शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्कृष्ट कर्मचारीको खडेरी : छनोटकर्ता अक्षम कि कर्मचारी ?

पूर्वप्रशासक ढुङ्गेल भन्छन् : ‘मुलुकको सार्वजनिक प्रशासन रूपमा छ सारमा छैन’
सोमबार, २३ भदौ २०७६, १५ : ३५
सोमबार, २३ भदौ २०७६

काठमाडौँ– ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आइतबार (भदौ २२) मात्रै निजामती कर्मचारी दिवस मनाइयो । तर यो नाराअनुसार मुलुकमा सक्षम निजामती कर्मचारीको भने अभाव देखिएको छ । 

सामान्य प्रशासन मन्त्रालयका अनुसार मुलुकका तीनै तहमा गरी ९३ हजारको हाराहारीमा निजामती कर्मचारी कार्यरत छन् । यति ठूलो सङ्ख्यामा रहेका निजामती कर्मचारीमध्ये सरकारले सर्वोत्कृष्ट कर्मचारी भेट्न नसकेपछि मुलुकमा राम्रो काम गर्ने कर्मचारी नभएकै हुन् त भन्ने गम्भीर प्रश्न उब्जिएको छ । 

यस वर्ष मात्रै होइन २०७४ र २०७५ मा पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेको थिएन । यसबाट मुख्यतः तीनवटा प्रश्न उब्जेका छन् । के नेपालको निजामती कर्मचारी नालायक भएको हो ? कर्मचारीहरु असक्षम हुँदै गएका हुन् ? कि कर्मचारीहरुमा अत्याधिक राजनीतीकरणको प्रभाव हो ? यी प्रश्नको जवाफ खोज्न ढिला भइसकेकोमा सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् । 

‘१६औँ निजामती सेवा दिवसका दिन सरकारले आइतबार १० जनालाई उत्कृष्ट सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरे पनि सर्वोत्कृष्ट एक कर्मचारी नभेट्नुमा पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल कर्मचारीलाई मात्रै पनि दोष दिन नमिल्ने बताउँछन् । 

उनी भन्छन्, ‘यो घटनाबाट देशको प्रशासनयन्त्र कस्तो रहेछ भन्ने त बुझिन्छ नै, यसमा कर्मचारीलाई कर्मचारी नभनेर राजनीतिक पार्टीका रूपमा हेर्ने प्रवृत्ति पनि कारक छ कि छैन भनेर बुझ्नुपर्ने हुन्छ ।’

निजामती सेवाभित्रको सबभन्दा ठूलो पुरस्कार मानिने सर्वोत्कृष्ट सेवा पुरस्कारको राशि २ लाख रूपैयाँको छ । निजामती सेवाभित्र सर्वोत्कृष्ट काम गर्नेमध्येका एक जनालाई हरेक वर्ष यो पुरस्कार दिने व्यवस्था छ । निजामती सेवाको स्तर सुधार हुनुको सट्टा खस्कँदै गएकाले सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हुनसक्ने सरोकारवालाको भनाइ छ । 

पूर्वसचिव डा. ढुङ्गेलका अनुसार अहिले मुलुकको सार्वजनिक प्रशासन ‘रूपमा भए पनि सारमा नभएको’ अनुभव हुँदै गएकाले पनि यस्तो अवस्था आएको हुनसक्छ । 

‘सार्वजनिक प्रशासन रूपमा छ, सारमा छैन । सेवा पाउन कठिन छ । कुनै सेवाग्राही सेवा लिन कार्यालय गयो भने उसले भोलि आउनुस्, पर्सि आउनुस् भन्ने जवाफ मात्र पाउँछ’ उनले कर्मचारीहरुको व्यवहार र सेवाग्राहीले पाउने सेवाका बारेमा वास्तविकताका बताए । 

उनले मुलुकमा कर्मचारीको व्यवहारले जनतामा राज्य वा कर्मचारी छ भन्ने कुरामै द्विविधा रहने गरेको भन्दै यो अवस्थामा प्रत्येक वर्ष मनाइने निजामती कर्मचारी दिवस कर्मकाण्डी मात्रै हुने गरेको टिप्पणी गरे ।

‘सर्वोत्कृृष्ट कर्मचारी पाइएन भन्ने कोही कसैलाई लाग्ला तर यो नभएकोमा आम नागरिकलाई केही फरक पर्दैन’, डा ढुङ्गेलले भने, ‘भएका कर्मचारीहरू सबैलाई आफूले राम्रै काम गरेको छु भन्ने लाग्छ । कतिले गरेका पनि होलान् । सबै कर्मचारी नालायक नै छन् भन्न मिल्दैन । तर मूल्याङ्कनको मापदण्ड के हो ? त्यो पारदर्शी छ ? सचिवहरु नै राजनीतिक रूपमा विभक्त छन् भने कसरी सर्वोत्कृष्ट कर्मचारीको पहिचान हुन्छ ?’ 

पछिल्लो पटक गत २०७३ सालमा तत्कालीन अर्थसचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट सेवा पुरस्कार पाएका थिए । त्यसअघि तत्कालीन परीक्षा नियन्त्रक सहसचिव सूर्यप्रसाद गौतम एवं उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीले सर्वोत्कृष्ट पुरस्कार पाएका थिए । 

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६१ साल भदौ २२ गतेबाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । 

प्रत्येक वर्ष मुख्य सचिवको अध्यक्षतामा गठन हुने पुरस्कार सिफारिस समितिले सरकारलाई सिफारिस गर्ने र त्यही आधारमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने गरिन्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सार्वोत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी नभेटिएपछि ४० जनालाई मात्र पुरस्कार दिइएको हो । यो वर्ष निजामती सेवा पुरस्कारका लागि १५५ कर्मचारीको नाम सिफारिस भएको थियो । 

नभएको होइन नदिइएको हो : देवकोटा
कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटाले निजामती कर्मचारीमा एक सय एक कर्मचारी सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी भएको बताए । उनले भने, ‘आम कर्मचारी सक्षम छन् । राज्यबाट पाउनुपर्ने सुविधाबाट वञ्चित भएर समेत काम गरिरहेका कतिपय कर्मचारीहरु छन् तर तिनलाई राज्यले देखेन, भेटेन । जसले काम गरेको छ त्यसले पाएको छैन, जसले कामै गरेको छैन उसले पुरस्कार पाउने गरेका छन् ।’ 

महासचिव देवकोटाले समितिमा रहेका व्यक्तिहरुको नालायकीपनले समग्र कर्मचारी नै नालायक बनाउने प्रयास गरेको भन्दै आक्रोश पोखे । ‘चयनकर्ताहरु नालायक भएकाले समग्र कर्मचारीप्रति प्रश्न उठाउने काम भयो, यो दुर्भाग्य हो’, महासचिव देवकोटाको भनाइ छ । उनले पुरस्कार पाउने व्यक्तिले यो यो काम गरेकाले पुरस्कृत गरिएको भनेर सरकारले पुष्टि गर्न नसकेको बताए । 

स्थायी सरकारमाथि अनेक आरोप
निजामती कर्मचारीहरु मुलुकको स्थायी सरकार भनेर चिनिन्छन् । सरकारको दक्षता प्रदर्शन गर्ने प्रमुख सहायकका रूपमा पनि निजामती कर्मचारीहरुलाई लिने गरिन्छ । निजामती सेवामा आबद्ध कर्मचारीले विभिन्न राजनीतिक उतारचढावमा पनि आफ्नो कर्तव्य निभाउँदै आएका छन् । कर्मचारी सरकारका प्रतिनिधि भएकाले उसका कार्यको जसअपजस सरकारसँग जोडिन पुग्छन् ।

कर्मचारी स्वयंले आफूलाई व्यक्ति नभई संस्थाका रूपमा बुझेर सेवा प्रवाह गरून् भन्ने जनताको अपेक्षा रहन्छ । यस्ता कर्मचारीमाथि कहिले भ्रष्टाचार त कहिले विभिन्न आरोपहरू पनि लाग्दै आएका छन् ।

‘कर्मचारीहरुमा आफ्नो जिम्मेवारीबोध कम हुनु र कर्मचारीलाई पार्टीका कार्यकर्ता ठान्ने प्रवृत्तिले नेपालका कर्मचारी प्रशासनमा अराजकता मौलाएको छ’, पूर्वसचिव ढुङ्गेलको निष्कर्ष छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप