गाई काटेको आरोपमा बुवा जेलमा, छोरी बेचिइन् दिल्लीमा !
मदन ढुङ्गाना/श्याम रानामगर (पोखरा)
१२ वर्षकी एक बालिका, सुनिता (नाम परिवर्तन) । जो आफ्नी दिदीको घरमा बसेर पढाइ गरिरहेकी थिइन् । म्याग्दी घर भएकी उनी बागलुङमा रहेको दिदीको घरमा बस्थिन् । दिदीकी सानी छोरी भएकाले ती सानी छोरीको रेखदेख गर्थिन् भने उनी आफै पनि विद्यालय गएर पढ्ने गरेकी थिइन् ।
दिदीको घरमै बस्दैगर्दा भेट भइन् लक्ष्मी परियार (नाम परिवर्तन) । खासमा लक्ष्मी सुनिताको भिनाजुको दिदी थिइन् । भिनाजुको दिदी भएपछि उनी त्यहाँ आइरहने गर्थिन् । लक्ष्मीको छोरी पनि झण्डै सुनिता जत्तिकै उमेरको थियो । त्यसो भएपछि सुनिता र लक्ष्मीकी छोरी पनि सँगै खेल्ने साथी बने ।
यो सबै देखेकी लक्ष्मीले सुनितालाई पनि ‘छोरी’ जत्तिकै माया गर्न थालिन् । लक्ष्मी नेपाल र इन्डिया दुवैतिर आउजाउ गरिरहने भएकाले लक्ष्मीले सुनितालाई फकाइन् कि इन्डिया जाने र उतै पढ्ने । इन्डिया विकसित सहर भएको पढाइ राम्रो भएको तथा खान लाउन पनि राम्रोसँग पाउने भएपछि सुनिता लक्ष्मीसँग दिल्ली जान तयार भइन् । दिदीको घरमा बसिरहेकी सुनिता दिदीलाई थाहा नै नदिई दिल्ली जान तयार भइन् ।
घरको कलहका कारण दिदीको घरदेखि दिल्लीसम्म
खासमा म्याग्दी घर भएकी सुनिताको घरमा सधैँ कलह हुन्थ्यो । बुबा र आमा दुवैजना सधैँ रक्सी खाएर झगडा गर्ने गर्थे भने आर्थिक अवस्था पनि राम्रो थिएन । राम्रोसँग खान र लाउनसमेत पुग्दैनथ्यो ।
यहीबीचमा गाई काटेर मासु खाएको आरोपमा सुनिताको बुबा जेल परे । त्यसपछि त परिवारमा झनै धेरै समस्या आउन थाल्यो । कमाउने व्यक्ति नै जेल पुगेपछि आर्थिक अवस्था झनै कमजोर बन्न थाल्यो भने बिहान र बेलुकाको छाक टार्न पनि धौधौ पर्न थाल्यो । त्यसपछि दाइ र आमालाई छाडेर सुनिता दिदीको घर बाग्लुङमा गएर बस्न थालेकी थिइन् ।
बुबा जेलबाट छुटेपछि एक पटक सुनिता म्याग्दी आएकी थिइन् । तर जेलबाट छुटेपछि बुबा र आमा दुबैजनाले झनै बढी रक्सी खान थाले । घरमा दैनिक झगडा हुन थाल्यो । कैयौँ दिन भोकभोकै बस्नुपर्यो । त्यसपछि सुनिता फेरि दिदीकै घर पुगिन् ।
घरमै सधैँ कलह र आर्थिक दुरावस्थाका कारण राम्रोसँग खान र लाउनसमेत नपाउने भएपछि सुनिता दिदीको घरमा सानोतिनो काम गर्ने र पढ्ने गरेकी थिइन् । उनी त्यतिबेला कक्षा ५ मा पढिरहेकी थिइन् ।
यहीबीचमा भेट भएकी लक्ष्मीले सुनितालाई लोभ र अवसर देखाइन् । आफ्नै घरमा सामान्य काम गरे हुने र राम्रोसँग खान लाउन दिने अनि छोरी सरह माया गर्दै पढाउने सपना देखाएपछि सुनिता लक्ष्मीसँगै दिल्ली जान तयार भइन् ।
....
२०७५ जेठमा कक्षा ५ मा पढ्दै गरेकी सुनिता दिदी र भिनाजुलाई थाहा नै नदिई तिनै लक्ष्मीसँग दिल्ली जानका लागि बसमा चढिन् ।
बाग्लुङबाट चढेको बस पोखरा आएर रोकियो । पहिलो दिनको सुनिताको यात्रा पोखरासम्म मात्रै हुने भयो ।
लक्ष्मीले सुनितालाई पोखराको एक होटलमा ल्याएर राखिन् । त्यसै दिन तिर्थे भन्ने व्यक्ति भेटिए । तिर्थे र लक्ष्मीको सम्बन्ध के हो सुनितालाई थाहा छैन । तर सुनितालाई दिल्ली पुर्याउने मध्येका एक थिए ती तिर्थे पनि । तिर्थेको बारेमा सुनितालाई अरू थप केही जानकारी पनि छैन । यद्यपि लक्ष्मी सँगै भएपछि सुनिता पनि त्यही होटलमा बसिन् ।
भोलिपल्ट पोखराबाट बसमा यात्रा गरेको सुनितालाई याद छ । तर कुन बाटो दिल्ली गयो भन्नेचाहिँ सुनितालाई थाहा छैन । तिर्थेले सुनितालाई भनेको थियो कि को हो भनेर सोध्यो भने मेरो दाइ हो भन्नु ।
यद्यपि सुनितालाई बोर्डरमा कसैले पनि कहाँ जान लागेको हो र सम्बन्ध के हो भनेर सोधेनन् । तिर्थेले कुनै कागज देखायो र त्यो कागज देखाएपछि बोर्डरबाट सुनितालाई दिल्ली जान दिइयो ।
दिल्ली पुगेपछि सुनिता केही समय लक्ष्मीकै कोठामा बसिन् । तर छोरीको जस्तै माया भने उनले पाइनन् । सुनिताको विद्यालय जाने सपना पनि पूरा भएन । केही समय लक्ष्मीकै कोठामा बसेपछि लक्ष्मीले नै सुनितालाई एक भारतीयको घरमा पुर्याइन् । लक्ष्मीले सुनितालाई अब यहीँ बस्ने र पढ्ने भनेर त्यस घरमा पुराएकी थिइन् ।
दिल्लीमा बन्धक जीवन
त्यो ‘साहु’को घरमा पुगेपछि सुनिताको बन्धक जीवनको सुरुवात भयो । दिल्ली गएर राम्रो लाउने, मीठो खाने र राम्रो स्कुल पढ्ने सुनिताको सपना त्यस घरमा पुगेपछि चकनाचुर नै भयो ।
त्यो घर एक व्यापारीको थियो, जुन घरमा सुनिताले कम्तीमा १८ घण्टा काम गर्नुपथ्र्यो । १८ घण्टा काम गरे पनि सुनिताले न तलब पाउँथिन् न त पेटभरी खान नै । बरु साहुनीको गाली र पिटाइ खानुपथ्र्यो सुनिताले ।
*****
सुनिताले काम गरेको लामो समय हुँदा पनि उनलाई तलब दिइएन । न त नेपाल जान्छु भन्दा जान नै दिइयो । अति भएपछि उनले एक पटक घरबाट भाग्ने कोसिस पनि गरिन् । तर उनलाई कहाँ जाने केही थाहा थिएन । दिल्ली पुलिसले बेवारिस अवस्थामा पाएपछि सुनितालाई नै कहाँ बस्ने गरेको छ भनेर सोधे । सुनिताले ठेगाना र साहुजीको फोन नम्बर दिइन् । उनी दिल्ली पुलिसले सुनितालाई फेरि त्यही साहुजीको घरमा लगेर जिम्मा लगायो । त्यसपछि सुनिताको त्यहाँबाट निस्कने सपना पनि मर्यो ।
*****
त्यस घरका साहुजी र साहुनी प्रत्येक दिन बिहान ११ बजेतिर पसलमा जान्थे । उनीहरुको केको पसल थियो, सुनितालाई थाहा थिएन । सुनिता भने बिहानदेखि नै उनीहरुका दुई सन्तानको रेखदेख र सरसफाइ गर्थिन् भने उनीहरु विद्यालय गएपछि घरको सरसफाइको काम गर्नुपथ्र्यो । साँझ ती बच्चाहरु विद्यालयबाट फर्केपछि पनि उनीहरुलाई खाना खान दिने काम गर्नुपथ्र्यो । खाना खाएपछि बच्चाहरु म्युजिक वा ड्रामाको क्लासमा जान्थे । उनीहरुलाई पुर्याउन र लिन जानु सुनिताको दैनिकी थियो ।
सुनिता दिउँसोको समयमा घरबाट बाहिर निस्कन पनि पाउँदिनथिन् । घरमै भएका सामान पनि सुनिताले खान पाउँथिनन् । साहुनीले यतिसम्म गर्थिन् कि आलुसम्म फ्रिजमा राखेर ताल्चा लगाउँथिन् र बच्चाहरु स्कुलबाट फर्केपछि मात्रै खुल्थ्यो । उनी दिनभर भोकै बस्थिन् । बिहान खाना खाने बेलामा पनि पेटभरी खान नदिने गरेको सुनिताले रातोपाटीसँगको कुराकानीमा बताइन् ।
जब तलब पाइनन् र घर जान चाहिन्...
सुनिताले काम गरेको लामो समय हुँदा पनि उनलाई तलब दिइएन । न त नेपाल जान्छु भन्दा जान नै दिइयो । अति भएपछि उनले एक पटक घरबाट भाग्ने कोसिस पनि गरिन् । तर उनलाई कहाँ जाने केही थाहा थिएन । दिल्ली पुलिसले बेवारिस अवस्थामा पाएपछि सुनितालाई नै कहाँ बस्ने गरेको छ भनेर सोधे । सुनिताले ठेगाना र साहुजीको फोन नम्बर दिइन् । उनी दिल्ली पुलिसले सुनितालाई फेरि त्यही साहुजीको घरमा लगेर जिम्मा लगायो । त्यसपछि सुनिताको त्यहाँबाट निस्कने सपना पनि मर्यो ।
साहुनी छुच्ची भएको कारण एक दिन सुनिताले साहुजीसँग कुरा गरिन् कि मेरो तलब आउँछ कि आउँदैन ? साहुजीले तिम्रो तलब त पहिले नै लक्ष्मीले लगिसकेको बताए । त्यतिबेला थाहा भयो लक्ष्मीले १५ हजार भारतीय रुपैयाँ लिएर सुनितालाई ती साहुजीको जिम्मा लगाएकी रहिछ । त्यसपछि सुनितालाई यसबारे कसलाई भन्ने के भन्ने भयो । उनी रुँदै त्यही घरमा बस्न बाध्य भइन् ।
सुनिता त्यही घरमा काम गर्दै गर्दा त्यो पहिलेकै तिर्थे भन्ने केटाले अर्को २५ हजार रुपैयाँ पनि लगिसकेको रहेछ । साहुजीले त्यो कुरा भनेपछि सुनितालाई आफू बेचिएको र उम्कने सम्भावना सकिएको जस्तै भयो ।
जब भेटिन् कवितालाई....
सुनिताको दैनिकीमा साँझपख साहुजीका दुई बच्चालाई म्युजिक वा ड्रामाको क्लासमा लैजाने हुन्थ्यो । त्यस्तैमा एक दिन नेपालीभाषी युवती कविता (नाम परिवर्तन) लाई भेटिन् सुनिताले । सुनिताले आफू कसरी दिल्ली आइपुगिन् र अहिलेको अवस्था के हो भनेर बताएपछि तिनै कविताले माइती इन्डिया नामक संस्थाको फोन नम्बर दिइन् र नेपाल जान मन लागेको भए त्यो संस्थामा सम्पर्क गर्न भनिन् ।
सुनिताले तत्कालै उक्त नम्बरमा सम्पर्क गरिन् । त्यो संस्था थियो माइती इन्डिया । माइती इन्डिया भारतमा बेचिएकी चेली वा बालिका र अलपत्र परेकाहरुको उद्धार गर्ने संस्था थियो ।
आफ्नो पीडा सबै सुनाएपछि माइती इन्डियाले सुनितालाई उद्धार गर्ने बतायो । सुनिता साहुजीको घरबाट भागेर बाहिर निस्किइन्, एउटा अटोमा चढिन् र माइती इन्डियाले दिएको ठेगानामा पुगिन् । माइती इन्डियाका अध्यक्ष बालकृष्ण पाण्डेले सुनितालाई आश्रय दिए ।
त्यसपछि सुरु भयो कानुनी उपचार
सुनिता माइती इन्डियाको सम्पर्कमा पुगेपछि माइती इन्डियाका अध्यक्ष बालकृष्ण पाण्डेले त्यस घरका साहुजीलाई फोन गरे । अनि सुनिता आफ्नो सम्पर्कमा भएको र उद्धार गरिएको बताए ।
सुनिता घर जान चाहेकी र उनले काम गरेको सबै तलब दिन बालकृष्णले साहुजीलाई भने ।
तर घरका मालिकले आफूले सुनितालाई ४० हजार तिरेर किनेको भन्दै मासिक ५ हजार तलब दिने सहमति भएको बताए । त्यो तलबमध्ये पनि लक्ष्मी र तिर्थे भएर ४० हजार लगिसकेको भन्दै बाँकी केही नदिने र सकेको गर्न चेतावानी दिए ।
बालकृष्णले आफू भारतको आधिकारिक संस्था भएको र बालश्रमको मुद्दा लिएर अदालत जाने चेतावानी दिएपछि ती मालिक अलिक हच्किए र आफूले ३ महिनाको पैसा दिन बाँकी भएकाले १५ हजार भारतीय रुपैयाँ मात्रै दिने बताए । तर माइती इन्डियाले भारतीय कानुनअनुसार मासिक १४ हजारको दरले ११ महिनाको सबै तलब र भत्ता दिन भन्यो । तर ती मालिक भने आफूले ४० हजार रुपैयाँ दिइसकेको र अरू तलब नदिने अडानमै रह्यो । जब बालकृष्णले यससम्बन्धी उजुरी दिल्लीस्थित नेपाली दूतावासमा दिए र अदालत जाने चेतावानी दिए, त्यसपछि भने मालिकले कानुनी झन्झट नबेहोर्ने भन्दै अब बाँकी ७० हजार ५ सय भारतीय रुपैयाँ दिन मञ्जुर भए । साथमा नेपाल जानका लागि १८ हजार भारतीय रुपैयाँ पनि दिन तयार भए ।
फोटो : माइती इन्डियाका संस्थापक अध्यक्ष बालकृष्ण पाण्डे
भारतीय कानुनअनुसार मासिक १४ हजार भारतीय रुपैयाँ तलब पाउन सक्ने भए पनि अदालती प्रक्रियामा जाँदा समस्या हुनसक्ने र लामो समय लाग्ने भएकाले सुनिता र माइती इन्डियाले शर्त मञ्जुर गर्यो । अनि अदालत नजाने र कहीँ उजुरी नगर्ने शर्तमा सुनितालाई ७० हजार ५ सय भारतीय रुपैयाँ र टिकट खर्चबापत १८ हजार भारतीय रुपैयाँ दिइयो । (१८ हजार भारतीय रुपैयाँ पुर्याउन जाने व्यक्तिको लागि टिकट खर्चसमेत हो ।) त्यसपछि सुनितालाई माइती इन्डियाका अध्यक्ष बालकृष्ण पाण्डे आफैले नेपाल ल्याए र पोखरास्थित थ्री एन्जल नामक संस्थाको जिम्मा लगाए ।
सुनिताको नाममा आएको १ लाख १२ हजार ८ सय नेपाली रुपैयाँमध्ये १ लाख रुपैयाँ सुनिताकै नाममा बैङ्कमा फिक्स्ड डिपोजिट गरियो भने १२ हजार रुपैयाँ सुनितालाई खर्च गर्न पाउने गरी संस्थाकै जिम्मा लगाइयो ।
....
यतिबेला सुनिता पोखरास्थित थ्री एन्जलको संरक्षणमा रहेकी छिन् । उनी अब विद्यालय जाने र पढ्ने तयारी गरिरहेकी छिन् । थ्री एन्जलले सुनिताको पालनपोषण र अध्यापनको जिम्मा लिएको छ ।
****
भदौको १६ गते पोखरा ल्याइएकी सुनिता यतिबेला बिस्तारै आफूलाई सामान्य जीवनमा फिर्ता ल्याउँदैछिन् । उनको भाषाको लय पनि हिन्दीजस्तै बनेको छ भने नेपाली पनि राम्ररी बोल्न सकेकी छैनन् । उनलाई फेरि घर गएर कलह हेर्ने रहर छैन । संस्थामै बसेर पढ्ने र भविष्यमा डाक्टर बन्ने सपना सुनिताले देखेकी छिन् ।
****
डाक्टर बन्ने सपना
दिल्लीको दुःखपछि उद्धार गरिएकी सुनिता राम्रोसँग पढेर भविष्यमा डाक्टर बन्ने सपना बुन्न थालेकी छिन् । उनलाई राम्रोसँग पढ्न मन लागेको छ । भविष्यमा डाक्टर बनेर दुःखी र गरिबको सेवा गर्न मन लागेको छ । संस्थाले माध्यमिक तहसम्मको अध्यापन गराए पनि त्यसपछि कसले कसरी पढाउला भन्ने चिन्ता चाहिँ उनलाई छ । यद्यपि राम्रोसँग पढ्न पाए भविष्य राम्रो बनाउने सपना भने सुनिताले देख्न थालेकी छिन् ।
होला त कानुनी कारबाही
सुनितालाई उद्धार गरी पोखरा ल्याएपछि यतिबेला थ्री एन्जल्स नामक संस्थाले सुनिताको परिवारको खोजी सुरु गरेको छ । सुनिताले दिएको ठेगानामा गएर परिवार खोज्ने काम गरिरहेको थ्री एन्जल्सका कार्यक्रम निर्देशक मदन थापाले रातोपाटीलाई बताएका छन् । पहिलो चरणमा परिवार खोज्ने र त्यसपछि सुनितालाई दिल्ली पुर्याएर बेच्ने सदस्यहरु लक्ष्मी परियार र तिर्थे भन्ने व्यक्तिलाई खोजबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रयत्न हुने थ्री एन्जल्सका कार्यक्रम निर्देशक मदन थापाले बताए ।
फोटो : मदन थापा
कक्षा १२ सम्म अध्ययनका लागि थ्री एन्जल्सको आफ्नै विद्यालय रहेको छ । सुनितालाई कक्षा १२ सम्म त्यही विद्यालयमा अध्यापन गराइने छ । त्यसपछि थप अध्ययनका लागि सुनिताले इच्छा देखाएमा संस्थाले सहयोग गर्ने वा दाता खोज्ने काम गरिने थ्री एन्जल्सले बताएको छ ।
भदौको १६ गते पोखरा ल्याइएकी सुनिता यतिबेला बिस्तारै आफूलाई सामान्य जीवनमा फिर्ता ल्याउँदैछिन् । उनको भाषाको लय पनि हिन्दीजस्तै बनेको छ भने नेपाली पनि राम्ररी बोल्न सकेकी छैनन् । उनलाई फेरि घर गएर कलह हेर्ने रहर छैन । संस्थामै बसेर पढ्ने र भविष्यमा डाक्टर बन्ने सपना सुनिताले देखेकी छिन् ।
अनि जसले आफूलाई छोरी बनाएर पाल्छु र पढाउँछु भनेर लगिन् तर दिल्लीस्थित एक घरको मालिकलाई ४० हजारमा बेचिन्, उनलाई कानुनी कारबाहीको माग पनि गरिरहेकी छिन् । आफन्तकै नामबाट बेचिएकी सुनिताले न्याय खोजेकी छिन् र उनी आफ्नो दिल्ली दुःख बिर्सन चाहिरहेकी छिन् ।