मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमा चिनियाँ लगानीकर्ताको जमघट : ६ वटै प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट सुनाए योजनाहरुको नालीबेली

शनिबार, २१ भदौ २०७६, १६ : ४२
शनिबार, २१ भदौ २०७६

काठमाडौँ । देशका ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुले चिनियाँ लगानीकर्ताहरुलाई आफ्नो प्रदेशमा लगानी गर्न आग्रह गरेका छन् । शनिवार चीनका लागि नेपाली राजदूतावास र नेपाल चीन आर्थिक तथा वाणिज्य मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको लगानीको सम्भावनाहरु उल्लेख्य रहेको भन्दै त्यसमा गर्दै लगानी गर्न आग्रह गरेका हुन् । 

एउटै मञ्चमा उपस्थित भएका उनीहरुले आफ्नो प्रदेशको अहिलेको अवस्था, तयार पारेका योजनाहरु र सम्भावित योजनाहरुका कसरी लगानी गर्न सकिन्छ भनेर खाका प्रस्तुत गरेका छन् ।

नेपालमा लगानीको सम्भावनाहरुको छलफलमा सहभागि हुनका लागि चीनका विभिन्न प्रान्तबाट ८० जनाको हाराहारीमा लगानीकर्ताहरु काठमाडौँ आएका छन् ।

मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको सम्भाव्य विकासका योजनाहरु, त्यसमा लाग्ने अनुमानित बजेट प्रस्तुत गर्दै वैदेशिक लगानी विना आफ्नो प्रदेशको समृद्धि सम्भव नभएको बताएका थिए ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो प्रदेशमा ५ बर्षमा १२ खर्बको लगानीको सम्भावना रहेको उल्लेख गरे । त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकारबाट काम गर्न सम्भव नभएकोले निजी क्षेत्र र वैदेशिक लगानीको आवश्यकता रहेको बताए ।

उनले प्रदेश ५ ले १ अर्ब लगानी गर्नेका लागि पानी, बिजुली, सडक पूर्वाधार, सुरक्षा जस्ता विषयमा प्रदेश सरकारले जिम्मा लिने बताउँदै लगानीका लागि सुरक्षित वातावरण रहेको बताए ।

प्रदेश ५ मा सिमेन्ट उद्योगको प्रचुर सम्भावना रहेको, नेपालमा उत्पादन हुने सिमेन्टको ४० प्रतिशत आफ्नो प्रदेशमा हुने बताउँदै उनले सिमेन्टका लागि कच्चा पदार्थ पर्याप्त रहेकोले सिमेन्ट उद्योगमा लगानीका लागि आग्रह गरे ।

उनले आफ्नो प्रदेशमा अथाह पर्यटन उद्योगको पनि सम्भावना रहेको बताउँदै बुद्धको जन्मस्थल लुम्बिनी, पाटे बाघ संरक्षणको केन्द्रको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज रहेका कारण ति क्षेत्रहरुमा होटल तथा रिर्सोटहरुमा लगानी गर्न सकिने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेकोले आगामी दिनमा चिनियाँ पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भन्दै पर्यटन क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई अनुरोध गरे ।

मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचमा लगानीको वातावरण तयार गर्नका लागि अन्तर्राष्ट्रिय तहमा लगानी सम्मेलन गर्न लागेको बताउँदै त्यसमा चिनियाँ लगानीकर्ताहरु बढी भन्दा बढी सहभागी हुने अपेक्षा व्यक्त गरे ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशले पञ्चवर्षीय, १० बर्षीय र २५ वर्षीय योजना बनाएको बताउँदै आफ्नो प्रदेशमा वैदेशिक लगानीको ढोका खोलेको बताउँदै लगानीका लागि आफ्ना योजनाहरुको फेरिहस्त सुनाए । 

उनले नेपालमा उत्पादन भएको जलविद्युत मध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा ४ सय ४८ मेगावाट विद्युत उत्पादन भइरहेको भन्दै जलविद्युत उत्पादनका लागि प्रचुर सम्भावना रहेकोले जलविद्युतमा लगानी गर्न आग्रह गरे ।

प्रदेश सरकारलाई २० मेगावाटसम्मको आयोजना सञ्चालन गर्न केन्द्र सरकारले अनुमति दिएकाले त्यसभन्दा ठूला आयोजनामा लगानीका लागि वैदेशीक लगानी आवश्यक पर्ने भएकोले २० देखि १ सय मेगावाटसम्मका आयोजनामा चिनियाँ निजी क्षेत्रले लगानी गर्न सक्ने भन्दै त्यसका लागि तयार हुन अनुरोध गरे ।

उनले आफ्नो प्रदेशको समृद्धिका लागि पर्यटन, कृषि, उद्योग, पूर्वाधार विकास, सु–शासन र भ्रष्टाचार नियन्त्रणलाई आधार बनाएको बताए ।

पोखरा पर्यटकीय क्षेत्र भएकोले होटल तथा रिर्सोटको अझै धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री सुब्बाले ५० वटा होटलका लागि २० करोडदेखि ३० अर्बसम्मको लगानी आवश्यक रहेकाले यो क्षेत्रमा लगानीको आगी आग्रह गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको भन्दै सो विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई अन्तर्राष्ट्रिय व्यपारिक केन्द्र बनाउने योजना रहेको र त्यसका लागि डेढ अर्ब रकम लाग्ने जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशले चीनको तिब्बतदेखि भारतको बिहारसम्म छुने भएकोले दुवै देशमा आवश्यक पर्ने सामग्रीको उत्पादन गरी बजार प्रर्वद्धन गर्नेखालका उद्योग स्थापना गर्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने आग्रह गरे ।

फलाम, तामा, यूरोनियमको खानी आफ्नो प्रदेशमा रहेको, पोखरामा ९ वटा ताल रहेको र ति ताललाई जोड्ने गरी मोनोरेल सञ्चालन गर्ने योजना बनाएको बताउँदै त्यसका लागि लगानी गर्न आग्रह गरे ।

यता प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा लगानीको वातावरण निर्माणका लागि आवश्यक कानून, सुरक्षाको व्यवस्था गरेको बताए । उनले नेपालमा अहिले राजनीतिक स्थिरता रहेकोले लगानीको उपयुक्त वातावरण रहेको बताउँदै आफ्नो प्रदेशले १० वटा स्थानीय तहलाई जोडेर बृहत विराट क्षेत्र बनाउन लागेको जानकारी दिए ।

बृहत औद्योगिक क्षेत्र स्थापनाका लागि नेपाल  सरकार र प्रदेश सरकारको पुँजीले सम्भव नभएकोले त्यसका लागि बैदेशिक लगानी आवश्यक रहेको बताए ।

उनले प्रदेश १ ले निकै ठूलो महत्वकांक्षी योजना आफूले अघि सारेको बताउँदै समुन्द्र सतहबाट सबैभन्दा होचो रहेको झापाको केचनाकवलबाट विश्वको सबैभन्दा अग्लो सगरमाथासम्म केवलकारले जोड्न खोजेको भन्दै त्यसका लागि वैदेशिक लगानी अनिवार्य रहेको बताए ।

यो परियोजना सम्पन्न गर्न सके प्रदेश नम्बर १ मा वार्षिक ५० हजार भन्दा बढी पर्यटक भित्र्याउन सकिने बताए । उनले भने– ‘संसारकै अग्लो ठाँउ र सबैभन्दा होचो ठाँउलाई हामीले दु्रुतमार्गबाट जोडेर सबैभन्दा होचो ठाँउबाट सबैभन्दा अग्लो ठाँउमा छोटो समयमै पुग्ने महत्वाकांक्षी सपना देखेका छौँ । हाम्रो प्रदेशको सिमानाबाट बंगालादेश पुग्न १ घण्टा लाग्छ, सिमाना बिहारमा १८ करोड जनसंख्या छ । हामीले यो परियोजना पूरा ग¥र्यौँ भने वार्षिक ५० हजार पर्यटक भित्र्याउन सक्छौँ ।’

प्रदेश ३ मा चीन जोड्ने ३ वटा नाका रहेको भन्दै ति नाका सञ्चालनमा चीन सरकारले सहयोग गरेमा चीन, नेपाल र भारतबिच व्यापारिक मार्ग विस्तार गर्न सकिने बताए ।

उनले आफ्नो प्रदेश कृषि उत्पादनको हिसाबले पनि नमुना रहेको भन्दै चियाखेती, अलैंचीखेती, रुद्राक्षखेतीका लागि राजधानीका रुपमा रहेको बताउँदै चिनियाँ लगानीकर्ताले कृषि क्षेत्रमा पनि लगानी गर्नसक्ने बताए ।

यता प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सुदुरपश्चिम प्रदेश प्रर्यटन, कृषि, जलविद्युत, जडिबुटी प्रशोधनलगायतका उद्योग सञ्चालनका लागि प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले आफ्नो प्रदेशमा लगानीका लागि आग्रह गरे ।

उनले आफ्नो प्रदेशमा प्रशोधन भएर प्रयोग आउन नसक्दा ठूलो परिणामको जडिबुटी खेर गइरहेको भन्दै त्यसका लागि वैदेशिक लगानीमा उद्योगहरु विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने स्पष्ट पारे ।

यता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्ने प्रचुर क्षेत्रहरु रहेको भन्दै त्यसको उपयोगका लागि प्रदेश सरकारले छिट्टै लगानी सम्मेलन गर्न लागेको बताए ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै गरिबी, शिक्षा, स्वास्थ्यमा सर्वसुलभताको अभाव भएपनि लगानी गर्नका लागि प्राकृतिक स्रोत र साधन उल्लेख्य मात्रामा रहेको भन्दै लगानीकर्ताका लागि सुरक्षित गन्तव्य रहेको बताए ।

उनले आफ्नो प्रदेशमा लगानी गर्नेलाई १० बर्षसम्म कर छुट गर्ने प्रदेश मन्त्रीपरिषद्ले निर्णय गरेको भन्दै त्यसका लागि केन्द्रीय सरकारलाई पनि प्रस्ताव पठाएको जानकारी दिए ।

रारा ताल, अग्ला हिमश्रृङ्खलालगायत पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यको रुपमा कर्णाली प्रदेश रहेको भन्दै होटल, रिर्सोट तथा ट्रेकिङ व्यवसायको सम्भावना रहेकोले ती क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे ।

उनले प्राकृतिक सम्पदाको उपभोग हुनेगरी जडिबुटी प्रशोधन, जलविद्युत आयोजनाहरु निर्माणका लागि चिनियाँ लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरे ।

मुख्यमन्त्रीहरुले चिनियाँ लगानीकर्ताहरुलाई आफ्ना योजना सुनाउनुअघि कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटनमन्त्री योगेश भट्टराईलगायतले नेपालमा राजनीतिक स्थायीत्व रहेकोले लगानीको उपयुक्त वातावरण भएकाले त्यसको सम्भाव्यताहरुको बारेमा प्रष्ट पारेका थिए ।

चितवनमा चिनियाँ लगानीमा बृहत औद्योगिक पार्क बन्ने

यसैबीच कार्यक्रममा चिनियाँ लगानीकर्ताका तर्फबाट बोल्दै लि सुय सङले चितवनमा बृहत औद्योगिक पार्क स्थापना गर्नका लागि त्यसको अवधारणाबारे जानकारी गराए । उनले सो पार्क नेपाल र चीन सरकारको संयुक्त प्रयासमा सञ्चालन हुने बताँउदै कर, कामदार राख्ने र अन्य सेवाका बारेमा दुई पक्षबिचमा छलफल गरेर तय गर्ने बताए ।

औद्योगिक पार्कमा चिनियाँ उद्योगीहरुलाई आमन्त्रण गरिने बताउँदै उनले भारत लगायतका दक्षिण एसियाली देशलाई आवश्यक पर्ने सामग्री उत्पादन गरेर नेपालले आर्थिक लाभ लिन सक्ने बताए ।

उनले अहिले राजनीतिक स्थिरता कायम रहेको बताउँदै औद्योगिक पार्क स्थापना गर्दा सरकार परिवर्तन हुँदा पनि अप्ठेरो नपर्ने नीति तय गर्न आग्रह गरे ।

उनले सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, गत अप्रिलमा भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएका छलफल अनुसार दुई देश बिचको सम्बन्धलाई सुदृढ बनाउने नीति अनुसार क्रमिक रुपमा सहकार्यलाई अगाढि बढाउन लागेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप