शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठक शून्य समय : डेंगू रोग नियन्त्रणका लागि ठोस कदम चाल्न माग

आइतबार, २२ भदौ २०७६, १४ : २०
आइतबार, २२ भदौ २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेकी हुन् ।

आईतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ७० हजार भन्दा बढि नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै त्यसबारे ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको पनि गम्भिर ध्यानाकर्षण गराइन् ।

काँग्रेस सचेत भुसालले जनस्वास्थ्यसँग जोडिएको यस्ता विषयमा सरकार किन गम्भिर नभएको ? भनि प्रश्न पनि गरिन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगू नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाइन् । 

त्यसैगरी काँग्रेसका अर्का सांसद डिला संर्गौलाले पनि डेंगू रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् । चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३, ५८० जना बिरामीहरु अस्पतालमा भर्ना भएका छन् । त्यसैगरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ । सांसद संग्रौलाले महामारीको रुपमा फैलिन लागेको सो रोगको नियन्त्रणका सरकार गम्भिर नभएको आरोप पनि लगाइन् ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद दामोदर भण्डारीले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा चितुवाको आतंकबाट हालसम्म २४ जनाको ज्यान गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै आपत्ति जनाए । उनले सो गाउँपालिकामा चितुवाको आतंक कम गरेर जनताको जीवन रक्षाका लागि पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप