भरतपुर अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु
![भरतपुर अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु](https://rpcdn.ratopati.com/media/albums/bharatpur-hospital-768x441_H3J93xP2b6.jpeg)
चितवन– यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए ।
तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिए । अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् ।
नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले जानकारी दिए । बाँकी रहेका करीब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताए । अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ ।
सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करीब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ ।
जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो
-
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो
-
बेलायतमा भुपेन्द्रलाई दोहोरो स्वर्ण
-
उद्योग मन्त्रीलाई प्रश्नैप्रश्न : सांसदहरूका कारण मूल्यवृद्धि भएको हो ?
-
इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी