शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निवर्तमान अध्यक्ष श्रेष्ठको कारण एनआरएन युएई संकटमा

सोमबार, २३ भदौ २०७६, १७ : ५१
सोमबार, २३ भदौ २०७६

युएई । गैर आवसीय नेपाली संघ (एनआरएनए) युएईका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले कानुनी झमेला देखाएर निर्वाचित नयाँ कार्यसमितीलाई सहज रुपमा कार्यभार हस्तान्तरण नगर्दा एनआरएनए युएई संकटमा परेको छ । 

राजेश दर्शन अर्यालको संयोजकत्व गठित निर्वाचन समितीले गत २३ तारिख शुक्रबारका दिन निर्विरोध रुपमा प्रकाश कोईरालाको अध्यक्षतामा २०१९–२०२१ को कार्यसमितीको घोषणा गरेको थियो । 

नवगठित कार्यसमितीलाई निवर्तमान अध्यक्ष श्रेष्ठकै उपस्थितीमा सोही दिन मध्यपूर्ब उपसंयोजक गोपाल कँडेलले सपथ खुवाएका थिए  । 

सपथ ग्रहण पश्चात श्रेष्ठले एनआरएन युएई नेपाल एसोसियसनको ‘सब कमिटी’ को हैसियतमा मात्र रहने र नेपाल एसोसियसनको अनुमती बिना केही पनि गर्न नपाउने भन्दै ‘एमओयु’ मा हस्ताक्षर गर्न दबाब दिएपछि संकट शुरु भएको थियो । 

एनआरएनए युएईमा नयाँ कार्यसमिती चयन भएपनि श्रेष्ठले छाड्न नमानेपछि विवाद शुरु भएको हो । श्रेष्ठले वर्तमान  कार्यसमितीमा आफूले भनेका केही व्यक्तिहरु अनिबार्य रुपमा मनोनित गर्नुपर्ने माग राखेपछि विवाद सुरु भएको हो । 

नेपाल एसोशिएसन गत साल दुबईमा दर्ता भएको नेपाली संस्था हो । एनआरएन युएईले कानुनी रुपमा नेपालीहरुको गतिबिधी सञ्चालन गर्नको लागि श्रेष्ठकै नेतृत्वमा नेपाल एसोशिएसन दर्ता भएको थियो । 

श्रेष्ठको कार्यकाल समाप्त भएसँगै नैतिक रुपमा उनीसँग नेपाल एसोसिएसनको अध्यक्ष हुने हैसियत पनि सकिएको छ । तर युएईको कानून अनुसार उनी अझैँ नेपाल एसोसिएसनको वैधानिक अध्यक्ष रहेकोले एनआरएनको नवनिर्बाचित कार्यसमितीलाई कानूनी रुपमा गतिबिधी सञ्चालन गर्नको लागि सहजिकरणको भूमिका खेल्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

‘उहाँको कार्यकाल सकिएको छ, एनआरएनको गतिबिधीलाई कानूनी रुपमा सञ्चालन गर्नको लागि अब निशर्त सहयोगीको भूमिका निभाउनुपर्छु,’ नवनिर्वाचित महासचिव निश्चल दाहालले बताए ।

महासचिव दाहालले कसरी सहकार्य गर्ने भन्ने सहमति भईसकेको अवस्थामा निवर्तमान अध्यक्षले केही व्यक्तिहरुलाई मनोनित गर्नुपर्ने शर्त राखेर कार्यकाल हस्तान्तरण नगर्दा संकट उत्पन्न भएको बताए । 

वर्तमान विधानले ३ जना उपाध्यक्ष र २ जना सचिवको व्यवस्था गरेको अवस्थामा विधान विपरित श्रेष्ठले जबरजस्ती उनी निकट २ जनालाई उपाध्यक्ष र २ जनालाई सचिव मनोनित गरेपछि मात्र खातापाता हस्तान्तरण गर्ने शर्त राखेको उनले बताए । 

निर्वाचन समिती र आईसीसीका केही व्यक्तिहरुले एक पक्षिय रुपमा आफूहरुलाई पेल्ने काम गरेको आरोप श्रेष्ठले लगाए । आईसीसी अध्यक्षको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएको श्रेष्ठको गुनासो  छ । 
  
पछिल्लो अवस्थामा श्रेष्ठको गतिबिधी शँकास्पद भएको भन्दै युएईका अधिकांश नेपाली संघसंस्थाहरु रुष्ट बनेका छन् । त्यसैकारण पछिल्लो समयमा युएइका अधिकांश संघसंस्थाहरु नेपाली समाजप्रति आकर्षित भएका छन् । 

निर्वाचन समितीको भूमिका समेत शंकास्पद

निर्वाचन समितीका संयोजक राजेश अर्यालको भूमिका समेत शंकास्पद रहेको पाईएको छ । एनआरएन युएईको अधिबेशन पश्चात सम्पूर्ण हिसाबकिताब स्वतः नयाँ कार्यसमितीलाई हस्तान्तरण गर्नुपर्नेमा अर्यालले आलटाल गरेका छन् । 

पुरानो कार्यसमितीसँग सहमती भएपछि मात्र हस्तान्तरण गर्ने अर्यालको भनाइ छ । यसअघि पनि निर्वाचन समितीले आफ्नो कार्यक्षेत्र बाहिर गएर पटक–पटक सहमती गराउने भन्दै प्रतिस्पर्धामा हारेका व्यक्तिहरुलाई मनोनित गराउने प्रयास गरेको थियो ।

विधान विपरित ५ जना उपाध्यक्ष र ५ जना सचिव बनाउने सहमति निर्वाचन समितीको रोहबरमा नै भएको थियो । 

एनआरएन युएईको विधानमा ३ उपाध्यक्ष र २ जना सचिवको स्पस्ट व्यवस्था गरिएको छ । एनआरएन युएईको निर्वाचनको लागि गठित निर्वाचन समितीले यसअघि नेपाल एसोसिएसनको रसिद काटेर गल्ती गरेकोले अर्याललाई एनआरएन युएईलाई रकम हस्तान्तरण गर्न डराएको श्रोतको दाबी छ । 

एनआरएनको नयाँ कार्यसमितीलाई रकम हस्तान्तरण गरे कानूनी कारबाही गर्ने नेपाल एसोसिएसनका पदाधिकारीहरुले अर्याललाई धम्की दिएकाले पनि अर्यालले हस्तान्तरण नगरेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप