शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पास्टरको कालो कर्तुत : एक हजारमा कोठा ‘बुक’ गरेर गेष्ट हाउसमा युवती

बुधबार, ०१ माघ २०७६, १७ : ५९
बुधबार, ०१ माघ २०७६

सोमबार ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पास्टर धुव्रबाबु भनिने विश्वास जोशी बलात्कारको आरोपमा पक्राउ परे । 

आफूसँग शारीरिक सम्बन्ध राखे पाप नष्ट हुने भन्दै २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जोशीलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

चर्चमा नियमित गइरहने एक युवतीले आफूलाई जबरजस्ती गरेको भन्दै उजुरी दिएपछि जोशीलाई पक्राउ गरेर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले बताए ।

के थियो घटना ?
सानै उमेरमा बालविवाह गरेकी ललितपुरकी स्वस्तिका (नाम परिवर्तन) शारीरिक रुपमा अस्वस्थ छिन् । भागी बिहे गरेकी स्वस्तिकाको वैवाहिक जीवन सुखमय भएन । अन्ततः परिवारले फर्काएर ल्यायो ।

६ महिनाअघि परिवारकै सल्लाहमा स्वस्तिकालाई कोटेश्वरमा रहेको एक संरक्षण केन्द्रमा पठाइयो । संरक्षण केन्द्रकी सञ्चालिका सीता (नाम परिवर्तन) ले स्वस्तिकाको हेरचाहको जिम्मा लिइन् । 

विस्तार–विस्तारै स्वस्तिकाको व्यवहारमा फरकपन आउन थाल्यो । सीताले एउटा कस्मेटिक पसल स्वस्तिकाको लागि खोल्ने सोच बनाइन् । तीन महिनाअघि नभन्दै सीताले स्वस्तिकाको लागि पसल खोलिदिइन् । 

कस्मेटिक पसल नख्खिपोटमा खोलिएको थियो । सीता दिनभरी अफिसको कामले कोटेश्वरतिर हुन्थिन् भने स्वस्तिका नख्खिपोटमा रहको कस्मेटिक पसलमा । पसलमा आउने ग्राहकहरुसँग मिठो बोली बोल्ने गर्थिन् स्वस्तिका ।

नख्खिपोट र कुसुन्तीको दूरी ७५० मिटर मात्र हो । कुसुन्तीमा धुव्रबाबु भनिने विश्वास जोशीको चर्च थियो । जहाँ जोशीलाई पास्टरको नामले चिनिन्थ्यो । 

स्वस्तिकालाई पास्टरले रोग निको बनाइदिने खबर सुनिन् । उनले सुनेकी थिइन्, ‘शारीरिक रुपमा अस्वस्थ रहेका मान्छेहरु चर्चमा जाने गर्छन् । उनले निको पारेर पठाउनेछन् ।’ सोही आशा बोकेर उनी मंसिर २० गते  चर्च गइन् । 

चर्चमा पास्टर एक्लै रहेको स्वस्तिकाले प्रहरीसमक्ष बयान दिएकी छन् । स्वस्तिका चर्चमा आउनेबित्तिकै शारीरिक रुपमा अस्वस्थ रहेको आफूले थाहा पाएको पास्टरले बताएका छन् । 

‘तिमीले सानोमा धेरैपटक शारीरिक सम्बन्ध राखेको रहेछौ । त्यसैले तिमीलाई रोग लागेको छ,’ पास्टरले स्वस्तिकालाई भने, ‘यदि रोगलाई निको बनाउने हो भने मसँग शारीरिक सम्बन्ध राख्नपर्छ ।’
शारीरिक रुपमा अस्वस्थ रहेकी स्वस्तिकाले पास्टरको कुरालाई विश्वास गरिन् । 

सोही दिन गोरखा नगरपालिका–६ छहरे घर भएका ४५ वर्षीय पास्टरले महालक्ष्मीथानबाट सातदोबाटोतर्फ आउँदा बाँया साइडमा रहेको ‘सिटी गेष्ट हाउस’मा स्वस्तिकालाई ट्याक्सीमा राखेर पुर्याए । 

पास्टरले पहिला पनि युवतीहरुलाई गेष्टहाउस लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । गेस्टहाउस पुग्नेबित्तिकै सञ्चालकसँग पास्टरको धेरै कुरा हुन्न । 

गेस्टहाउसमा ‘इन्ट्री’ नगरी स्वस्तिकालाई एउटा कोठामा लैजान्छन् । जबकी कुनै गेष्ट हाउसमा बस्न गइए  ‘इन्ट्री’ गर्ने चलन छ । तर, चिनेको कारण पास्टरलाई ‘इन्ट्री’ गर्न परेन ।

पास्टरलाई राम्रोसँग चिनेको गेस्टहाउस सञ्चालकको भनाइ छ । गेस्टहाउस सञ्चालकका अनुसार ‘१५ मिनेट उनीहरु कोठामा बसे । १५ मिनेटपछि एक हजार रुपैयाँ दिएर गेष्टहाउसबाट निस्किए ।’

‘पहिला पनि अरु युवतीहरु ल्याएर पास्टर आउने गर्थे,’ होटल सञ्चालककले भने, ‘त्यसरी नै १५ मिनेट बस्नुहुनथ्यो । अनि एक हजार दिएर गइहालनुहुन्थ्यो ।’

पछि पास्टर स्वस्तिकाको पसल समेत जाने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । पास्टरले कस्मेटिक पसलमै पनि स्वस्तिकालाई जबरजस्ती गरेको पाइएको छ । 

स्वस्तिकाले ‘परमेश्वरले भन्नुभएको भन्दै पास्टरले मलाई गेष्टहाउस लगेर जबरजस्ती गर्यो । त्यसपछि २ पटक कस्मेटिक पसलमै ।’ प्रहरीसमक्ष बयानमा भनेकी छन् । 

आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने भन्दै पास्टरले पटक–पटक स्वस्तिकाको शरीरसँग खेलिरहे । स्वस्तिकाको रोग भने निको भएन । जबकी स्वस्तिकालाई कुन रोग लागेको हो, त्यो पनि पास्टरलाई थाहा थिएन ।

पास्टरले स्वस्तिकालाई पछि पनि शारीरिक सम्पर्क राख्न आग्रह गरे । तर अस्वीकार गरिन् । नमानेपछि पास्टरले स्वस्तिकालाई पसलमै गएर कसैलाई भनेको थाहा पाए मारिदिन्छु भन्दै ज्यानमार्ने धम्की दिन थाले । 
एक महिनासम्म स्वस्तिका पनि चुपचाप बसिन् । 

....अनि स्वस्तिका
स्वस्तिकालाई पटक–पटक धम्की दिइरहन्थे पास्टर । दिउँसोको समयमा सीता पसलमा नहुने भएकाले पास्टरको कालो कर्तुतबारे जानकार थिइनन् । एकदिन स्वस्तिकाले घटनाबारे सीतालाई भनिन् । तब सीता छाँगाबाट खसिन् । 

तत्कालै सीताले महानगरीय प्रहरी परिसर, ललितपुरमा पास्टरविरुद्ध जाहेरी दिइन् । आशा विश्वासी मण्डली चर्चका पाष्टर जोशीले पीडित महिलालाई एक गेष्टहाउसमा बोलाएर जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ ।

पास्टरले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आवश्सन दिने गरेको जाहेरीमा भनिएको छ । सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको उल्लेख छ ।

पीडितको जाहेरीको आधारमा पास्टरलाई प्रहरीले सोमबार साँझ चर्चबाटै पक्राउ गरेको हो । पक्राउ परेका पास्टरमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

युवती बलात्कार आरोपमा पक्राउ परेका पास्टरविरुद्ध चर्चको नाममा रहेको जग्गा आफ्नो नाममा पारेको भन्दै केही व्यक्तिले ठगी मुद्दामा समेत ललितपुर प्रहरीमा उजुरी हालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप