बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ताइपेईलाई हराउने नेपालको तयारी

सोमबार, २३ भदौ २०७६, २१ : ४३
सोमबार, २३ भदौ २०७६

काठमाडौं – सन् २०२२ को कतार विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो चरणको खेलमा नेपालले मंगलबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेईको घरेलु मैदानमा हुने यस खेलमा नेपालले जित निकाल्ने दाबी गरेको छ ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले ताइपेईसँग उत्कृष्ट खेल खेल्ने बताए । ‘पाँच दिनअघि कुवेतसँग बेहोरेको अप्रत्याशित हारलाई मेटाउन खेलाडीले सक्दो प्रयास गर्नेछन् । 

ताईपेईसँग यसअघि नेपालले बराबरी खेलेको थियो । त्यो बराबरीले अहिले पुग्दैन,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले भने । 

समूह ‘बी’ को पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । नेपालका कप्तान किरण चेम्जोङले सबै खेलाडी ताईपेईसँग खेल्न तयार रहेको बताए । उनले कुवेतसँग अघिल्लो खेलमा गरेको गल्तीलाई सच्याएर राम्रो प्रदर्शन गर्ने पनि बताए ।

ताईपेई पनि पहिलो खेलमा जोर्डनसँग २–१ गोलले पराजित भए थियो । त्यसैले उसले घरेलु मैदानमा नेपाललाई हराउने लक्ष्यका साथ खेल्नेछ । नेपालको तुलनामा चाइनिज ताइपेई केही बलियो छ । 

फिफा वरीयतामा ताइपेई एक सय २५औं स्थानमा छ । नेपाल एक सय ६६औं स्थानमा छ । नेपाल र ताइपेईबीच केही महिना अघि भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

छनेट खेलको समूह ‘बी’ नेपाल, कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । छनोट खेल होम एन्ड अवेका आधारमा खेलिनेछ । एसियाली फुटबल महासंघ (एएफसी)ले दोस्रो चरणको छनोटमा सहभागी एसियाका ४० वटा देशलाई आठ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहबाट पाँचवटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणका लागि छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पाउनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप