बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रयान–२ असफल भएपछि मोदीको सम्बोधन, ‘परिणाम जे भए पनि यात्रा असाधारण रह्यो’

शनिबार, २१ भदौ २०७६, ०९ : ३०
शनिबार, २१ भदौ २०७६

भारतले चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको ‘विक्रम ल्याण्डर’लाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार विहान इसरो पुगेर वैज्ञानिकहरुसँग भेटघाट गरेका थिए । 

उनले देशको नाममा सम्बोधन गर्दै आफ्नो अन्तरिक्ष वैज्ञानिकलाई चन्द्रयान–२ अन्तिम समयमा सम्पर्कविहिन भएको र त्यसमार्फत पूर्वनिर्धारित लक्ष हासिल नभएकोमा चिन्तित नहुन आग्रह गरेका छन् । 

उनले भने ‘हामीले हिँडेको यात्रा अन्तिम समयमा रोकिएको भए पनि उदेश्यबाट विचलित भएको छैनौं । हामीले चन्द्रमाको सतहमा योजनाअनुरुप टेक्न सकेनौं । यदि कुनै साहित्यकारले यसबारे लेख्थ्यो भने भन्थे होलान्, चन्द्रयान चन्द्रमालाई अंगालो हाल्न हतारियो तर यसले चन्द्रमालाई आलिंगनमा लिन नसकेपनि इच्छाशक्ति भने थप मजबुत बनाएको छ ।’


सम्पूर्ण सम्बोधन अवधिभर मोदीले वैज्ञानिक समुदायलाई उनीहरुले गरेको प्रयास नै महत्वपूर्ण भएको बताए ।

उनले भने, ‘मुख्य कुरा यात्रा र प्रयास हो । चन्द्रयान–२ को यात्रा असाधारण रह्यो । यो अभियान अवधिभर देशवासीलाई गर्व महसुस भइरह्यो ,’ मोदीले सम्बोधनका क्रममा भने , ‘विज्ञानमा असफलता भन्ने नै हुँदैन । प्रयोग र प्रयास मात्र हुन्छ । हरेक प्रयोग र प्रयासले ज्ञानको नयाँ विउ रोप्नेछ  । यसले हामीलाई असिम क्षमताको ज्ञान दिएर जान्छ । ’
सम्बोधनमा मोदीले भारतको अन्तरिक्ष कार्यक्रमको संचालन गर्ने इसरोका विगतका सफलताको पनि स्मरण गरे । 

‘तपाई नै हो जसको पहिलो प्रयासमै मंगलग्रहमा झण्डा फहराए । यस्तो संसारमा पहिलो पटक भएको थियो । चन्द्रयान–१ ले चन्द्रमामा पानी भएको पत्ता लगाएर महत्वपूर्ण उपलब्धी हासिल गरेको थियो । त्यस्तै तपाईहरुले नै सयभन्दा बढी भूउपग्रह एकै पटक पठाएर नयाँ रेकर्ड बनाउनु भएको थियो ।’

उनले यो असफलताले थप अगाडि बढ्ने दृढता बढाएको उल्लेख गरे ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप