शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : रेशम चौधरीलाई छुटाउने प्रचण्डको प्रतिबद्धता, माघीमा गोरु जुधाइको रौनक

बुधबार, ०१ माघ २०७६, १८ : ५०
बुधबार, ०१ माघ २०७६

काठमाडौं । आज माघ १ गते देशभर कतै ‘माघी’ त कतै ‘माघे संक्रान्ति’ पर्व मनाइएको छ । थारु समुदायले आफ्नो महत्त्वपूर्ण चाड ‘माघी’  लाई नयाँ वर्षको रुपमा मनाएका छन् भने मागर समुदायले पनि यो पर्वलाई नयाँ वर्षको रुपमा मनाएका छन् । 

देशका विभिन्न भागमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा यो पर्वलाई मनाएका छन् । मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रुपमा समेत माघे संक्रान्ति मनाउने गर्छन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने मगर समुदायले बुधबार काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन् । 


त्यसैगरी, थारु समुदायले पनि काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी ‘माघी’ मनाएका छन् । विभिन्न जिल्लाबाट काठमाडौ उपत्यकामा आएर बसोबास गरेका थारु समुदायले माघी महोत्सवका अवसरमा बुधबार बिहान आआफ्ना भेषभुषा र संस्कृति झल्कने पहिरनसहित र्याली निकालेका थिए । महोत्सवमा सहभागी थारु समुदायले रेशम चौधरीको रिहाइको माग समेत गरेका छन् । 

त्यसैगरी, माघी महोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन समेत गरेका छन् । 

प्रचण्ड

सम्बोधनका क्रममा अध्यक्ष ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको झूटो आरोप लगाइँदै आइएको बताए । माघी महोत्सवमा अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेको भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए । 

राज्यले मारेका मानिसहरुको पनि आफ्नै टाउकोमाथि हाल्ने गरेको भन्दै उहाले नगरेको कामको पनि दोष लगाइएको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी समेत गरे । उनले सम्बोधनका क्रममा झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए ।

अध्यक्ष प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझै पनि त्यसका लागि सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याए । 

समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको अध्यक्ष प्रचण्डले बताए ।


गोरु 

नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झै यसवर्ष पनि गोरु जुधाएर माघेसंक्रान्ति पर्व मनाइएको छ । पछिल्लो एक दशक यता तारुकाको गोरु जुधाइ प्रतियोगिता चर्चित बन्दै गएको छ ।

यही गोरुजुधाइ प्रतियोगितामा हेर्नकै लागि काठमाडौँसहित विभिन्न जिल्लाबाट मानिसहरु पुग्ने गरेका छन् । बुधबार स्थानीय चन्दनीस्थित मैदानमा आयोजित गोरु जुवाइ प्रतियोगितामा यसवर्ष २२ हल गोरु जुधाइएको माघे संक्रान्ति गोरु जुधाइ मेला आयोजक समितिले जनाएको छ । 

कतिपयले पशुलाई जुधाएर रमाइलो गर्नु गलत भन्दै आलोचना गरेपछि तारुकाको रौनक भने फरक थियो । नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुँदै आएको बताइन्छ । यो चलन कहिलेबाट शुरु भयो भन्ने एकिन इतिहास नभएपनि इतिहासलाई हेर्दा विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसँग यो परम्परा जोडिएको नजिर छ ।

तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको पनि बताइन्छ । 

बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कार स्वरुप माघे संक्रान्तिका दिन गोरु जुधाएको किंवदन्ती छ । र त्यसै दिनदेखि प्रत्यक वर्ष माघे सङ्क्रान्तिका दिन तारुकामा गोरु जुधाइ कार्यक्रम हुँदै आएको भनाइ छ । 

देवघाट

धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वास रहेको छ ।

माघे सङ्क्रान्तिका दिनदेखि कुम्भ स्नानसमेत शुरु हुने कारणले देवघाटधाममा स्नानका लागि तीर्थालुको भीड लाग्ने गर्दछ । धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघे सङ्क्रान्ति स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

स्थानीय प्रशासन, सरकारी निकाय, विभिन्न सङ्घसंस्था सबैको पहलमा देवघाट जाने बाटोघाटो निर्माणदेखि सुरक्षा व्यवस्था चुस्त बनाइएको थियो ।  देवघाटको वेणी सङ्गमस्थलमा त्रिशूली नदीतर्फ गहिरो भएकाले यहाँ विशेष सावधानी अपनाउँदै काली गण्डकीतर्फ मात्रै नुहाउने व्यवस्था गरिएको घिमिरेले बताए । स्नानघाटलाई सुरक्षित पार्नका लागि डोरीले सुरक्षा घेरा निर्माण गरिएको छ ।

राष्ट्रपति 

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकासँग माघे संक्रान्ति पर्व मनाइकी छन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा ‘बालबालिकासँग राष्ट्रपति’ नाम दिइएको कार्यक्रममा राष्ट्रपति भण्डारीले बालबालिका भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरुका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह समेत गरिन् । 

उनले बालबालिकाको शिक्षा र स्वास्थ्यका साथै उनीहरुलाई असल नागरिक बनाउन लगानी बढाउन र हेरचाहमा कुनै कमीकमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास पनि व्यक्त गरिन् ।

अर्थमन्त्री 

नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याको बारेमा जानकारी गराएका छन् । 

बुधबार अर्थमन्त्रालयमा पुगेर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट गरी पछिल्लो समय उत्पन्न समस्याको विषयमा जानकारी गराएका हुन् । 

अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको, बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी गराएको बताए ।

अध्यक्ष दुलाले अर्थमन्त्री खतिवडाले आफुहरुलाई बैंक कर्जाको विषयमा सुधार गर्ने तथा भन्सार दरमा समेत केही कम गर्न सकिने र दुई चार दिन मै त्यसको समाधान गर्ने आश्वासन समेत दिनुभएको बताए ।


नेपाल राष्ट्र बैंकले हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्र प्रभावित भएको छ । व्यवसायीहरुले सोही कारण २० प्रतिशतले व्यापार घटेको बताएका छन् ।  

योग दिवस

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका छन् ।
विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताए ।

राष्ट्रिय योग दिवसका अवशरमा राजधानीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताए । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्यकले देखाएको बताउँदै उहाँले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने उहाँले बताए ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताए । योग दिवसका अवशरमा एक दिन कार्यक्रम गरेर मात्रै नहुने बताउँदे उहाँले यसलाई जनजनमा पु¥याउन अभियान नै चलाउनुपर्ने बताए ।

स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वालाई एकतावद्ध गर्न सकिने बताए । उनले योगसम्बन्धि अध्ययन हुने राष्ट्रियस्तरको शिक्षालयको आवश्यकता समेत औल्याए । भ्रमणवर्ष घोषणा गरेर मात्रै पर्यटक नआउने भएकोले योग, साधनाबाट लाखौं पर्यटक भित्र्याएर महिनौंसम्म नेपालमै राख्न सकिने बताए ।

राष्ट्रिय एकताः योगको सान्दर्भिकता नारा सहित बुधबार योग दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललयको आयोजनामा दिवस मनाइएको हो । 

धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ । 
बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने भन्ने अध्ययनकै विषय रहेको बताए । उनले बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवस्यकता रहेको बताए । उनले नेप्सेमा समय सापेक्ष सुधारको आवस्यकता रहेको समेत बताए । अहिले रियलटाईममा कारोबार हुन नसकेको बताउँदै त्यस्तो कारोबारका लागि नेप्सेले पनि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आर्थिक वर्ष २०७६÷२०७७ को अर्धवार्षिक समिक्षा प्रस्तुत गर्दै बोर्डले धितोपत्र बजारको सुधारका लागि प्रयाप्त काम गरिरहेको बताए ।

उनले पूँजीगत लाभकारको गणनालाई थप सरल र सहज बनाउने क्रममा लगानीकर्ता स्वयंले सिडिएससिको वेबसाइटमार्फत आधार मूल्य प्रविष्ट गरी पेश गर्न सकिने व्यवस्था गरिएको बताए । उनले २१ धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबार गर्न अनुमति पाइसकेको र ३ वटाले कारोबार सुरु गरिसकेकाले बजार सुधारका प्रयासहरु सकारात्मक भएको बताए ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्रादेशिक ब्रोकरको लाइसेन्स दिने सम्बन्धमा अध्ययन भइराखेको जानकारी समेत दिए । उनले प्रादेशिक ब्रोकर दिन नेप्से सक्षम रहेको बताउँदै बोर्डले यस सम्बन्धी निर्णय छिट्टै लिने समेत बताए ।

कार्यक्रममा पूँजी बजारमा देखिएका समस्याको समाधानका लागि नेपाल सरकारले गठन गरेको समितिले दिएको ५८ बुँदे सुझाव मध्ये ६८ प्रतिशत सुझावको कार्यान्वयन भइसकेको कार्यकारी निर्देशक गिरीले बताए ।

शिक्षक युनियन

माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हिस्टुनले साविकको उमाविक शिक्षक र शिक्षाको भविष्य एनेमाथि नै निर्भर रहेकाले त शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको हो । 
हिस्टुनले महाश्रम शर्माको अध्यक्षतामा गठित दरबन्दी पुर्नवितरण सुझाव कार्यदलके प्रतिवेदन अनुसार साविक उमावि तहमा ७ हजार ८०५ थप दरबन्दी सिर्जना गरी जेष्ठताका आधारमा शिक्षकहरुलाई पदस्थापनाका साथै विशेष सुविधा सहित स्थायी प्रकृयामा लानुपर्ने माग पनि गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप