केन्द्रीय संस्करण

यसरी भत्कियो बन्दै गरेको ग्रीनहिल सिटिको अपार्टमेन्ट (भिडियोसहित)

person explore access_timeभदौ २०, २०७६ chat_bubble_outline1

काठमाडौं– बुधबार काठमाडौंको उत्तर–पूर्वी क्षेत्र मुलपानीमा बन्दै गरेको एक घर पूर्वरुपमा भत्कियो । भत्किएको उक्त घर सामान्य घर नभएर बृहत टाउन प्लानिङ्क ग्रीनहिल सिटी कोलोनी भित्रको घर हो ।

ग्रिनहिल सिटी कोलोनीभित्र झण्डै ५ सयको हारहारीमा यस्ता अपार्टमेन्ट घरहरु निर्माण गरिएका छन् । कूल ८ सय अपार्टमेन्ट बनाउने गरि प्लानिङ्क गरिएको यस कोलोनीभित्र अहिले पनि दर्जनौ घरहरु निर्माणधीन छन् । तर बुधबारको उक्त घटनाले भने कोलोनीभित्र त्रास बढाएको छ । सोही कोलोनी भित्रका अन्य घर तथा अपार्टमेन्टहरु मात्र होइन नजिक वरिपरिका बस्तीमा समेत डर पैदा गराएको छ । 

कसरी भत्किन पुग्यो कोलोनी भित्रको घर ? यस्तो रहेछ कारण

बुधबार राती आएको अविरल वर्षाका कारण कोलोनीको माथिल्लो भागमा (भित्ता पट्टिको क्षेत्र) मा निर्माणाधीन एक घर भत्कियो । तीन÷साढे तीन तलामा निर्माण गरिँदै गरेको उक्त घर निर्माण कार्य पुरा हुँदा नहुँदै कसरी भत्किन पुग्यो त ? यसले थप प्रश्न उठाएको छ । भत्किएको सो घर पछाडी घरभन्दा पनि अग्लो भण्डै १०–१२ मिटर अग्लो भिर छ । र सोही भिरमा जोडेर घर बनाइएको देखिन्छ । घर र भित्ताको बीचमा सामान्य पर्खाल लगाइएको तर सोही पर्खाल पनि घरमै टाँसेर लगाइएकाले उक्त अप्रिय घटना घट्न पुगेको स्थलगत दृष्यले देखाउँछ । घर सोही वालसहित बगेर तल झरेको छ । घरको पहिलो तला अर्थात् घरको झण्डै ३० प्रतिशत भाग जमिनमा भाँसिएको छ ।

भिरालो जमिन त्यसमाथि माटोले पुरेर तयार पारिएको घडेरी र भित्तामानै टाँसेर घर निर्माण गरिनुनै दुर्घटनाको मुख्य कारक तत्व हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बिहिबार घटना स्थल पुगेका पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका भूगर्भ शास्त्रका विद्यार्थी, नेपाल जीओटेक्निकल सोसाइटीका विज्ञहरु र सिभिल इन्जिनियरहरुको टोलीले यस्तो निश्कर्ष निकालेका हुन् । 

किन अपनाइएन सावधानी ?
सम्भावित जोखिमलाई ध्यान नदिँदा भत्किएको घर मात्र होइन, कोलोनी भित्रका अन्य यस्ता दर्जनौं घरहरु समेत अहिले उच्च जोखिममा परेका छन् । भत्किएको घर सँगसँगै टाँसिएका र भित्तामानै आड लगाएर बनाइएका घरहरु यसरी नै भत्किने जोखिम देखिएको छ । पानीको निकास जाने गरी भित्ताको स्पेस नछाडि भित्तामानै जोडेर बनाइनुनै निर्माण पक्षको ठूलो गल्ती रहेको देखिन्छ । 

पछाडिको भित्ताको स्पेस नछोडी भवन बनाउनुनै घटना घट्नुको मुख्य दोष देखिएको जीओटेक्निकल सोसाइटीका अध्यक्ष नेत्र प्रकाश भण्डारी बताउँछन् । ‘भत्किएको वा बगेको विल्डिङ्गको पछाडीको डिस्को विल्डिङ्ग भन्दा पनि अग्लो झण्डै १०–१२ मिटरको छ । त्यसमा वाल लगाएर त्यसैमा विल्डिङ्ग जोडेर बनाइएको पाइयो ।

त्यसमाथि वालमा माथिबाट माटो भर्दै लगिएकोले वालमा पेसर(चाप) बढ्दै जाँदा पानी भित्र छि¥यो र गलेर बगेको देखिन्छ । प्रारम्भिक अध्ययनमा हामीले विल्डिङ्गको फाउण्डर फेलिङ्ग(जग) कमजोर हो की भन्ने लागेको थियो । तर घटनाको प्रकृति हेर्दा त्यस्तो देखिएन ।’ भण्डारीले भने, ‘यो पनि प्रारम्भिक अनुमान मात्र हो । कारण के हो पछि अनुसन्धानबाट खुल्ला । अहिलेलाई पछाडिको ढिस्को, ढिस्कोसँगै जोडीको वाल र वालमै टासेर घर बनाइनुनै घटनाको प्रमुख कारण देखिन्छ ।’

भण्डारीले भनेजस्तै कमी कमजोरी हो भने, आखिर किन गरियो त यस्तो गल्ति ? यति ठूलो घर अनि बृहत कोलोनीको प्लानिङ्ग डिजाइनमा किन गरियो त लपरवाही ? धन्न घर प्रयोगमा आइसकेको थिएन । नत्र त जनको समेत ठूलो क्षति व्यहोर्नुपर्ने थियो । 

जीओटेक्निकल इन्जिनियरिङ्ग सोसाइटीका सदस्य उदयराज न्यौपाने प्रकृतिसँग मिलेर काम नगर्दा यस्तो समस्या आउने गरेको बताउँछन् । ‘भिरालो जमिनमा संरचना बनाइँदै छ भने त्यसमा प्रयाप्त सावधानीहरु अपनाउनुपर्ने हुन्छ । माटोको परीक्षणदेखि पछाडीको भाग, रिटेनिङ्ग वाल, पानीको निकासी लगाएतका धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । सानो त्रुटीले पनि पछि ठूलो समस्या आउनसक्छ ।

यो घटनामा पनि त्यस्तै भएको देखिन्छ । स्लोपमा घर बनाइएको छ, जसमा पछाडीको भाग नै घरभन्दा अग्लो छ । त्यसमा स्पेस छाडेर बनाइएको पाइएन । फेरि यहाँको माटो बलौटे (स्यान्डी) माटो देखिन्छ । जुन पानीमा बग्ने समस्या हुन्छ ।’ न्यौपानेले भने, ‘यस्त समस्या यहाँ मात्र होइन अन्य ठाउँहरुमा पनि नआएका होइनन् । तर यस्तो घटना प्रकृतिसँग नमिली काम गर्दा आउने गर्छन् ।

घर बनाउँदै छौं भने डिजाइन नक्सा र घर बनाउँदा लाग्ने कच्चा पदार्थ परीक्षण र सावधानी अपनाइए जस्तै माटो परीक्षण पनि पहिलो र अत्यन्त महत्वपूर्ण पाटो मानिन्छ । तर यति ठूलो कोलोनीमा त्यसो नगरिएको त होइन होला । समस्या एउटामा आएको हो । अन्यमा त्यस्तो देखिँदैन ।’

भौतिक निर्माणमा चरम लापरवाही भएको स्थानीय कोलोनीबासी मनहरि ढकाल बताउँछन् । ५१ नम्बर ब्लक घर बताउने ढकालले कोलोनीको भित्ता साइडको घरहरु बनाउँदा भित्ताको स्पेस नछाडी घरहरु बनाएको र पानीको निकास समेत नकाटिएकाले घर भत्किएको आरोप लगाउँछन् । बाँकी घर बनाउने ठेकेदारको समेत बदमासी रहेको उनको दाबी छ । 

नेपालमा भौतिक संरचना निर्माण गर्दा भू अथवा माटो परीक्षणको प्रयोग त्यति नहुने गरेको साइरो कन्स्ट्रक्सनका सिईओ सन्जय पाण्डे बताउँछन् । भौतिक निर्माणमा जिओ टेस्ट अनिवार्य गरिनुपर्ने उनको भनाई छ । 
‘नेपाली परिवेशमा माटो परीक्षण गरेर भौतिक संरचना बनाउने चलन कमै छ । बरु नक्सा डिजाइन र मेटेरियल्समा ध्यान दिइन्छ तर माटो परीक्षणलाई ध्याननै दिइँदैन ।

जुन हुनु अत्यन्त जरुरी छ । हामीले यहाँको कमजोरी पनि त्यहि देख्यौं ।’ पाण्डे भन्छन्, ‘नेपाल सरकार र सरकारी संयन्त्रहरुले समेत भौतिक निर्माण कार्यमा अनिवार्य माटो परीक्षणलाई प्राथमिकता दिएका छैनन् । अहिलेसम्म माटो परीक्षण विनै भौतिक संरचनाहरु बन्दै आएका छन् ।

पछिल्लो समय भने, ‘महानगरपालिकाले स्वाइल(माटो) परीक्षणलाई प्राथमिकतामा राख्दै नीति बनाएको छ । तर कार्यान्वयन पक्ष भने अत्यन्त फितलो देखिन्छ । बाँकी स्थानीय तहहरु नगरपालिका र गाउँपालिकाहरुले त अझ सम्म यसलाई कार्यान्वयनमा ल्याएकै छैनन् ।’

ग्रीनहिल सिटी कोलोनी बसेको स्थान पहिला बालुवा खानी रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । डाँडो होचो रहेको ठूलो एरियालाई पछि खारेर, माटो भरेर र सम्याएर प्लटिङ्ग गरिएको बुझिएको छ । सो क्षेत्रमा ग्रीनहिल सिटी कोलोनी बसेको करिब १० वर्ष वितिसकेको छ ।  

भिडियो:

 


 

कमेन्ट

  1. Sept. 6, 2019, 8:11 p.m. Pramod ghimire
    Grossly neglected basic norms. The company should be black listed.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...