शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

सोमबार, २३ भदौ २०७६, १२ : ४३
सोमबार, २३ भदौ २०७६

चितवन– यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए ।  अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए ।

तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिए । अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । 

नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले जानकारी दिए । बाँकी रहेका करीब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताए । अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ । 
    
सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करीब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ । 

जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप