बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका प्राचीन बस्तीको पुनःनिर्माणमा कोरियाले सहयोग गर्ने

शुक्रबार, २० भदौ २०७६, १३ : १३
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको पुनःनिर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । उपत्यकाका ऐतिहासिक महत्व बोकेका साँखु, बुङमती र खोकनामा परम्परागत बस्तीको पुनःनिर्माण तथा जोडिएका क्षेत्रमा स्मार्ट सिटी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशनबीच सियोलमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
      
समझदारीअनुसार पहिलो चरणमा सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशनले प्राचीन बस्तीका रुपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र जोडिएका क्षेत्रको गुरुयोजना एवं विभिन्न योजनाको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्राधिकरणले जनाएको छ । परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने छ ।
 
यसैगरी कर्पोरेशनले स्मार्ट सिटी विकासका सन्दर्भमा पुनःनिर्माण प्राधिकरण र उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा पनि सहयोग पु¥याउनेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण तथा नयाँ शहरको विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सी योङ किमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्ट सिटीको विकासमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए । समझदारीपत्रमा नेपालका तर्फबाट प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरे ।
  
कोरियाली हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरको विकास तथा आवासको निर्माणका लागि स्थापना गरिएको निकाय हो । यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व पूर्वाधार सहयोग सम्मेलन (ग्लोबल इन्फ्रास्टक्चर कोअपरेसन कन्फेरेन्स) मा नेपालको पुनःनिर्माणको भावी कार्ययोजना र अन्तरराष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधार निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकका बीच सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप