शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘बिपी कोइरालाको डायरी' लोकार्पण

आइतबार, २२ भदौ २०७६, २० : १३
आइतबार, २२ भदौ २०७६

काठमाडौं – नेपाली काँग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ को आइतबार एक कार्यक्रमकाबीच लोकार्पण गरियो । 

डायरी लोकार्पण गर्दै उनका सुपुत्र एवं काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताए । महामन्त्री डा कोइरालाले बिपीले आफूलाई जुन क्षेत्रको अध्ययन गरे पनि उत्कृष्ट बन्ने प्रयास गर्नुपर्छ भनेको स्मरण गर्दै बिपीले पनि अन्तिम समयसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि प्रयास गरेको उल्लेख गरे । 

कार्यक्रममा काङ्ग्रेस नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले बिपीको राजनीतिमा सक्रियता बढेका बेला उक्त डायरी लेखिएको बताउँदै तत्कालीन सङ्क्रमणकालीन अवस्था र अहिलेको राजनीतिक अवस्था काङ्ग्रेसका लागि तुलना गर्न मिल्ने खालको रहेको धारणा व्यक्त गरे। 

सैगरी पत्रकार चन्द्रकिशोर झा, शिखा बुक्सका पुष्प पौडेल, अनुवादक महेश पौड्याल लगायतले बिपीको डायरी राजनीति र साहित्यानुरागीका लागि निकै उपयोगी हुनुका साथै तत्कालीन डायरीमा इतिहासको जानकारीसमेत रहेको धारणा व्यक्त गरेका थिए ।  बिपीले अङ्ग्रेजीमा लेख्नुभएको उक्त डायरी पदमबहादुर थापाले परिवारबाट सङ्कलन गरी सम्पादन गरेका हुने भने महेश पौडेलले नेपालीमा अनुवाद गरेका हुन् । डायरीको प्रकाशक शिखा बुक्स, काठमाडौँ रहेको छ । 

यो डायरी सङ्क्षिप्त भए पनि यसले नेपालको अधिकांश भाग र भारतका दिल्ली बम्बई, कोलकात्ता, पटना, बनारस, दार्जलिङलगायत स्थलबाट त्यसबेलाको नेपालको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रलाई समेटेको छ । 

साथै विसं २०१२ को अन्त्यतिर बिपीले हालको गण्डकी प्रदेशका अधिकांश जिल्लाको एक महिना लामो भ्रमण गरेको र भ्रमणमा काँग्रेस सभापति सुर्वण शम्शेर र कुनैबेला महामन्त्री रहेका तुलसी गिरी, विश्वबन्धु थापासमेत साथमा रहेको सो डायरीले जनाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप