शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

सोमबार, २३ भदौ २०७६, १५ : ३५
सोमबार, २३ भदौ २०७६

–विमलबहादुर विष्ट
डोटी– नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिनुभएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना हुनुभएका केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाइ प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उहाँको ज्यान जोगिएको जिल्ला अस्पताल डोटीका डा गिरीश अवस्थीले बताए । उनले भने, ‘अत्यधिक रक्तश्राव हुँदा निज सुत्केरीको ज्यान नै खतरामा परेको थियो, कर्नेल सरले रगत दिएपछि ज्यान जोगिएको छ ।’

जिल्लामा अहिलेसम्म रक्तश्रावका कारण ज्यान नै जाखिममा परेका करीब ३५ बासिन्दालाई नेपाली सेनाको रुद्रध्वजगणले रगत दिएर ज्यान जोगाएको बताइएको छ । डोटी जिल्लालगायत समग्र सुदूरपश्चिम प्रदेशमा कुनै पनि व्यक्तिलाई रगत आवश्ययक परे उनीहरु नेपाली सेनाको ब्यारेक धाउने गर्छन् ।

सेनाले आफूमातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत समूह पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका बासिन्दा सेनाको ब्यारेकमा रगत माग्न धाउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । उनले भने, ‘रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत ग्रुप पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ ।’

पछिल्लो समय सैनिकको रगतले यहाँका पहाडी जिल्लामा सयौँ बासिन्दाको ज्यान जोगिएको नेपाली सेना सुदूरपश्चिम पृतना दिपायल राजपुरले जनाएको छ । सुत्केरी तथा बिरामलाई रगत दिन पाउँदा आफू निकै गौरवान्वित भएको प्रमुख सेनानी खड्काले बताए । उनले भने, ‘मैले दान गरेको रगतले एउटा छोरी, चेलीको ज्यान जोगिएको छ, त्यसभन्दा ठूलो मेरा लागि खुशीको कुरो के हुन सक्छ र ?’ 

निज महिला अहिले स्वस्थावस्थामा रहेको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा ब्लड बैंक नभएका कारण यहाँका बासिन्दालाई भनेको बेलामा रगत पाउन मुश्किल हुँदै आएको छ । जिल्लामा नेपाल रेडक्रस सोसाइटी डोटीले रगत सङ्कलन गर्ने भए पनि सङ्कलित रगत राख्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको स्थानीयवासी तथा सञ्चारकर्मी रामहरि ओझले बताए । उनले भने, ‘लामो समयसम्म रगत राख्ने मेशिन नभएका कारण समस्या भएको छ, भनेको बेलामा सेनाले अस्पतालमै आएर रगत दिने गरेका कारण केही बिरामीको ज्यान बचेको छ, नत्र अकालमै धेरैले ज्यान गुमाइसक्थे ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप