जनताले ओली सरकारको विकल्प खोजेका छन्ः राणा

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले जनता ओली सरकारको कार्यशैलीबाट आक्रोशित भएको भन्दै विकल्प खोज्न थालेको बताएका छन् ।
‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएकै हो तर सरकारले सिन्को पनि भाँच्न सकेन । विगत १६ महिनामा ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासनशैली बाहेक केही दिन सकेन,’ अध्यक्ष राणाले शनिबार भने ।
‘त्यसकारण जनतामा निराशा छाएको छ र आक्रोश बढेर गएको छ । जनता अब पर्खेर बस्नेवाला छैनन्,’ सिन्धुली जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै राणाले भने ।
गुठी विधेयक र रवी लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै जनताले खोजेको विकल्प राप्रपा (संयुक्त) ले दिने अध्यक्ष राणाले दावी गरे ।
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उनले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताए । जनताको चाहना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले जानकारी गराए ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरुले माक्र्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको टिप्पणी गरे ।
नेता बनेर जनताको सेवा गर्ने होइन सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको छ भन्दै लोहनीले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरे ।
जनआन्दोलनले माग नै नगरेको धर्मनिरपेक्षता लादेर अन्याय गरिएको भन्दै ८१ प्रतिशतभन्दा बढी हिन्दु र ९२ प्रतिशत ओमकार समुदाय भएको नेपालमा सनातन हिन्दु राष्ट्रको विकल्प नभएको अध्यक्ष लोहनीले दावी गरे ।
लोहनीले राप्रपा (संयुक्त) बेलायत, नर्वे जस्तो संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रमा अडिग रहेको बताए ।
सो क्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा (संयुक्त) मा प्रवेश गर्ने ४३ जना नवप्रवेशीलाई अध्यक्षद्वयले स्वागत गरेका थिए ।