मानव तस्करीको जालो : एक युवतीलाई बेचेवापत ६ लाखसम्म कमाउँछन् दलालले
झापाकी ४२ वर्षीया (परिवर्तित नाम) अञ्जना गुरुङ । २२ वर्षकी छोरी र १८ वर्षका छोराको आमासमेत हुन् उनी । श्रीमान्सँगै काठमाडौँमा मजदुरी गरेर बस्थिन् उनी । एअरपोर्ट क्षेत्रमा सुरुमा नाङ्लोमा सामान्य व्यापार गरिन् । नाङ्लोको व्यापार केही फस्टाएपछि उनले ठेला किनेर व्यापार व्यवसाय गर्न थालिन् । ठेलाको व्यापारबाट थप केही आम्दानी भएपछि उनले एअरपोर्ट नजिकै एउटा खाजापसल भाडामा लिएर सञ्चालन गर्न थालिन् । व्यापार सामान्य नै थियो र कमाइ बाँच्न पुग्ने नै थियो ।
छोरीले मामाघर अर्थात् झापामै बसेर स्नातकसम्मको अध्ययन सकाएकी थिइन् । छोरा पनि उसको मामाघर अर्थात् अञ्जनाको माइतीमै बसेर कक्षा ८ मा पढिरहेको थियो । अञ्जना भने श्रीमान्सँगै काठमाडौँमा बसिरहेकी थिइन् ।
दैनिकी सामान्य नै तरिकाले चलिरहेको थियो ।
काठमाडौँमै खाजा पसल सञ्चालन गरिरहेको बेला एउउटा राम्रो अफर अञ्जनासामु आइपुग्छ । श्रीमान–श्रीमती नै कुवेत जाने र मासिक करिब १ लाख ५० हजार पैसा कमाउने ।
आकर्षक प्रस्ताव आइसकेपछि को आकर्षित हुँदैन र ? अझ आश्वासन दिनेले पनि ‘कति अरुको झुठो भाँडा मात्रै माझ्छौँ, कुवेत गए महिनाको डेढ लाखसम्म कमाउन सक्छौ भनेपछि अञ्जनाले कुवेत जाने इच्छा देखाइन् ।
त्यसपछि सुरु भयो अञ्जनाको कुवेत कथा ।
खासमा त्यस्तो आकर्षक प्रस्ताव गर्ने व्यक्ति थिइन्, कुवेतमै बसेर मानव तस्करीमा संलग्न अञ्जनाकै भाइको जेठीसासु पनिता मोहरा । करिब ३८ वर्षकी पनिताले खाजा पसलमै आएर शुन्य लागतमै कुवेत जान सकिने र त्यहाँ मासिक डेढ लाख रुपैयाँसम्म कमाउन सकिने प्रलोभन देखाएपछि उनीहरु विश्वास गर्न बाध्य भए । अझ पनिताले आफूले कुवेतमै बसेर काम गरिरहेको र सेवा, सुविधा तथा सुरक्षा पनि राम्रो भएको बताएपछि अञ्जना विश्वास गर्न बाध्य भइन् ।
अरोपित पनिता मोहरा
यता, अञ्जनालाई आश्वस्त गरेर पनिता कुवेत पुगिन् र कुवेतबाट इमोमार्फत् कुराकानी गर्न थालिन् । २०७५ कात्र्तिकमा पनितासँग भेट गरेकी अञ्जना पनि कुवेत जाने र मासिक डेढ लाख रुपैयाँसम्म कमाउने सपना बुन्न थालिन् ।
कुवेतमै रहेकी पनिताले अञ्जनाको श्रीमान र श्रीमती दुवैजनाको पासपोर्ट बनाउन लगाइन् र पासपोर्ट बनाएको खर्च पनि दिल्ली पुगेपछि दिने भनिन् । अञ्जना र उनका श्रीमान् झापा पुगेर पासपोर्ट बनाए ।
अनि कुवेत जाने दिन कुरेर बस्न थाले ।
यहीबीचमा पनिताले रुपन्देही जिल्ला बुटवल घर बताउने शिव पराजुलीसँग अञ्जनाको चिनजान गराइन् । नेपालबाट कुवेत आउने व्यवस्था मिलाउने व्यक्ति तिनै शिव भएको भन्दै शिवले भने बमोजिम गर्न पनिताले अह्राइन् ।
अन्ततः पुसको अन्तिम साता शिव पराजुलीको फोन आयो । आफू नयाँ दिल्लीबाट बुटवल आएकाले गाडीमा हालेर दुवैजनाको पासपोर्ट पठाइदिन उनले अञ्जनालाई फोन गरे ।
आरोपित शिव पराजुली
अञ्जनाले पनि शिवले भने झैँ बुटवल जाने गाडीमा दुवैजनाको पासपोर्ट हालेर पठाइदिइन् ।
पासपोर्ट पठाएको ४ महिनापछि वैशाखको अन्तिममा अञ्जनालाई फेरि पनिताको फोन आयो । ‘तपाईँको सबै प्रक्रिया पूरा भयो । तपाईँ जेठको ५ गतेभित्र दिल्ली पुग्नुस् । तपाईंको श्रीमान्को भने अहिले नै मिलेन र केही समयपछि उहाँको पनि मिल्छ ।’
काठमाडौँमा रहेकी अञ्जना एकाएक झापा पुगिन् । अनि जेठको २ गते जोगबनी नाका हुँदै रेल चढेर दिल्लीतर्फ लागिन् ।
नयाँ दिल्लीमा अञ्जनालाई लिन तिनै शिव पराजुली र कमल ढकाल नाम गरेका व्यक्ति आइपुगे । अनि अञ्जनालाई नयाँ दिल्लीको मोर्या आसाम होटलमा लगियो ।
आरोपित कमल ढकाल
दिल्लीको दुःख
चाँडै नै कुवेत उड्ने र मासिक एक लाख ५० हजारसम्म कमाउने सपना बोकेर दिल्ली पुगेकी अञ्जनाको अब दुःखको दिन सुरु भयो । जेठको ६ वा ७ गते उड्ने भनेपनि न उनको भिसा लाग्यो न त उनी कुवेत उड्न नै पाइन् । बरु उनलाई होटलको कोठाबाट बाहिर निस्कनसमेत नपाउने गरी बन्धक बनाइयो ।
अञ्जनालाई न त नेपालमा परिवारसँग कुराकानी गर्न दिइयो न त होटलबाट बाहिर निस्कन नै । यतिसम्म कि अञ्जनालाई राम्रोसँग पानीसमेत खान दिइएन । उक्त होटलमा उनलाई मात्रै एक छाक खान दिएर बन्धक बनाएर राखियो । उनले शिव पराजुली र कमल ढकाललाई आफूलाई नेपालमै फिर्ता पठाइदिन कैयौँपटक आग्रहसमेत गरिन् । तर उनीहरुले आफ्नो साढे २ लाख रुपैयाँ खर्च भइसकेको भन्दै त्यो पैसा दिएर मात्रै नेपाल जान पाउने भन्दै धम्कीदिन थाले ।
कैयोँ दिन आफू भोकै बस्नुपरेकोसमेत अञ्जनाले प्रहरीसामु बयान दिएकी छिन् ।
पानी खान नदिएर ट्वाइलेटको पानी खाएँ : पीडित अञ्जना
अञ्जनाको दुःखको कहानी यतिसम्म भयो कि उनले तिर्खा लागेको बेलामा पानीसमेत खान पाइनन् । कैयौँपटक ट्वाइलेटको पानी खाएर तिर्खा मेटेको उनले उद्धारकर्मी र प्रहरीसामु दिएको बयानमा उल्लेख छ ।
विदेश उड्न पनि नपाइने र नयाँ दिल्लीमा नारकीय बन्धक जीवन बिताउनु परेपछि उनी जसरी पनि त्यो नरकबाट बाहिर निस्कनुपर्छ भन्दै उपायको खोजी गर्नतिर लागिन् ।
जुन होटलमा उनलाई बन्धक बनाइएको थियो, त्यही होटलमा काम गर्ने एकजना कामदारको मोबाइलबाट झापामा रहेका आफ्ना श्रीमान्लाई सबै कुरा बताइन् ।
श्रीमतीको दुःखको कुरा सुनेपछि श्रीमान्ले तत्कालै झापा प्रहरी र आफन्त नेपालको झापास्थित कार्यालयमा उद्धारका लागि निवेदन दिए । त्यसलगत्तै दिल्लीमा रहेको आफन्त नेपालको उद्धार टोलीले अञ्जनालाई बन्धक बनाइएको होटलबाट उद्धार गर्यो ।
होटलबाट उद्धार गर्न पनि धेरै समस्या परेको दिल्लीस्थित आफन्त नेपालका डाइरेक्टर नवीन जोशीले रातोपाटीलाई बताए ।
दिल्लीस्थित महिला आयोग, दिल्ली पुलिस र आफन्त नेपालको टिमले उनलाई होटलको एउटा बन्द कोठाबाट उद्धार गरेको थियो ।
दलालको धम्की ‘हाम्रो खर्च तिमीहरुले तिर’
अञ्जनालाई उनकै आग्रहमा उद्धार गरिएपछि पनि अञ्जनाको परिवार र आफन्त नेपालका कर्मचारीलाई दलालहरुले धम्की दिँदै आफ्नो खर्च भएको रकम तिर्न दबाव दिन थाले । अञ्जनालाई करिब ३ महिना दिल्लीमा पाल्दा र कुवेत जाने प्रक्रिया थाल्दा २ लाख ५० हजार रुपैयाँ खर्च भएको भन्दै उक्त रकम तिर्न धम्की दिन थाले । कुवेतमा रहेकी भाइकी जेठीसासु पनिताले समेत धम्की दिँदै नराम्रो हुने चेतावानी दिइन् ।
उद्धारपछि आफन्त नेपालले अञ्जनालाई श्रीमान्को जिम्मा लगायो । यता पानी र दुई छाक खानासमेत खान नदिई बन्धक बनाउने बुटवलका शिव पराजुली तथा नेपालको ठेगाना नखुलेका कमल ढकाल तथा मोरङकी पनिता मोहराविरुद्ध जिल्ला अदालत झापामा मानव बेचविखन तथा ओसारपसारको कसुरमा मुद्दा दर्ता भएको छ । यद्यपि अभियुक्तहरु भने पक्राउ परेका छैनन् ।
एक व्यक्ति ‘विक्री’ गर्दा दलाललाई ६ लाख भारु कमिसन
यदि कुनै दलालले एकजना महिलालाई घरेलु कामदारको रुपमा कतार, कुवेत, इजरायल लगायतका देशमा पठाउन सकेमा एक दलालले उक्त घरको मालिकमार्फत् ५ देखि ६ लाख भारतीय रुपैयाँ कमिसनबापत् पाउने गरेका छन् ।
एकजना व्यक्तिलाई नै यस्तो मुलुकमा पठाउन सकिएमा राम्रै पैसा आम्दानी हुने भएपछि दिल्ली, मुम्बई, हैदरावाद, चेन्नई लगायतका स्थानमा दलालहरु बसेर यस्तो दलाली चलाइरहेका छन् ।
नेपाल सरकारले नेपालबाटै घरेलु कामदारका रुपमा यी मुलुकमा जान प्रतिबन्ध लगाएपछि दलालहरुले भारत, श्रीलङ्का, मंगोलिया, म्यानमार तथा थाइल्याण्ड लगायतका देशमा पुराएर त्यहाँबाट घरेलु कामदारका रुपमा यी मुलुकहरुमा घरेलु कामदारका रुपमा महिलाहरुलाई बिक्री गर्ने गरेका छन् ।
२०७५ सालको माघ महिनामा म्यानमारको सीमानाबाट ७० जनाभन्दा बढी महिलाहरुलाई म्यानमारतर्फ लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइ नेपाल पठाइएको थियो । यद्यपि अहिले पनि भारतका विमानस्थल प्रयोग गरी महिलाहरुलाई बाहिर पठाउन नसकिएमा म्यानमार, श्रीलङ्का, बंगलादेश, मङ्गोलिया, थाइल्याण्ड आदि देशबाट खाडी मुलुकमा पठाउने गरिएको छ ।
नेपालबाट घरेलु कामदार पठाउन सरकारले प्रतिबन्ध लगाएपछि खाडी मुलुकका रोजगारदाताले पनि महङ्गो शुल्क तिर्दै नेपाली महिलाहरुलाई घरेलु कामदारकारुपमा किन्ने गरेका छन् । आफूले धेरै महङ्गो शुलक तिरेर किनेको भन्दै नेपाली महिलाहरुलाई भने कम तलब दिने र अत्याधिक श्रम गर्न लगाउने गरिएको पाइएको छ ।
गिरोहले कुवेत, दुबई, साउदी अरब, भारत लगायतकामा देशमा बसेर यस्तो धन्दा चलाउँदै आएका छन् ।