केन्द्रीय संस्करण

एनआरएनए महिला संयोजकमा मरहट्टाको उम्मेद्वारी

person explore access_timeभदौ २३, २०७६ chat_bubble_outline0

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारी दिने घोषणा गरेकी छन् । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा मरहट्टाले आफ्ना भावी योजनासहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी हुन् । मरहट्ठा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बीबीसी नेपाली सेवाका पूर्व पत्रकार समेत हुन् ।

संघमा महिलाहरुको सशक्त उपस्थितिलाई बढावा दिँदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वावलम्वन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजनाहरु समेटेर आफु अघि बढ्न लागेको मरहट्टाले दाबी गरिन् । मरहट्टाले भनिन्, ‘सञ्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनए संगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भूमिकालाई कूशलताका साथ निर्वाह गर्न सक्नेमा म अत्यन्तै विश्वस्त छु ।’

बीबीसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी मरहट्टा उच्च शिक्षाका सिलसिलामा १९ बर्षअघि बेलायत आएकी हुन् । पेशाले पत्रकार उनले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो— रेडियो सगरमाथाबाट रेडियो पत्रकारिताको शुरुवात गरेकी हुन् । त्यसअघि उनी छापा पत्रकारितामा संलग्न थिइन् । 

बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । 

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखनलाई पनि निरन्तरता दिइरहेकी छन् ।  गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहँदै आएकी मरहट्टा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भूमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी हुन् । एनआरएनए युकेको महिला संयोजक हुदा उनले एनआरएनए युकेमा पहिलोपटक नारी दिवस मनाउने परम्पराको शुरुवात लगायतका महत्वपूर्ण कामहरु गरेकी छिन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...