मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट निकाल्ने माछा, जसले मान्छेलाई नै पनि मार्न सक्छ !

हावामा सास फेर्ने, ६०० वाटसम्म करेन्ट पैदा गर्ने विचित्रको माछा
सोमबार, २३ भदौ २०७६, ०७ : १२
सोमबार, २३ भदौ २०७६

पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकिएको छ । यो कुरा भूगोलका सामान्य विद्यार्थीहरु सबैलाई थाहा छ । तर त्यो पानीले ढाकिएको अथाह क्षेत्रभित्र अनन्त रहस्यहरु लुकेर रहेका छन् । आजसम्म ती रहस्यहरुमध्ये मानिसले कमै मात्र थाहा पाएका छन्, पत्ता लगाएका छन् । पत्ता लगाउन धेरै कुराहरु अझै बाँकी नै छन् । मानिसले पत्ता लागाएका समुद्रभित्रका रहस्यहरुमध्येका त्यस्तै एउटा विचित्रको रहस्य हो– करेन्ट पैदा गर्ने माछा पनि हुन्छ भन्ने कुरा ।

हो, उत्तर अमेरिका तथा यूरोपका समुद्रहरुमा करेन्ट पैदा गर्ने माछा पाइन्छन् । मान्छेसमेत मार्न सक्नेसम्मको शक्तिशाली करेन्ट पैदा गर्ने उक्त माछालाई इलेक्ट्रिक इल भनिन्छ ।

https://timedotcom.files.wordpress.com

झट्ट हेर्दा सर्पको मुख जस्तो देखिने इलेक्ट्रिक इल वास्तवमा इल समूहको माछा होइन । वैज्ञानिक वर्गीकरणमा यो इलभन्दा पनि कार्प र क्याटफिसको नजिक पर्छ । इलेक्ट्रिक इलको वैज्ञानिक समूह Electrophorus electricus  हो ।

इलेक्ट्रिक इल ८ फिट लामो र यसको तौल ४४ पौण्ड अर्थात् २० किलोसम्मको हुन सक्छ । यसको सर्पको जस्तो सिलिण्डर आकारको लामो शरीर हुन्छ । यसको टाउकोको भाग चाहिँ केही थेप्चो खालको हुन्छ । यसको टाउको माथिल्लोपट्टि गाढा हरियो वा खराने रङको हुन्छ भने तल्लोपट्टिचाहिँ पहेंलो खालको हुन्छ । इलेक्ट्रिक इलको दृष्टि कमजोर हुन्छ ।

६०० भोल्ट बराबरको विद्युत करेन्ट

इलेक्ट्रिक इलको शरीरमा करिब ६ हजारवटा जति विशेष कोषहरु हुन्छन्, जसलाई इलेक्ट्रोसाइट्स (electrocytes)  भनिन्छ । यी इलेक्ट्रोसाइट्सहरुले स–साना व्याट्रीहरुले जस्तै करेन्टलाई जम्मा गरेर राख्ने गर्छ । इलेक्ट्रिक इलको एक तिहाई शरीरमा पाइने ती कोषहरुबाट नै ती विद्युतीय शक्तिहरु निस्कन्छन् ।  

एउटा पूर्ण रुपमा हुर्केको इलेक्ट्रिक इलले ६०० भोल्ट बराबरको विद्युत करेन्ट पैदा गर्न सक्छ ।  जब यो इल माछाले आफूमाथि आक्रमण भएको महसूस गर्छ वा आफ्ना शिकारलाई आक्रमण गर्नुपर्ने हुन्छ, यी कोषहरुले करेन्ट छाड्छ ।

सामान्य अवस्थामा यसले १० भोल्टभन्दा कम करेन्ट निकालिरहेको हुन्छ । त्यो करेन्टले राडारको जस्तै काम गर्ने गर्छ, जसको सहायताले त्यो आफू अगाडि बढ्ने तथा शिकार भएको दिशा पत्ता लगाउने गर्छ । यसको यो काम चमेराले गर्ने इकोलोकेसनसँग मिल्दोजुल्दो हुन्छ । त्यसैको मद्दतले यसले आफ्ना आहारहरु खोज्छ, शत्रु आएको संकेत दिएर सावधान गराउँछ ।

इलेक्ट्रिक इलको एउटा शक्तिशाली आघातले एउटा घोडालाई ६ मिटर (करीब २० फिट) टाढाबाटै अचेत पारिदिन सक्छ । तर सबै इल माछाहरुमा यो शक्ति हुँदैन । एक किसिमको कार्प इलमा मात्र यस्तो विद्युतीय क्षमता हुन्छ । इलेक्ट्रिक इल भनेर चिनिने यसलाई छुँदा मात्रै पनि आफ्नो शरीरमा भएको करेन्टले मान्छे समेतलाई मार्नसक्छ ।

त्यसो त यसको करेन्टले नै मानिस मरेको घटना दुर्लभै छ । तर यसको करेन्टको पटक पटकको झट्काले मानिसमा श्वासप्रश्वास प्रणाली रोकिने, मुटु अवरुद्ध हुने हुन सक्छ । त्यसमाथि थप कदाचित त्यसको असरले मानिस सोझै मरिहालेन भने त्यो करेन्टले मानिसलाई बेहोस बनाउन सक्ने र त्यहीकारण मानिस डुबेर मर्ने खतरा पनि रहन्छ । त्यसो त इलेक्ट्रिक इलले दिने करेन्टको आघात त्यसको आकारमा पनि निर्भर गर्छ । फेरि यसले निकाल्ने करेन्ट भनेको खालि २ मिलिसेकेण्डको हुन्छ ।

https://i.ytimg.com

छक्कलाग्दो कुरा के छ भने, इलेक्ट्रिक इलको करेन्टले अरु जनावरहरुलाई मार्न वा लठ्याउन सक्छ तर त्यो करेन्टले ऊ आफैंलाई चाहिँ असर गर्दैन । कतिपय वैज्ञानिकहरु के विश्वास गर्छन् भने त्यस्तो करेन्टले इलेक्ट्रिक इललाई पनि झट्का लाग्ने गर्छ तर त्यसको शरीरले त्यो झट्कालाई सहने वा प्रतिरोध गर्ने क्षमता विकास गरिसकेको हुन्छ, जसले गर्दा त्यसले उसको शरीरलाई क्षति गर्न सक्दैन ।

सबैभन्दा रोचक कुरा त के छ भने मरेपछि पनि यो माछा मान्छे तथा अन्य जन्तुहरुका लागि खतरनाक हुनसक्छ । किनभने, यसले आफ्नो मृत्युको ९ घण्टापछिसम्म पनि विद्युतीय झड्का दिइरहनसक्छ भनिन्छ ।

संसारमा इल माछाको ६०० प्रजातिहरु थाहा पाइएको छन् । तर ती सबैले करेन्ट पैदा गर्न सक्दैनन् । खालि इलेक्ट्रिक इलले मात्र करेन्ट पैदा गर्न सक्छ ।

इल माछाको आश्चर्यजनक यात्रा

जसरी इलमा भएको करेन्ट पैदा गर्न शक्ति आश्चर्यजनक छ, त्यसरी नै यसले सन्तानोत्पत्तिका लागि गर्ने लामो यात्रा त्यत्तिकै आश्चर्यजनक छ । प्राय: उत्तर अमेरिका र यूरोपमा पाइने इल माछा ताजा र स्वच्छ पानीमा बस्छ । तर यिनीहरुले आफ्नो प्रजनन तथा बच्चा उत्पादनको कार्य भने नूनिलो पानीमा गर्ने गर्छ । यसको लागि, अण्डा पार्न इल माछा अट्लान्टिक महासागरदेखि ‘सारगास्सो’ नामक समुद्रसम्म पुग्छन् ।

इलले पारदर्शी खोलमा अण्डा पैदा गर्छ, त्यो अण्डायुक्त खोल समुद्रको पानीमा तैरिरहन्छ र समुद्रको धारले त्यसलाई बगाएर उत्तर अमेरिका वा यूरोपका समुद्रको ताजा पानीसम्म नपुर्‍याएसम्म तैरिरहन्छ । कैयन दिनको लामो यात्रापछि ताजा पानी भएको समुद्र छेउछाउ पुग्दासम्म त्यो खोलभित्रका बच्चा इल वयस्क इलमा परिणत भइसकेको हुन्छ र त्यो पारदर्शी खोलालाई तोडेर इल ताजा पानीको खोजीमा बाहिर निस्कन्छ ।

थरिथरिका इल

रिबन इल । https://i.pinimg.com

इल विभिन्न आकार र प्रकारका हुन्छन् । ‘रिबन इल’ रिबन जस्तो च्याप्टो र लामो हुन्छ । अर्को कङगर इलको तीखो दाँत पछाडिपट्टि फर्किएको हुन्छ जसले पक्रेपछि शिकारलाई उम्कने मैका बिरलै मिल्छ ।

तीखो दाँत भएको इलको अर्को जाति हो ‘मोरे इल । पहिले पहिले रोमनहरुले आफ्ना पौडी–पोखरीमा समेत पाल्ने गर्दथे । त्यस्ता खतरनाक इल पालिएका पोखरीमा उनीहरु आफ्ना आज्ञा नमान्ने, विद्रोह गर्ने दासहरुलाई जबरजस्ती फ्याँकिदिएर मृत्युदण्ड दिने गर्थे ।

मोरे इल । https://upload.wikimedia.org

पहिले यो इललाई अत्यन्तै खतरनाक जीवको रुपमा मानिएपनि यो मान्छेको लागि त्यत्ति खतरनाक नभएको कुरा पता लागेको छ । पछिल्लो चरणमा थाहा पाइएअनुसार हेर्दा अत्यन्तै डरलाग्दो देखिने यो मोरे इलको आनीबानी भने अत्यन्तै लजालु किसिमको हुन्छ । कतिपय गोताखोरहरुले त यसलाई पक्रन्छन् तथा हातैले खानेकुरासमेत खुवाउँछन् । यसले हत्तपत्त मान्छेमाथि आक्रमण गरिहाल्दैन । यो आतङ्कित भयो वा आफूमाथि कसैले आक्रमण गरेको त्यसलाई महसूस भयो वा मान्छेको अंगलाई झुक्किएर खानेकुरा ठान्यो भनेमात्र यसले टोक्ने गर्छ । यो इलले टोकेको धेरै जसो घटनाहरु त्यसलाई आक्रमण गरिएपछि मात्र भएका छन् ।

विषालु तर लोकप्रिय परिकार

इल यूरोपमा अत्यन्तै लोकप्रिय परिकार हो । तर कतिपय जातिका इल माछा मान्छेको स्वास्थको लागि हानिकारक हुन सक्छ । उदाहरणको लागि, मोरे इलमा विषसमेत हुन्छ । यसको परिकार तयार गर्दा त्यसमा रहेको विषालु अंगलाई हटाउनु पर्छ । त्यसमा उचित सावधानी अपनाइएन भने मोरे इल खानु अत्यन्तै खतरनाक पनि साबित हुनसक्छ ।

विद्युत पैदा गर्ने अर्को माछा

इलेक्ट्रिक रे https://www.asianscientist.com

यस्तै, विद्युत पैदा गर्ने अर्को एक किसिमको माछा पनि पाइन्छ, जसलाई इलेक्ट्रिक रे अथवा एटलान्टिक टोरपिडो पनि भनिन्छ ।  यो माछाले आहारका लागि साना माछाहरु समात्न वा मार्न आफ्नो करेन्ट प्रयोग गर्छ ।

विद्युतीय माछा क्याटफिस https://upload.wikimedia.org

त्यस्तै अफ्रिकी नदीहरुमा पाइने अर्को किसिमको विद्युतीय माछा क्याटफिसले पनि करेन्ट पैदा गर्छ । यो माछाले आफ्ना छेउछाउका जनावरहरुलाई आफ्नो तीव्र विद्युतीय झड्काले बेहोश बनाइदिन सक्छ ।

माछा तर हावामा सास फेर्छ

इलेक्ट्रिक इलको मुख्य आहारा माछा हो । तर यसले भ्यागुता, छेपारो, चरा तथा ससाना जनावरहरुलाई पनि आफ्नो शिकार बनाउने गर्छ । यो माछा समूहको जीव  भए पनि हावामा सास फेर्ने गर्छ । त्यसैले सास फेर्नको लागि बेलाबेलामा टाउकोलाई पानीबाट बाहिर निकाल्नुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप