शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेढ वर्षदेखि कामचलाउ समितिको भरमा खानेपानी संस्था

आइतबार, २२ भदौ २०७६, १३ : २९
आइतबार, २२ भदौ २०७६

–दीपक बोहरा 
दाङ– डेढ वर्षदेखि दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नयाँ नेतृत्व पाउन सकेको छैन । यसअघि भएको आठौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नेतृत्व टुङ्ग्याउन नसक्दा तत्कालीन कार्यसमितिलाई कामचलाउका रूपमा राख्ने राजनीतिक सहमति भयो । तर त्यो समितिलाई  प्रशासनिक र आर्थिक कुनै अधिकार पनि दिइएको थिएन ।

वि.सं २०७४ पुस १९ गते भएको उक्त साधारणसभामा तत्कालीन अध्यक्ष प्रदीप गौतम, तत्कालीन सचिव विनयकुमार पोखरेल र घनश्याम गौतमले अध्यक्षका लागि उम्मेदवारी पनि दिए । तर सोही साधारणसभाले चयन गरेको निर्वाचन समितिले नयाँ नेतृत्वका लागि कुनै सहमति पनि जुटाउन सकेन र निर्वाचन पनि गराउन सकेन । 

नयाँ नेतृत्व चयनका लागि विभिन्न बहानामा मिति सार्दै गयो । तर सहमति पनि भएन र निर्वाचन पनि हुन नसकेपछि निर्वाचन समितिले राजीनामा दियो । निर्वाचन समितिले दिएको राजीनामा दुई महिनाअघि मात्रै कामचलाउ समितिले स्वीकृत गरेको अध्यक्ष प्रदीप गौतमले बताए ।

‘सहमति जुट्न नसकेपछि २०७४ मै निर्वाचन समितिले राजीनामा दिएको थियो’, उनले भने, ‘त्यसपछि कामचलाउ समितिका रूपमा हामीले काम गर्दै आएका थियौँ, यही समितिले दुई महीनाअघि मात्रै राजीनामा स्वीकृत गरेको हो ।’ 

निर्वाचन समितिले काम नगरेपछि त्यसको छिनोफानो गर्ने नैतिक जिम्मेवारी स्थानीय सरकारसमक्ष आयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोही खानेपानी संस्थाका उपभोक्ताहरू भएका जनप्रतिनिधिहरुलाई जिम्मा दिए ।

प्रमुख पाण्डेले वडा नं १६ का अध्यक्ष भूपबहादुर केसी, वडा नं १७ का अध्यक्ष थलराज पुरी, वडा नं १८ का अध्यक्ष माधव ओली, वडा नं १९ का अध्यक्ष रामबहादुर योगी र कार्यपालिका सदस्य देवराज विश्वकर्मालाई दिएका थिए । तर यस विषयमा आफूहरुसँग कुनै समन्वय नगरेको जनप्रतिनिधिहरुले बताएका छन् भने खानेपानीको यो समस्या समाधानतर्फ चासो नदिएको अध्यक्ष गौतमले बताउँदै आएका छन् । 

यसैबीच शनिबार नवौँ वार्षिकोत्सव तथा छैटौँ अधिवेशन बोलाइयो । यो संस्थाको विशेष साधारणसभा हो । तर साधारणसभाले केही पनि निक्र्योल निकाल्न सकेन । साधारणसभामा उपाध्यक्ष, सचिवलगायत धेरै व्यक्ति सहभागी थिएनन् । वडा नं १७ का वडाध्यक्ष सहभागी हुनुभएको थिएन भने १९ का वडाध्यक्ष सहभागी भए पनि एकैछिनमा फर्किएका थिए । 

साधारणसभा बन्दसत्रमा प्रवेश ग¥यो तर गणपूरक सङ्ख्या नपुगेपछि बन्दसत्र स्थगित भयो । संस्थाका करीब एक हजार तीन सय सदस्य छन् । तर करीब तीन सय मात्रै सहभागी भए । जम्मा उपभोक्ताको ५१ प्रतिशत सहभागी हुनुपर्ने भए पनि त्यसो हुन नसकेपछि बन्दसत्र स्थगित भएको अध्यक्ष गौतमले बताए । अबको अर्को विशेष साधारणसभा बोलाएर यो समस्या टुङ्ग्याउनु पर्छ, जुनबेला ३३ प्रतिशत सङ्ख्या पुग्नुपर्छ ।

‘तेत्तीस प्रतिशत पनि नपुगेमा अर्को साधारणसभा बोलाउनुपर्छ, त्यसपछिको साधारणसभामा जति जना सहभागी हुन्छन्, उनीहरुबाटै अहिलेको समस्या समाधान हुन्छ’, अध्यक्ष गौतमले भने, ‘यसका लागि केही समयपछि राजनीतिक दल तथा जनप्रतिनिधिहरुसँग छलफल गरेर विशेष साधारणसभा बोलाइने छ ।’ 

उक्त साधारणसभामा सचिव विनयकुमार पोखरेल सहभागी भएका थिएनन् । पोखरेल सहभागी नभएपछि अझै पनि सहमति जुट्न सक्ने अवस्था छैन भन्ने कुराको सहजै अनुमान गर्न सकिन्थ्यो । कार्यक्रममा सहभागी सङ्ख्या पनि निकै कम थियो । सचिव पोखरेलले कामचलाउ संस्थाले अवैधानिक गतिविधि गर्ने भएकाले पहिलेदेखि नै सहभागी नभएको प्रतिक्रिया दिए ।

‘अहिलेको यो कामचलाउ समिति हो, यसले निर्वाचन कमिटीको राजीनामा स्वीकृत पनि गर्न मिल्दैन्’, उनले भने, ‘त्यसैले पनि म सहभागी भइनँ, अर्कोतर्फ म शारीरिकरूपमा पनि अस्वस्थ छु ।’ अहिले यहाँका जनप्रतिनिधिलाई यो समस्या हल गर्ने जिम्मा दिएको भए पनि जनप्रतिनिधिहरुसँग नै  समन्वय नगरेर साधारणसभा गर्नु पनि गलत रहेको उनको भनाइ थियो । 

यसअघिको वार्षिक साधारणसभामा अध्यक्षका प्रत्याशीसमेत रहेका पोखरेलले अहिलेको साधारणसभामा आफू नै अध्यक्ष हुनुपर्छ भन्ने नभए पनि पार्टीले राम्रो मान्छेलाई खानेपानीको अध्यक्षका रूपमा अगाडि बढाउनुपर्ने बताए ।

उपमहानगरपालिकाले समस्या समाधान गर्न आफूहरुलाई जिम्मा दिएको भए पनि खानेपानी संस्थाहरुले आफूहरुसँग समन्वय नगरेको वडा नं १८ का अध्यक्ष माधव ओलीले बताए । ‘त्यहाँको समस्या समाधान गर्ने जिम्मा उपमहानगरपालिकाले हामी पाँच जनप्रतिनिधिलाई दिएको थियो’, उनले भने, ‘तर हामीसँग यस विषयमा समन्वय पनि गरिएन, यसरी मनोमानी ढङ्गले गएको देखियो ।’

आफूहरुले २१ गते साधारणसभा राखेको थाहा पाएपछि भेटघाट गरेर २८ गते सारौँ भन्ने प्रस्ताव राखे पनि आफूहरुको सल्लाह नमानेको भन्दै उनले अध्यक्षले मनोमानी गर्न खोजेको बताए । साथै कामचलाउ समितिले निर्वाचन समितिको राजीनामा स्वीकृत गर्नु विधिविपरीत भएकोसमेत उनको भनाइ थियो ।  

जनप्रतिनिधिले चासो दिनुभएन : गौतम  

खानेपानी संस्थामा देखिएको समस्या समाधानका लागि आफूले पटक–पटक उपमहानगरपालिकाका प्रमुख तथा वडाध्यक्षहरुसँग गए पनि कुनै चासो नदिएको अध्यक्ष गौतमले बताए । ‘म गएको चैतमा उपमहानगरप्रमुखलाई भेटेँ, उहाँले वडाका पाँच जनप्रतिनिधिलाई जिम्मा दिएको बताउनुभयो’, उनले भने, ‘त्यसपछि म वैशाखसम्म पटक–पटक वडाध्यक्षसँग पनि गएँ तर उनीहरुले पनि चासो नदिएपछि खानेपानीको साधारणसभा बोलाएका हौँ ।’ खानेपानी संस्था अनिर्णयको बन्दी बनेको भन्दै खानेपानीसँग साधारणसभा बोलाउने अधिकार प्रयोग गरेर यो कार्य गरिएको समेत उनले बताए । 

कामचलाउ समिति भए पनि आफूहरुमा जनतालाई खानेपानी पु¥याउने नैतिक जिम्मेवारी भएको भन्दै त्यही अनुसार काम गरिरहेको उनको भनाइ थियो । ‘हामीले आर्थिक तथा प्रशासनिक काम गर्न पाइँदैन’, उनले भने, ‘तर कुनै ठाउँ पाइप फुट्छ, कुनै ठाउँमा पानी पुग्दैन, यस्तो बेला हामीले पानी पु¥याउनै पर्छ, यसमा हामीले नैतिकताका हिसाबले पनि आर्थिक तथा प्रशासनिक काम गर्नुपर्ने अवस्था छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप