बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैङ्कका सीईओ किरणकुमार श्रेष्ठको जीवन : राजनीति छाडेर जागिर रोज्नु ठूलो भूल थियो

शनिबार, २१ भदौ २०७६, १० : १५
शनिबार, २१ भदौ २०७६

किरणकुमार श्रेष्ठ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । २०४३ सालदेखि नेपाल बैङ्कको बिर्तामोड शाखाबाट एसिस्टेन्ट म्यानेजरका रूपमा बैङ्किङ सेवा सुरु गरेका उनी राष्ट्रिय वाणिज्य बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)सम्म बन्न सफल भएका छन् । नेपाल बैङ्कमा कार्यरत हुँदा उनी नेपाल इन्स्योरेन्स, आरएमडीसी, कर्जा सुरक्षण निगम तथा कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा पनि थिए । २०५१ मा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैङ्कमा डेढ वर्ष सीईओको जिम्मेवारीसमेत निर्वाह गरेका श्रेष्ठसँग रातोपाटीको मेरो जीवन स्तम्भमा हामीले उनको जीवन खोतल्ने प्रयास गरेका छौँ ।

खाना पकाउन जान्दिनँ
नेपाली खाना दालभात तरकारी मननपराउने सायदै होलान् । उनको पनि मनपर्ने खाना यही नै हो । मननपर्ने खानेकुरा खासै नभएको बताउने उनी भेजभन्दा पनि नन् भेज रुचाउँछन् । परिवारसँग समय समयमा रेस्टुरेन्ट जाने उनको रेस्टुरेन्टको मनपर्ने खानेकुरा मम हो ।


पकाउनतिर उनको मन छैन । त्यसैले पनि उनी अहिले पकाउन जान्दैनन् । विद्यार्थी जीवनमा भने उनी आफै पकाएर खान्थे ।

सटपाइन्ट मनपर्ने पोसाक
चिटिक्क मिल्ने सटपाइन्ट र कोट नै उनको मनपर्ने पोसाक हो । फर्मल कार्यक्रम जानुपर्दा उनी यो पहिरनमा टाई पनि थप्छन् । ह्वाइट सट, कालो र निलो पाइन्ट उनको मनपर्ने पहिरनको रङ्ग हो ।
पोसाकमा रेडिमेड नै रोज्ने उनी ब्रान्डेडभन्दा पनि मन परेको पोसाक किन्ने गर्छन् । उनको वार्षिक पहिरन खर्च ३० हजार हो । कहिलेकाहीँ भने योभन्दा पनि बढी खर्च गर्ने गरेका छन् ।

फिटनेसका लागि सजक
फिटनेसका लागि उनी सजक छन् । त्यसैले बिहान नियमित मर्निङवाक गर्न अल्छी गर्दैनन् उनी । त्यसपछि रामदेवको योगाका केही स्टेप गर्छन् । विगत १० वर्षदेखिको उनको यो रुटिङ अहिले पनि नियमित चल्दैछ ।

अध्यायन रुचिमा विषय
अध्ययन उनको रुचिमा विषय हो । त्यसैले हरेक एक्सरसाइजपछिको बिहान र साँझ उनी नियमित अध्यायन गर्ने गर्छन् । समसामूहिक विषयमा निस्किएका (राजनीतिक, आर्थिक होस् वा अन्य) पुस्तक पढ्न उनी रुचाउँछन् । जीवनी र उपन्यास पनि उनले पढ्ने गरेका छन् । 
बजारमा आएका आत्मकथा र उपन्यास प्रायः आफूले पढिसकेको बताउने उनी अहिले प्रदीप भन्ने लेखकले हालसालै बजारमा ल्याएको उद्यमशीलतासम्बन्धी पुस्तक ‘म के गर्न सक्छु’ भन्ने पढ्दैछन् । 

घुमघाम धेरै
घुमघाम धेरै गर्ने मानिसमध्येका एक उनी पनि हुन् । घुमघाममा रुचि रहेको उनी बताउँछन् । काठमाडौँ बस्छन् उनी । तर शुक्रबार र शनिबार उनको धेरैजसो काठमाडौँ बाहिर बित्ने गरेको छ ।
परिवारसँग बेलाबेलामा घुम्न निस्किने उनी अफिसियल कामले देशको तपाईं, हिमाल र पहाड सबै ठाउँमा पुगेका छन् ।
देशको ५८ जिल्ला पुगिसकेका उनी विदेशका भने १६ राष्ट्र टेकेका छन् ।

अहिले उनलाई भियतनाम घुम्ने इच्छा छ । ‘लामो युद्ध चलेको देशमध्ये भियितनाम पनि एक हो । तर अहिले त्यो देशको आर्थिक उन्नति दु्रत गतिमा भइरहेको छ । भियतना घुम्न मन लाग्नुको कारण उनले खोले ‘त्यो देश घुमेर केही सिक्न र देशका लागि केही गर्न मन छ ।’ उनले थपे ‘भियतनामको अहिले बैङ्किङ लगायत सबै क्षेत्रको परिवर्तनको गाथा जताततै पढ्न र सुन्न पनि पाइन्छ ।’

फुर्सद हुँदैन
फुर्सद कम हुने व्यक्ति हुन् उनी । फुर्सद भयो भने उनले गर्ने काम अध्ययन र घुमघाम हो । 

खेलकुदमा सामान्य रुचि
खेलकुदतिर उनलाई सामान्य रुचि छ रे । खेल हेर्न र खेल्न दुवै मनपराउँछन् उनी । युवा अवस्थामा उनी बक्सिङ खेल्थे । एकसमय उपत्यकाव्यापी इन्टरक्याम्पस बक्सिङ प्रतियोगितामा आयोजना भएको थियो । उक्त प्रतियोगितामा आफूले दोस्रो स्थान हासिल गरेको उनले बताए । 
अहिले खेल्नभन्दा पनि हेर्न रुचि छ उनको । क्रिकेट, फुटबल र भलिबल उनले अहिले हेर्ने खेल हुन् ।

एउटा मात्र मोबाइल
धेरै मोबाइल बोक्दैनन् उनी । अहिले उनीसँग सामसुम ब्रान्डको एउटा मोबाइल छ । फोन गर्न, इमेल, फेसबुक, भाइबर, म्यासेन्जर चलाउन मोबाइल प्रयोग गर्छन् । इन्स्टाग्राम भर्खर भने उनले चलाउन थालेका छन् ।
मोबाइलका नयाँ भर्सन भित्रियो भने फेरिहाल्ने खालको सोख छ उनको । अहिलेसम्म मोबाइल नहराएको बताउने उनले भाइहरु विदेश भएकाले मोबाइल गिफ्टसमेत पाउने गरेका छन् ।

टिभी नियमित हेर्छु
उनी नियमित बेलुका टीभी हेर्ने गर्छन् । त्यो पनि ८ बजेपछि । उनले टीभीमा बढी हेर्न भनेको समाचार, अन्तरवार्ता र बहस जस्ता कार्यक्रम हुन् । उनी नेपालीको अलवा विदेशी समाचार पनि हेर्न रुचाउँछन् ।
उनलाई टीभीमा लोकगीतहरु र लोकसंस्कृतिले भरिएको कार्यक्रम हेर्न मनपर्छ । उनको घरमा अहिले सामसुङ ब्रान्डको २८ इन्चको टीभी छ । त्यो फेरेको जम्मा तीन वर्ष जति भयो । योभन्दा अगाडि उनले एलजीको टीभी किनेका थिए । त्यो एक सातामै घरबाटै हराएको उनले सुनाए ।

कहिलेकाहीँ चलचित्र
कहिलेकाहीँ चलचित्र पनि हेर्ने गरेका छन् उनले । पछिल्लो समय उनले हेरेको चलचित्र ‘छक्का पन्जा २’ हो । यो चलचित्र उनले सपरिवार सहित हलमा गएर हेरेका थिए ।
फिल्म हलमै गएर हेर्न मन पराउँछन् उनी । टीभीमा आएको पनि हेर्ने गरेको सुनाए । सामाजिक कथा, परिवर्तनका कथा बोकेका फिल्ममा उनको रुचि रहने गरेको छ । उनी नेपाली र हिन्दी दुवै खालका फिल्म हेर्छन् । चर्चा भएका र चर्चा गरिएको फिल्म कुनै पनि उनले छुटाएको छैनन् । चाहे त्यो हिन्दी होस् वा नेपाली ।

हाई प्रेसरका रोगी 
अहिले रोग नभएका मानिस पाउनै मुस्किल छ । उनी पनि हाई प्रेसरका रोगी हुन् । यो रोग उनका देखिएको १५ वर्षभन्दा बढी भयो । यसले ठूलो क्षति नगरोस् भनेर उनी नियमित औषधि सेवन गरिरहेका छन् । अन्य रोग आफूलाई केही नभएकोमा उनी खुसी प्रकट गर्छन् ।

चाप्लुसी मन पर्दैन
सङ्खुवासभाको पहाडमा जन्मी हुर्केको मानिस उनी । त्यसैले उनलाई बोलीचालीमा ठेट नेपाली भाषा मनपर्छ ।
प्रष्ट बोल्न स्वभावका उनी अरूबाट पनि त्यस्तै आस गर्छन् । आफू चाप्लुसी गरेर बोल्न नजान्ने भएकाले अरूले पनि चाम्प्लुसी गरेको मन पराउँदैन् ।   

मापसे छुन्न
अचेल मापसे नगर्ने मानिस पाउन गाह्रो छ । तीमध्येका एक हुन् उनी । उनले कहिल्यै मापसे नगरेको भने होइन । पहिले पहिले हल्का लिन्थे । विगत ४ वर्षयता उनले मापसेमा हात लगाएको पनि छैनन् । मापसेका कारण रोग लागेर त्यसो गरेको भने होइन । ‘आफ्नो इच्छाले खान मन लागेन अनि छोडे’ उनले अर्काे कारण खोले ‘राष्ट्रिय वाणिज्य बैङ्कमा आए पनि मेरो काँधमा ठूलो जिम्मेवारी पर्यो । जिम्मेवारी बहन गर्नेलाई मापसेले ठीक गर्दैन भन्ने लागेर छोडेको हो ।’
अर्काे कुरा उमेर बढ्दै गएको कारणले पनि छोड्नुपर्छ भन्ने लागेर छोडेको कुराकानीका क्रममा उनले भने ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत कसलाई पो मन पर्दैन र ? उनलाई पनि गीत सङ्गीत सुन्न धेरै मनपर्छ । उनी बढी सेन्टिमेन्टल खालको गीत सुन्न रुचाउँछन् । 
नयाँ, पुराना, हिन्दी सबै खालका गीत सुन्ने उनी पुराना हिन्दी गीत भने बढी सुन्ने गरेका छन् । सन् १९७०, १९८० का हिन्दी गीत आफ्नो बेलाको जस्तो लाग्छ उनलाई । त्यसैले पनि उनले यस्ता गीत बढी सुन्ने गरेको बताउँछन् ।

मेरो पेसा 
२०४३ सालबाट बैङ्किङ पेसामा आबद्ध भएका थिए । त्यो पनि नेपाल बैङ्कको बिर्तामोड शाखाबाट । उक्त समय उनको पोस्ट एसिस्टेन्ड म्यानेजरको थियो ।

त्यही जागिरमा उनले विभिन्न प्रमोसन खाँदै उक्त शाखाको महाप्रवन्धक समेत बन्न सफल भए ।

सर्भिस समय सकिएपछि उनी त्यहीँबाट रिटायर भए । रिटायरपछि एकवर्ष घरमा बसे ।

त्यसपछि उनलाई राष्ट्रिय वाणिज्य बैङ्कको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने मौका मिल्यो । करिब तीन वर्षदेखि उनले यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।
हरेक पेसामा सुख, दुःख हुने गरेका छन् । उनले आफ्नो पेसामा सुख, दुख महसुस गरेका छन् । ‘ग्राहकहरुको अपेक्षा धेरै हुन्छ, चाहना अनेक हुन्छन् । सरकारी बैङ्कको विभिन्न कठिनाइ अवरोध लगायतका कारणले त्यो पूरा गर्न नसक्दा मनमा खिन्नता पैदा हुँदो रहेछ’ उनले दुःख सुनए ।

‘धेरै मानिसले भेटमा तपाईंहरुको सहयोगले म यस्तो भएँ । मेरो यो समस्य टर्यो लगायत भन्ने गर्दछन्’ उनले सुख सुनाए ‘म ५ वर्ष अगाडि यस्तो थिएँ । तपाईंहरुको सहयोगले यो उन्नति भयो । म अहिले जे छु तपाईंहरुको कारणले हो भन्छन् ।’

‘गाउँमा बैङ्क लिएर जाँदा गाउँको मानिसले बैङ्क आएपछि यस्तो भयो उस्तो भयो भन्दा खुसी लाग्छ’ उनले थपे ‘उनीहरुले दिएको सम्मान र इज्जतले मनै आनन्दित हुन्छ ।’ 

एरेन्ज म्यारिज गरे
विसं २०४१ मा एरेन्ज म्यारिज गरेका हुन् उनले । चिनजानै नभएको व्यक्तिसँग उनले विवाह गरेको भने होइन । एकअर्काेलाई मनपरेपछि परिवारलाई अगाडि सारेर विवाह गरेका हुन् । 

चिनजान हुनुको पनि एउटा कथा छ । उनी एक समय साथीको घर गएका थिए । उनकी श्रीमती साथीको आफन्त । ‘साथीकै माध्यमले चिनजान भयो ।

व्यवहार पनि मन पर्यो’ उनले भने ‘विवाहको प्रस्ताव मैले राखे, उनले पनि मन्जुरी दिइन् । परिवारको मध्यमले विवाहको टुङ्गो लाग्यो ।’  

राजनीतिमा नलाग्नु भूल भयो 
भूल मानिसको जीवनको महत्त्वपूर्ण पाटो हो । जीवनमा जानी नजानी भूल त धेरै हुने गर्छन् । भूल नगर्ने मानिस पनि को होला र । उनी मानिसले भूलबाट सिक्ने बताउँछन् ।

विद्यार्थीकालदेखि उनलाई राजनीतिमा एकदमै इन्ट्रेस्ट थियो । पञ्चायत व्यवस्था छँदा उनी स्वतन्त्र युनियनको सभापति भएका थिए । बहुदल आएपछि पनि उनलाई राजनीतिमा रुचि थियो । धेरैले उनलाई राजनीतिमै होमिन सुझाएका पनि थिए । तर उनी राजनीतिभन्दा जागिरतिर लागे ।

अहिले भने उनलाई राजनीतिमा छोडेर भूल गरेको छु भन्ने लाग्छ रे ।

‘राजनीतिमा म छिरेको भए अहिलेको भन्दा धेरै प्रगति गर्थें होला’ उनले भने ‘राजनीतिमा नलागेर जागिर रोज्नु भेरो भूल भयो ।’ मलाई राजनीति नरोजेकामा अहिले पनि थकथक लाग्छ । राजनीतिमा लागेको भए अहिले भन्दा आफ्नो प्रगति चौगुना हुने उनको अनुमान छ ।

सपना छन् 
हरेक मानिसका आआफ्नै सपना हुन्छन् । उनको भने सबैले चिनोस् भन्ने सानैदेखिको थियो । अहिले पनि त्यो यथावत छ ।

त्यसो त उनी अहिले नचिनिएका भने होइनन् । अहिले जति चिनिएका छन् त्योभन्दा पनि बढी लोकप्रिय हुने उनको चाहना छ । 

‘बैङ्किङ क्षेत्रका कारणले जति चिनिएकी छु । भोलि यो क्षेत्र छोडेपछि पनि हराउनु हुँदैन भन्ने लाग्छ’ उनले आफ्नो सोच सुनाए ‘मानिसले चिन्ने, सधैँ सम्झने भनेको सामाजिक कामबाट हो । बैङ्क छोडेपछि सामाजिक काममा लाग्छु ।’

मेरो राशि तुला
उनको राशि तुला हो । राशिमा उनी धेरै विश्वास पनि गर्दैनन् । अन्धविश्वासी पनि होइन । कहिले काहीँ जन्मदिन पर्यो भने मन्दिर गएर पूजा, पाठ गर्ने गर्छन् उनी । बुबाआमाको श्राद्धदेखि पूजापाठ उनको मन लाग्छ । कहिलेकाहीँ एकादशीमा व्रतसमेत बस्छन् । कहिलेकाहीँ ग्रहदशासमेत हेराउने गरेका उनी हेराउनु जानकारीका लागि मात्र भएको हो भन्छन् ।

मृत्यु सत्य हो
मृत्युलाई स्वाभाविक प्रक्रिया हो भन्ने उनको बुझाइ छ । ‘जन्म लिएपछि एक दिन मर्नुपर्छ’ उनले रेडिमेड भनाइ राखे । तर मृत्युसित डराउँदैन् उनी । यसलाई जतिसक्दो धकेल्नुपर्ने उनको धारणा छ ।
मृत्यु टार्नुपर्छ भन्ने उनी त्यसका लागि मेडिकल औषधि प्रयोग गर्नदेखि परिवेश र बनीबेहोरा सुधार्नसमेत तयार छन् उनी । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप