शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

अत्यधुनिक भवनले अलग्यायो अपराध महाशाखा र काठमाडौं प्रहरी (भिडियो/फोटो)

मङ्गलबार, २४ भदौ २०७६, १५ : १४
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको अत्यधुनिक नयाँ भवनको शिलान्यास गरेका छन् । 

मंगलबार बिहान काठमाडौँ प्रहरीको लागि भद्रकाली र अपराध महाशाखाको टेकुमा अत्यधुनिक भवन निर्माण कार्य आईजीपी खनालले एक कार्यक्रमका बीच शिलन्यास गरेका हुन् ।

भूकम्पपछि हनुमानढोकाबाट काठमाडौं प्रहरी र अपराध महाशाखा टेकुस्थित नेशनल साल्ट ट्रेडिङको जग्गामा सरेको थियो । भूकम्प गएको ४ वर्षसम्म दुवै निकायका प्रहरी पालमुनि बसेर आफ्नो काम गर्दै आएका थिए ।

दुवै निकायको भवन निर्माण भएपछि अब प्रहरीले अत्यधुनिक ठाउँबाट सेवा प्रवाह गर्नेछ ।

अपराध महाशाखा र काठमाडौं प्रहरीको भवन विगत ५३ वर्षदेखि एकै ठाउँमा रहँदै आएको थियो । वि.संस २०१२ मा जिल्ला प्रहरी कार्यालय काठमाडौं भनेर महानगरीय प्रहरी परिसर स्थापना भएको थियो ।

यता अपराध महाशाखा वि.सं. २०२३ सालमा ‘केरकार’ शाखाको रुपमा स्थापना भएसँगै दुवै निकाय एकै ठाउँमा रहँदै आएको थियो । २०६३ मंसिर १ गते महानगरीउय प्रहरीको अवधारणा लागू भएपछि महानगरीय प्रहरी कार्यालयको मातहत रहने गरी ‘महानगरी अपराध महाशाखा’ नामकरण भएको हो । 

५३ वर्षपछि परिसर र महाशाखाको भवन छुट्टाछुट्टै ठाउँमा रहने भएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले महाशाखा र परिसरको भवन छुट्टाछुट्टै ठाउँमा हुनु राम्रो कुरा भएको रातोपाटीसँगको कुराकानीमा बताए ।

‘फरक–फरक ठाउँमा भएपछि अनुसन्धान गर्न सहज हुन्छ । महाशाखाका कर्मचारी सिभिलमा हिँड्ने र परिसरका कर्मचारी ड्रेसमा रहने भएकाले अनुसन्धानमा सहज हुने अनुमान गरिएको छ,’ डीआईजी थापाले भने ।

अब दुवै निकालये आ–आफ्नो तरिकाले जनताको निकट रहेर काम गर्ने वातावरण तय हुने डीआईजी थापाको विश्वास छ ।

१५ रोपनी जग्गामा बन्दै काठमाडौं प्रहरीको भवन

भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गामा काठमाडौं प्रहरीको अत्याधुनिक कार्यालय भवन निर्माण हुने भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार काठमाडौँ प्रहरीको भवन निर्माणसँगै अस्थायी संरचना पनि तयार गरेर भद्रकालीबाटै सेवा प्रवाह थाल्ने प्रहरीको योजना छ ।

काठमाडौँ प्रहरीको भवन निर्माणको जग्गा खरिदका लागि सरकारले एक अर्ब २० करोड निकासा गरेको थियो । भवन निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

महाशाखाको भवनमा अत्यधुनिक हिरासत कक्ष

६७ करोड निकासामा बन्न लागेको अपराध महाशाखाको नयाँ बन्ने भवनमा अत्यधुनिक हिरासत कक्ष पनि हुनेछ । महाशाखालाई हाल बसेकै ठाउँमा १० रोपनी जग्गा सरकारले उपलब्ध गराएको छ ।

उपत्यकामा हुने जघन्य प्रकृतिका अपराध–अनुसन्धान गर्ने अख्तियारी पाएको महाशाखासँग मुद्दा चलाउने अधिकार थिएन ।

नयाँ भवन निर्माण सकिएसँगै महाशाखालाई जघन्य प्रकृतिका अपराधमा मुद्दा चलाउने अख्तियारी दिने समेत तयारी रहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

भवन निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

पुलिस क्लब पनि नयाँ बनाइँदै

यस्तै आईजीपी सर्वेन्द्र खनालले प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्यधुनिक बहुउद्देश्यीय भवनको पनि शिलन्यास गरेका छन् ।

नयाँ संरचना २ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । भवन निर्माणको लागत ३० करोड छ । यो आर्थिक वर्षमा १२ करोड रुपैयाँ निकासा भइसकेको आईजीपी खनालले जानकारी दिए ।

नेपाल पुलिस क्लब परिसरमा बन्ने लागेको बहुउद्देश्यीय भवन २६ रोपनी २ आना १ पैसा ३ दाम जग्गामा बन्दैछ । भवन निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप