बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरको लापरबाहीले डेढ महिनादेखि ओछ्यानमा ११ वर्षीय बालक, मेडिकल काउन्सिलमा पर्‍यो उजुरी

आइतबार, २२ भदौ २०७६, १७ : ४७
आइतबार, २२ भदौ २०७६

काठमाडौं– राति एकाएक पेटको एकपट्टीको भाग अशह्य पीडा भयो । एकाएक ११ वर्षीय बालक छटपटिन थालेपछि परिवारमा तनाव भइहाल्छ । आमाले परिवारका अरु सदस्यसँग छलफल गरिन् र उपचारका लागि लैजाने सल्लाह भयो भक्तपुरको नेपाल–कोरिया नगरपालिका मैत्री अस्पताल । 

कुरा साउन ९ गते रातिको हो । रातभरको बालकको रुवाई सहँदै बिहानै लगियो नेपाल कोरियामैत्री नगरपालिका अस्पताल । चिकित्सकले चेकजाँच गरेपछि हर्निया भएको पत्तो लाग्यो । चिकित्सक र बिरामीका आफन्तबीचको  छलफलपछि साउन १० गते नै अपरेशन गर्ने तय भयो र सोही अनुसार डा श्रीकृष्ण श्रेष्ठले बालकको अपरेशन गरे । 

अपरेशन त सफल भयो नुवाकोटको विदूर नगरपालिकास्थित चारघरेका आशिष भट्टको । तर अपरेशनका क्रममा डाक्टरको लापरबाहीले देब्रे फिलामा ठूलो घाउ देखियो । सोही घाउको पीडामा अपरेशनबाट भर्खरै होसमा आएका बालक रुन थालेपछि हेर्दा पोलेको भेटिएको बिरामीका आफन्त शम्भु अधिकारीले जानकारी दिए । 

उनका अनुसार यसबारे चिकित्सक श्रेष्ठ र अस्पताल प्रशासनका अन्य अधिकारीलाई जानकारी गराउँदा भूलबस यस्तो भएको भन्दै उपचार गरिदिने आश्वासन दिए । ‘त्यतिबेला सामान्य होला भन्ने लागेर चुपचाप बसियो । तर अहिले न उपचार भयो न जिम्मेवारी नै लियो’ अधिकारीले बताए । 

उनका अनुसार हर्नियाको उपचारमा कुनै समस्या छैन । निको भयो । तर उपचारको क्रममा करेन्टले पोलेको फिलाको घाउ भने थप बल्झिदो अवस्थामा रहेको छ, जसका कारण बिरामी बालक डेढ महिनादेखि ओछ्यान परेका छन् । वीर अस्पतालमा देखाउँदा चिकित्सकले प्लाष्टिक सर्जरी गर्नुपर्ने सुझाएको बिरामीका अर्का आफन्त नारायण डोटेलले जानकारी दिए । उनका अनुसार पोलेको घाउ निको हुनुको साटो उल्टै पाकेपछि शुक्रबार वीर अस्पतालमा देखाउँदा सर्जरी गर्नुपर्ने चिकित्सकले सुझाएको र त्यसका लागि मंगलबार समय दिइएको बताए । 

 उपचारको आग्रह गर्दा दुर्व्यवहार
बिरामीका आफन्त डोटेलले सुरुमा अस्पतालले गल्ती स्वीकार्दै घाउ निको पार्न सबै सहयोग गर्ने प्रतिवद्धता जनाएपनि पछि गैरजिम्मेवार बन्दै दुव्र्यवहार सम्म गरिएको आरोप लगाए । 

 उनको दाबी अनुसार अस्पतालले उपचारमा वास्तै नगर्ने र दुर्व्यवहार नै गरेपछि भदौ २ गते बिना डिस्चार्ज अस्पतालबाट घर लगियो । 

उनले भने, ‘बिरामीको कुनै उपचार गरिएन । घाउ झन् बल्झिदा निको हुन्छ, जति बस्न परे अस्पताल बस्नु भनेर गैरजिम्मेवार जवाफ दिइयो । तर उपचारको भने कुनै चासो देखाइएन ।’

बालककी आमा सविता भट्टले डाक्टर भिजिटमा आउँदा समेत आफ्नो छोरालाई हेर्दै नहेरी जाने गरेको गुनासो गर्दै इन्फेन्सनको खतरा हुने बिरामीलाई सामान्य बेडमा राखेर गैरजिम्मेवार हर्कत पेश गरेको आरोप लगाइन् । 

शम्भुका अनुसार हर्नियाको अपरेशन सफल भएपछि पोलेको घाउ पनि सामान्य भएको भन्दै साउन १९ गते डिचार्ज गरियो । र, फलोअपका लागि २६ गते बोलाइयो । फलोअपका लागि बोलाइँदा घाउ झन् बल्झेको देखिएपछि भर्ना गरियो । त्यसपछि नै उपचार निको हुन्छ भन्दै थामथुप पार्ने प्रयास गरिएपनि उपचार भने नगरिएको शम्भुले बताए । 

उनका अनुसार एकपटक वीर अस्पतालमा घाउ देखाउन पनि लगाइयो तर डाक्टर श्रेष्ठकै मिलेमतोमा त्यहाँका डाक्टरले पनि सामान्य हो भन्दै एउटा मह्लम लगाएर पठाइदिएको परिवारको दाबी छ ।  

त्यसपछि परिवारले बिरामीको उपचार गरिदिन दवाव बढाउँदा झन् गलत व्यवहार गरेपछि २ गते बाध्य भएर घर ल्याएको शम्भुको भनाइ छ । 

डाक्टरको गल्तीले डेढ महिनादेखि आफूहरुले आर्थिक र मानसिक तनाव झेल्नुपरेको पीडित परिवारको भनाइ छ । 

स्मरणीय कुरा के छ भने बिरामीको घाउ निको नभएसम्म डिस्चार्ज पत्र नबुझ्ने भनेपछि अस्पतालले डिस्चार्जको पत्र थमाउन सकेको छैन ।  

यस विषयमा डाक्टर श्रेष्ठ, अस्पतालका शाखा अधिकृत दीपेश श्रेष्ठ, डाइरेक्टर ज्ञानकृष्ण कायस्थलगायतले आफूहरुले अस्पतालको सामान्य कमजोरी रहेको र यसमा अस्पतालले धेरै दिन राखेर निशुल्क उपचार गरेको दाबी गरे । 

अझ डाक्टर श्रेष्ठले त सुरुमा आफ्नो गल्ती नै नभएको जसरी प्रतिक्रिया दिए । उनले उल्टै अस्पतालमा बिरामीका आफन्तले हुल हुज्जत गर्न खोजेको भन्दै आफूले त्यत्रो अपरेशन सफल गर्दा पनि जस नदिएको भन्दै हलुका जवाफ दिए । 

अहिले पनि अस्पतालले उपचार गरिदिने भन्दै आएपनि अग्रसरता भने देखाएको छैन । छोरो यत्रोदिन थला पर्दापनि अस्पतालले उपचारमा केही पनि सहयोग नगरेको आमा सविताले बताइन् । उनले चिकित्सकको लापरबाहीले अनाहकमा एक लाख बढी खर्च हुनुका साथै अनेक मानसिक तनाव भएको बताइन् । 

यसैबीच बिरामीका आफन्तले अपरेशनमा संलग्न डाक्टर श्रेष्ठ र अस्पतालविरुद्ध आइतबार मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएको छ । उजुरीमा अस्पतालले उपचारमा लापरबाही गरी फिलामा पोलिदिएको र उपचारमा नगरी गैरजिम्मेवारीपन देखाएकाले डाक्टर श्रेष्ठ र अस्पताल प्रशासनमाथि कडा कारबाहीको माग गरिएको छ । 

काउन्सिलमा परेको उजुरीबारे डाक्टर श्रेष्ठले आफूलाई उजुरीले केही फरक नपर्ने भन्दै उल्टै आगामी उपचार प्रक्रियाबारे असर पुग्न सक्ने भन्दै समाचार प्रकाशित नगर्न चेतावनी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप