मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दशैँअघि यी बैङ्क तथा वित्तीय संस्थाले दिँदैछन् लाभांश

नगद कति, बोनस सेयर कति ?
सोमबार, २३ भदौ २०७६, ०९ : ३३
सोमबार, २३ भदौ २०७६

दशैँअघि नै साधारण सभा गरेर आफ्ना लगानीकर्तालाई दिने लाभांश पारित गराउन बैङ्क तथा वित्तीय संस्थाले धमाधम साधारणसभा बोलाउन थालेका छन् । यस पटक वाणिज्य बैङ्कहरुले बोनस सेयर भन्दा पनि नगद लाभांशलाई जोड दिएका छन् । उनीहरुले गत वर्षको (२०७५÷०७६) को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिन लागेका हुन् ।

कम्पनीहरुले लगानीकर्ता आकर्षित गर्न नगद लाभांशलाई जोड दिएका छन् । नगद लाभांश लगानीकर्ताले साधारणसभा पश्चात छिट्टै नै पाउँछन् । यद्यपि, बोनस सेयर डिम्याट खातामा जान भने केही समय लाग्छ ।

सिटिजन्स बैङ्कले १२ प्रतिशतका दरले हुन आउने १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ रुपैयाँ बराबरको नगद लाभांश दिदैछ । यस्तै  ३ प्रतिशतका दरले हुन आउने २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । यसै प्रयोजनका लागि असोज १० गतेलाई सिटिजन्स बैङ्कले साधारण सभा बोलाएको छ ।

कुमारी बैङ्कले पनि दशैँ अघि नै आफ्ना सेयर धनीलाई बोनस सेयर र नगद लाभांश दिँदैछ । यसका लागि बैङ्कले असोज ११ मा साधारण सभा बोलाएको छ । एनआइसी एसिया बैङ्कले पनि असोज ६ गतेलाई साधारण सभा बोलाएको छ । सानिमा बैङ्कले  आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्नेछ । यसको साधारणसभा मिति तोकिएको छैन् । एनसीसी बैङ्कले भने सेयरधनीलाई लाभांश दिएको छैन । यसले भदौ २३ मा साधारणसभा बोलाएको छ । दशैँ अगाडी नै लाभांश घोषणा गरेका धेरै कम्पनीले साधाणसभा गर्ने देखिन्छ ।

यता केही बीमा कम्पनीले पनि गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई दशैँ अघि नै लाभांश दिनेछन् । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव स्वीकृतिका लागि असोज ७ गतेलाई साधारणसभा बोलाएको छ । यसले चुक्तापुँजीको १२.५ प्रतिशत बोनस सेयर र सो बोनस सेयरका लागि लाग्ने कर तिर्न १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद दिनेछ ।

एनएलजी इन्स्यारेन्सले भने ६० प्रतिशत हकप्रद सेयर दिने भएको छ । यसको नगद र बोनस सेयर छैन । यसले असोज ८ गतेलाई साधारणसभा बोलाएको छ ।

एभरेष्ट इन्सुरेन्सले असोज १ गतेलाई साधारणसभा बोलाएको छ । नेपाल इन्सुरेन्सले भदौ ८ मा साधारण सभा गरिसकेको छ । असोज ६ गतेलाई साधारण सभा बोलाएको हिमालयन जनरलको पनि लाभांश छैन । नेकोले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव भदौ १४ गतेको साधारण सभाबाट पारित गरेको छ ।   यता प्रुडेन्सियलको पनि साधारणसभा भइसक्यो ।

नेपाल लाइफ इन्सुरेन्सले पनि गत वर्षको नाफाबाट २.५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने छ ।

लघुवित्तहरुले नगदभन्दा बढी बोनस सेयर दिँदै

लघुवित्त कम्पनीले भने नगद लाभांश भन्दा बढी बोनस सेयर दिने भएका छन् । उनीहरुले आफुले दिने लाभांशको घोषणा गरिसकेका छन् ।

आरएमडिसी लघुवित्त कम्पनीले ३ करोड ८० लाख १० हजार ७ सय २० रुपैयाँ बराबरको ६ प्रतिशत बोनस सेयर र ६ करोड ३३ लाख ५१ हजार २ सय रुपैयाँबराबर अर्थात् १० प्रतिशत  नगद लाभांश दिनेछ ।

चौतारी लघुवित्तले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २ करोड २ लाख ६४ हजार २ सय १० रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश र १ करोड ३० लाख २० हजार रुपैयाँ बराबरको ७ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ ।

स्वदेशी लघुवित्तले चुक्तापुँजीको २० प्रतिशत अर्थात् ४ करोड ६० लाख बराबरको बोनस सेयर र १३.२५ प्रतिशत अर्थात् ३ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश दिनेछ । लाभांशको कर तिर्न ४० लाख २५ हजार अर्थात् १.७५ प्रतिशत कर प्रयोजनका लागि दिइने कम्पनीले जनाएको छ ।

किसान माइक्रो फाइनान्सले २ करोड ६ लाख ४२ हजार २ सय ८० रुपैयाँ बराबरको २४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ९ लाख ८२ हजार ९ सय ६६ रुपैयाँ नगद लाभांश दिने जनाएको छ ।

स्पर्श लघुवित्तले चुक्तापुँजीको १३ प्रतिशत बोनस सेयर (१ करोड सात लाख ८५ हजार १९० रुपैयाँ) र पाँच लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश दिनेछ ।

समिट लघुवित्त वित्तीय संस्थाले ४ करोड ४३ लाख बराबरको बोनस सेयर  र २३ लाख ३१ हजार ५ सय ७८ रुपैया बराबर नगद लाभांश दिँदै छ ।

यद्यपि यिनीहरुले साधारण सभाको मिति भने घोषणा गरेका छैनन् । लाभांश पाउन सम्बन्धीत कम्पनीको साधारणसभाले पारित गरेको हुनुपर्छ ।

लघुवित्त कम्पनी कसले कति दिनेछन् लाभांश ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप