्तरिक आयस्रोत भएको क्षेत्रलाई महानगरपालिका घोषणा गर्ने गरिए पनि महानगरहरुकै बीचको असमानता भने तुलना नै गर्न नसकिने खालको देखिएको हो ।


बजेटको आकार

आर्थिक वर्ष २०७७/७८ का लागि ६ वटा महानगरपालिकाहरुले कुल ३९ अर्ब २१ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक ल्याएका छन् । यसमध्ये सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरको छ भने सबैभन्दा सानो बजेट विराटनगर महानगरको छ ।

काठमाडौँ महानगरपालिकाको बजेट १६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँको छ भने विराटनगरको बजेट ३ अर्ब ३७ करोड ८१ लाखको  छ । त्यस्तै, पोखरा महानगरपालिकाले ६ अर्ब १९ करोड ७१ लाख, भरतपुर महानगरपालिकाको ४ अर्ब १५ करोड ६४ लाख, वीरगञ्ज महानगरपालिकाको बजेट ३ अर्ब ८६ करोड ५१ लाखको छ । ललितपुर महानगरपालिकाले भने ४ अर्ब ७९ करोड १५ लाखको बजेट सार्वजनिक गर्नेगरी बुधबार अंक मात्रै तोकेको छ ।

यो वर्ष सबैभन्दा बढी बजेट भएको काठमाडौँको र सबैभन्दा कम भएको विराटनगरको भन्दा ५ गुणा ठूलो छ । काठमाडौँ महानगरपालिकाको यो बजेट ललितपुर, भरतपुर, बीरगञ्ज र विराटनगर महानगरपालिकाको कुल बजेटभन्दा पनि बढी हो । महानगरपालिकको कुल बजेटको हिस्सामा काठमाडौँ एक्लैले ४३ प्रतिशतको हिस्सा ओगट्छ । त्यस्तै पोखराले १६, ललितपुरले १२, भरतपुरले र बीरगञ्जले करिब १०/१० प्रतिशत र विराटनगरले ९ प्रतिशतको हिस्सा ओगट्छ ।

बजेटको वृद्धिदर

बजेटको वृद्धिदरको आधारमा पनि यो वर्ष निकै ठूलो भिन्नता देखिएको छ । यो वर्ष भरतपुर महानगरपालिकाको बजेट करिब २३ प्रतिशतले बढेर आएको छ । भरतपुरले यो वर्ष ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अघिल्लो वर्ष भरतपुरको बजेट ३ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्रै थियो । अहिलेको बजेट अघिल्लो बजेटभन्दा २३.२२ प्रतिशतले बढी हो ।

बजेटको आकार बढाउने अर्को महानगर काठमाडौँ हो । काठमाडौँले अघिल्लो वर्षको १५ अर्ब ५० करोड ७० लाखको बजेटलाई यो वर्ष १६ अर्ब ८२ करोड ७३ लाख पुर्याएको हो । यो करिब ८.५१ प्रतिशतको वृद्धि हो ।

यीबाहेक ४ वटा महानगरपालिकाको बजेटमा भने भारी गिरावट आएको छ । त्यसमा सबैभन्दा बढी गिरावट विराटनगर महानगरको छ । सो महानगरपालिकाको बजेट करिब ३४ प्रतिशतले घटेर आएको छ । त्यस्तै, पोखराको १७ प्रतिशत, वीरगञ्जको १४ प्रतिशत र ललितपुर महानगरपालिकाको बजेट ७ प्रतिशतले घटेर आएको छ । 

विराटनगर महानगरले अघिल्लोे वर्ष ५ अर्ब १२ करोडको बजेट ल्याएको थियो । यसवर्ष सो आकार ३ अर्ब ३७ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, पोखरा महानगरपालिकाले ल्याएको ६ अर्ब १९ करोड ७१ लाखको बजेट अघिल्लो वर्षको ७ अर्ब ५४ करोडको बजेटको तुलनामा १७.८१ प्रतिशतले कम हो ।

त्यस्तै, वीरगञ्ज महानगरको बजेट ४ अर्ब ४८ करोड १३ लाखबाट १३.७५ प्रतिशतले घटेर यो वर्ष ३ अर्ब ८६ करोड ५१ लाखमा सीमित भएको छ । ललितपुरले तोकेको बजेट आकार भने अघिल्लो वर्षको भन्दा ७.४९ प्रतिशत कम हो । ललितपुरले अघिल्लो वर्ष ५ अर्ब १७ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएकोमा यो वर्ष ४ अर्ब ७९ करोड १५ लाखको बजेट ल्याउने भएको हो ।

कोभिड–१९ पछि स्थानीय तहका सबै सरकारको समस्या उस्तै नै छ । अझै महानगरपालिकाहरुको समस्या त झनै फरक छैन । भीडभाड नियन्त्रण पनि गर्नुपर्ने र आर्थिक गतिविधि सञ्चालन समेत गर्नुपर्ने अवस्था सबै क्षेत्रमा देखिन्छ । यही कारण सबै महानगरको आर्थिक गतिविधि प्रभावित हुने देखिन्छ । त्यसका बाबजुद पनि बजेटको आकारमा भने महानगरपालिकाहरुबीच निकै ठूलो असमानता देखिएको हो ।

आन्तरिक स्रोत परिचालन

धेरै जनसंख्या र पूर्वाधार रहेका महानगरपालिकाहरुको आम्दानीको स्रोत निकै संकुचित हुने अनुमान गरिएको छ । सबैभन्दा धेरै आन्तरिक आम्दानीको लक्ष्य लिएको काठमाडौँ महानगरपालिकाले ६ अर्ब ७६ करोड रुपैयाँ आन्तरिक स्रोतबाट परिचालन गर्ने अनुमान छ । यो कुल बजेटको करिब ४० प्रतिशत हो । त्यस्तै, पोखरा महानगरपालिकाले २ अर्ब ३६ करोडले आन्तरिक स्रोतबाट परिचालन गर्ने लक्ष्य लिएको छ । यो कुल बजेटको करिब ३८ प्रतिशत हो । 

अरु महानगरको भने आन्तरिक स्रोत परिचालन निकै कमजोर छ । भरतपुर महानगरले ४ अर्ब १५ करोडको बजेटमध्ये आन्तरिक स्रोतबाट ९० करोड उठाउने लक्ष्य लिएको छ । यो करिब २१ प्रतिशत मात्रै हो ।

विराटनगर महानगरले पनि कुल बजेटको करिब २१ प्रतिशतले हुने ८९ करोड ८२ लाखको आन्तरिक स्रोत परिचालनको लक्ष्य लिएको छ ।

वीरगञ्जले यस्तो स्रोतबाट ५९ करोड ७५ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । यो करिब १५ प्रतिशत मात्रै हो । ललितपुरले बजेटको विस्तृत आकार सार्वजनिक नगरेको सो महानगरको स्रोतको अवस्था खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप