के सिवन : १०४ उपग्रहलाई अन्तरिक्षमा पठाउने किसानको छोराको कथा
बीबीसी । ७ सेप्टेम्बरको बिहान जब बैंगलुरुको इसरो स्पेस रिसर्च सेन्टरबाट प्रधानमन्त्री नरेन्द्र मोदी फर्कने तयारी गर्दै थिए, इसरो प्रमुख के सिवन भावुक बने । केही घण्टाअघि मात्र इसरोको चन्द्रयान–२ बाट सिग्नल प्राप्त हुन बन्द भएको थियो र विक्रम ल्याण्डर चन्द्रमामा अवतरण गर्यो कि गरेन वा त्यसको अवस्था कस्तो छ भन्ने प्रश्नको जवाफ अधुरो रहेको थियो ।
प्रधानमन्त्री मोदीको अगाडि भावुक बनेका सिवनको तस्वीर र भिडियो टिभी, अनलाइन र सामाजिक सञ्जालमा भाइरल बन्यो ।
सिवन चन्द्रयान–२ को यात्रा पूरा गर्न नसकेकोमा भावुक भए पनि मानसिकरुपमा निकै मजबुत रहेका छन् । उनकै प्रयासका कारण कम लागतमा उपग्रहलाई अन्तरिक्षमा पठाउने मामिलामा भारत ठूलो गन्तव्य बनेको छ ।
मंगल मिशनका लागि पीएसएलवीको उपयोगबाट कम लागत भएको प्रभावी रणनीति विकसित गर्न उनले ठूलो भूमिका खेलेका थिए ।
१५ फेब्रुअरी २०१७ मा पीएसएलवीको माध्यमबाट एकै पटक १०४ उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा पठाउने सफलताको पछाडि पनि सिवन नै प्रमुख मिसन आर्किटेक्ट थिए । एकसाथ सयभन्दा बढी उपग्रहलाई अन्तरिक्षमा पठाउने भारत पहिलो देश बन्यो ।
आम मानिसको जीवनमा अन्तरिक्ष विज्ञान
उनको नेतृत्वमा लिथियम ब्याट्री पनि बनाइएको थियो जसलाई विद्युतीय गाडीमा प्रयोग गर्न सकिनेछ । सिवेन आफै भन्छन् – इसरोको मुख्य उद्देश्य ‘आम जीवनमा अन्तरिक्ष विज्ञानको प्रयोग’ हो । रकेटलाई अन्तरिक्षमा पठाउने प्रविधिलाई उद्योगसँग जोड्ने दिशामा काम गरिरहेको उनले बताएका छन् । उनका अनुसार इसरोले ३ सयदेखि ४ सय प्रविधि उद्योगहरुमा हस्तान्तरण गरिसकेको छ ।
चिकित्सा उपकरणहरुको विकासको क्षेत्रमा पनि उनले कयौँ काम गरेका छन् । माइक्रोप्रोसेसर नियन्त्रित कृत्रिम अंग र कृत्रिम हृदय पम्पजस्ता वाम भेन्ट्रिकल असिस्ट डिभाइसलाई फिल्ड ट्रायलका लागि तयार गरिएको छ ।
सिवन सिक्स डी सिम्युलेसन सफ्टवेयर ‘सितारा’ बनाउने टोलीका प्रमुख पनि रहेका छन् । यसले इसरोको सबै प्रक्षेपणको अहम भूमिका निभाउँछ ।
उनले यस्तो रणनीतिको विकास गरेका छन् जसले मौसम पूर्वानुमान र वायुको गतिको स्थिति हेरेर कुनै पनि मौसम र वर्षको कुनै पनि दिन रकेट प्रक्षेपण गर्न सम्भव बनेको छ ।
पीएसएलवीलाई शक्तिशाली बनाउन योगदान
जब सिवन सन् १९८२ मा इसरोमा आएपछि उनले सबैभन्दा पहिले पीएसएलवी परियोजनामा काम गरे । उनले एन्ड टु एन्ड मिसन प्लानिङ, मिसन डिजाइन, मिसन इन्ट्रिगेसन एन्ड एनाल्याइसिसमा योगदान दिए ।
आज सिवनलाई एरोस्पेस इन्जिनियरिङ, स्पेन ट्रान्सपोर्टेसन सिस्टम इन्जिनियरिङ, लञ्च भेहिकल र मिसन डिजाइन, कन्ट्रोल र गाइडेन्स डिजाइन, मिसनको सफ्टवेयर डिजाइन, मिसनको विभिन्न परीक्षणको परिणामको संयोजन, एरोस्पेससँग जोडिएको कुनै पनि प्रयोगको समूचीत प्रक्रिया तयार गर्न, विश्लेषण र उडान प्रणालीहरुको पुष्टिकरणमा विज्ञता हासिल गरेका छन् ।
उनको रणनीतिहरुको ठूलो योगदान पीएसएलवीलाई शक्तिशाली बनाउन रह्यो । यसले इसरोका अन्य लञ्च भेहिकल, आरएलवी–टीडीसमेत जीएसएलवी एमे २, एमके ३ लाई आधार प्रदान गर्यो ।
सिवनसँग जोडिएको विवाद
तर, सिवन विवादरहित भने रहेनन् । सिवन जब इसरोका अध्यक्ष बने, उनले स्पेसन एप्लीकेसन सेन्टरका डाइरेक्टरलाई डिमोसन गरिदिए । यसलाई लिएर वैज्ञानिहरुले राष्ट्रपतिसम्मलाई पत्र लेख्दै यसको पछाडि कुनै व्यवसायिक कारण नभएको जिकिर गरेका थिए । यसको साथै चन्द्रयान २ अघि जब सिवन कर्नाटकको कृष्ण मठमा पूजाअर्चना गर्न पुगेका थिए, त्यसको पनि खुबै आलोचना भएको थियो ।
कठिन बाल्यकाल
परिवारका पहिलो ग्राजुएट र पहिलो इन्जिनियर बन्दै इसरोका प्रमुख बनेका सिवनको जन्म सन् १९५७ अप्रिल १४ मा तमिलनाडुको कन्याकुमारी जिल्लाको एक किसान परिवारमा भएको थियो ।
अंग्रेजी अखबार टाइम्स अफ इन्डियासँगको एक अन्तरवार्ताका अनुसार पैसाको अभावका कारण सिवनका भाईबहिनीले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित रहे ।
पत्रकार पल्लव बागलाका साथ एक अन्तरवार्तामा सिवनले आफ्नो प्रारम्भिक शिक्षा मेला सराकलाविल्लई गाउँको सरकारी स्कुलमा तमिल माध्यमबाट शुरु भएको बताएका थिए । स्कूली शिक्षाको दौरान उनी खेतीमा आफ्नो पिताको मद्दत गर्थे ।
सन् १९७७ मा उनले मदुरै विश्वविद्यालयबाट स्नातकसम्मको पढाइ पूरा गरे । योसँगै उनी परिवारबाट पहिलो ग्राजुएट बने । यो परीक्षामा उनले शतप्रतिशत अंक प्राप्त गरेपछि मात्र सिवनलाई उनको पिताले उच्च शिक्षाको अनुमति दिएका थिए ।
वैज्ञानिक बन्ने यात्रा
यसपछि सिवनले १९८० मा मद्रास इन्सिटिट्युट अफ टेक्नोलोजीबाट एरोनोटिक्समा इन्जिनियरिङ गरे । यसको दुई वर्षपछि बैंग्लुरुको भारतीय विज्ञान संस्थान (आईआईएससी) बाट उनले एरोस्पेसमा स्नातकोत्तर गरे । त्यही वर्ष उनी इसरोसँग आबद्ध भए । सन् २००७ मा एरोस्पेस इन्जिनियरिङमा आईआईटी बम्बेबाट आफ्नो पीएचडी पूरा गरे ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) मा वीएसएससी, एलपीएससीको निर्देशक, जीएसएलवीको प्रोजेक्ट डाइरेक्टर, अन्तरिक्ष आयोगको सदस्य र इसरो परिषदको उपाध्यक्षजस्तो महत्त्वपूर्ण पद सम्हालेपछि उनी सन् २०१८ मा इसरोका प्रमुख बने ।
डाक्टर कलामसमेत कयौँ पुरस्कार
डा. सिवेन सन् २००७ मा इसरो मेरिट अवार्ड, सन् २०११ मा डा. विरेन रोय स्पेस साइन्स एन्ड डिजाइन अवार्ड, सन् २०१६ मा इसरो अवार्ड फर आउटस्टान्डिङ एचिभमेन्टसमेत कयौँ पुरस्कार र कयौँ विश्वविद्यालयबाट डाक्टर अफ साइन्सबाट सम्मानित भएका छन् । सन् २०१४ मा चेन्नाईको सत्यभामा विश्वविद्यालयबाट डाक्टर अफ साइन्स र सन् १९९९ मा डा. विक्रम साराभाई रिसर्च अवार्ड सामेल छ ।
कयौँ प्रतिष्ठित जर्नलमा विज्ञानबारे उनको पेपर छापिएका छन् ।
अन्तरिक्ष परिवहन प्रणाली डिजाइन र निर्माणको सबै क्षेत्रमा आफ्नो अनुभवको आधारमा सन् २०१५ मा ‘इन्टिग्रेटेड डिजाइन फर स्पेस ट्रान्सपोर्टेशन सिस्टम’ नामक उनको किताम प्रकाशित भएको छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा डा. सिवेनको योगदानका लागि गत महिना तमिलनाडु सरकारले उनलाई डा. कलाम पुरस्कारबाट सम्मानित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि
-
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
-
आइपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !